Sunday, 29 May 2011

अ.ने.सा.स. कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न




आचार्य प्रभा/ डेन्भर कोलोराडो


मे २८, २०११ का दिन कोलोराडो च्याप्टरको नियमित कार्यक्रम "कोलोराडो साहित्य सँगम" कबि गोष्ठी श्री बिष्णु बस्नेत र अपर्णा बस्नेतको आतिथ्यमा वहाँहरुकै निवासमा सफलता पूर्वक सम्पन्न भयो । उक्त गोष्ठिमा बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी र बरिष्ठ साहित्यकार शैलेन्द्र साकारको पनि उपस्थिती थियो । आजका केही रचनाहरु प्रतियोगितात्मक पनि थिए । उक्त प्रतियिगिताका निर्णायक द्वय कबि शैलेन्द्र साकार र गजलकार मनु ब्राजाकी हुनुहुन्थ्यो । यस्तै गरेर अप्रतियोगी रचनाहरु पनि प्रशस्त पाठ गरिएको थियो ।

रचना पाठ गर्नुहुनेहरुमा डा.बिजय राज शर्मा, निर्मल प्याकुरेल, राजु सिटौला, ज्ञानेन्द्र गदाल, आचार्य प्रभा, देव भट्टराई, बुना दाहाल, श्याम श्रेष्ठ, बिजय देव अधिकारी, तारा अधिकारी, इन्दिरा रेग्मी, शैलेन्द्र साकार, मनु ब्राजाकी, पदम विश्वकर्मा, सुशिल सुबेदी, प्रमिला शर्मा हुनुहुन्थ्यो भने आगन्तुक रचनाहरुमा केशब आचार्यको गजल श्री रत्न भण्डारीले बाचन गर्नु भयो भने नेपालबाट बिमला तुम्खेवाको कबिता आचार्य प्रभाले बाचन गर्नु भएको थियो यस्तै गरेर बेत्रा के.सीले पनि आगन्तुक कबिता बाचन गर्नु भएको थियो। सदा झैं आजको गोष्ठिमा पनि श्रवणकर्ताहरुको पनि उत्तिकै उपस्थिती थियो । रचना श्रवण गर्नु हुनेहरुमा बिष्णु हरी बराल, मन्जु श्रेष्ठ, प्रीती आचार्य, नीती आचार्य, सुरज थापा, बिष्णु बस्नेत, अर्पणा बस्नेत, ज्ञानुदेबी सिंह, श्री शास्वत पौडेल, पवन विश्वकर्मा, मनिष शंकर हुनुहुन्थ्यो ।

यसरी हर महिना बडो उत्साहको साथ कोलोराडोमा साहित्यिक जमघट सफलता पूर्वक हुने गर्दछ । प्रत्येक महिना कोलोराडो च्याप्टरले यो भूमीलाइे साहित्यमय बनाउँदै आएको छ र श्रष्टाहरुले पनि पूर्ण रूपमा कोलोराडोबासीको प्रेरणा र माया पाउँदै आएर नै यो कार्यक्रमले सफलता पाउन सक्षम बनेकोछ । प्रायोजन गर्नुहुने महानुभावहरुले पनि भित्री हृदयबाट नै उक्त कार्यक्रमलाइे सहयोग र प्रेरणा दिँदै आउनु भएको छ । आजको कार्यक्रममा तस्बिरहरु संगाल्न मदत गर्नु भएर श्री शास्वत पौडेलले श्रष्टाहरुलाइे अनुग्रिहित बनाउँनु भएको थियो भने श्री बिष्णु बस्नेत र श्रीमती अर्पणा बस्नेतले कार्यक्रम बिसर्जन पछि चिया नास्ताको प्रबन्ध मिलाइेदिनु भएर सबै साहित्यिक मनहरुप्रति धन्य दिनु भएको थियो ।
► कृष्णपक्ष थापा ।। अरु ...

फ्रन्टपेजको तस्बीर [कथा]


राजेश नतांश

तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म रातो बनारसी साडीमा सजिएकी छु । टल्कने घुम्टोले मेरो शीर ढाकिएको छ । गला र हातमा प्रशस्तै गहनाहरू सजिएका छन् । यो तस्बीर हो मेरो दोश्रो विवाहको । अर्थात मेरो पुर्नजन्मको । म दोश्रोपल्ट जन्मिएँ । तस्वीरको क्याप्सन पढ्छु । यसो लेखिएको छ, – "आकल्प दाहाल उनकी बाल्यकालकी साथी आँचल श्रेष्ठसँग सोमबार वैवाहिक सम्बन्धमा गाँसिदै । आँचल १० महिना अघि विधवा बनेकी थिइन् । हिन्दू वैवाहिक परम्पराअनुसार उनीहरूको विवाह सम्पन्न भएको छ ।"

फेरि एकचोटी मेरो सिउँदो रङ्गियो । फेरि एकचोटी म रातो साडीमा बेहुली बन्न पुगेँ । मेरा हातमा काँचका राता चुराहरू बज्न थाले । हत्केलामा फेरि एक पटक मेहन्दी छापिए । म त्यसलाई गौर गरेर हेरिरहन्छु । असाध्यै चहकिलो देखिन्छ । हत्केलाका भाग्यरेखा हेर्छु । चलिरहेको चलचित्रझैँ प्रतीत हुन्छ । कस्तो लेखान्त हो यो ? म आफैलाई प्रश्न गर्छु । जीवन कस्तो लिपी हो, बुझ्नै नसकिने । पढ्नै नसकिने । एकाएक प्रश्नहरू खेल्न थाल्छन् । जीवनको रचनाकारलाई कतै भेट्टाएँ भने सोध्ने थिएँ, "आखिर किन लेख्यौ मेरै जीवन यस्तो ?"

म बस्तुसरह प्रयोग भएँ । नारी परिवर्तनको बहनामा बस्तुसरह प्रयोग भएका छन् । उनीहरूको भाग्य कसैमा निहित रहेछ । जीवनमा एउटी स्त्रीलाई पुरूषको खाँचो पर्छ या एउटा पुरूषलाई एउटी स्त्रीको । जसरी नि स्त्रीहरू प्रयोग भएका रहेछन् यो पुरूषवादी समाजमा । मेरो जीवन पनि एउटा प्रयोग हो । म नजानिदो तरीकाले प्रयोग भएछु । म एउटी प्रयोगसिद्ध आईमाई हुँ । म विगत र आगतलाई तुलना गर्छु । घना जंगलमा निशा लागेर बाटो भुलेको फकीर जस्तो लाग्छ आफूलाई । मेरो जीवनका बाटाहरू अनायासै मोडिए । मेरो जीवन यसरी कायापलट भयो–
जीवनको पहिलो अनुच्छेदमा म एकदमै खुसी थिएँ । प्रारब्धमा सुखान्त वाक्यांशहरू लेखिएका रहेछन् । विधान मेरो समग्र जीवनकै परिचालक थिए । उनी नै थिए मेरो जीवनको प्रारम्भ अनि अन्त्य पनि । हामी भर्खरै वैवाहिक सम्बन्धमा गाँसिएका थियौँ । विवाह भएको एक वर्ष पनि भएको थिएन । हामी विवाहपछि प्रेममा गुलाफझैँ फक्रिएका थियौँ । आकाशजस्तो निलो र कञ्चन थियो हाम्रो सम्बन्ध । हामीले देख्ने प्रत्येक दिनलाई हामीले प्रेमरसले भिजाएका थियौँ । विधान हरपल मेरै समीपमा रहन्थे ।

उनी सानै छदाँ उनका बाबा–आमा एउटा अकल्पनीय सवारी दूर्घटनामा परि निधन भएका थिए । उनी सानै उमेरमा पिताको साहारा र मातृस्नेहबाट बञ्चित हुन पुगे । आफ्नै काका–काकीले उनलाई एउटा अभिभावकको प्रेम दिए । काका–काकीको लालन–पालन बाटै उनी हुर्किए ।
उनी तृप्त देखिन्थे । मैले उनलाई समग्र प्रेम दिएकी थिएँ । म पनि उनीबाट तृप्त भएकी थिएँ । किनकी एउटी नारीको लागि सबैभन्दा ठूलो कुरा उसलाई प्रेम गर्ने पुरूष नै हुदोँ रहेछ ।
हामी हरसमय प्रेमलापमा लिप्त रहन्थ्यौँ । समय कसरी काटिन्छ हामीलाई थाहा हुदैनथ्यो । उनी मेरो सौन्दर्यको खुलेर प्रशंसा गरिरहन्थे । मलाई कताकता काउकुती लाग्ने गर्दथ्यो । उनी प्रत्येक समय मेरो मुहारमा आफ्ना आँखाहरू नचाइरहन्थे । त्यस्तरी हेरेको देखेर मलाई लज्जाबोध हुन्थ्यो । एउटा फरक अनुभूति हुन्थ्यो । यो भन्दा ठूलो ऐश्वर्य मेरो लागि के नै होला र ?
एकविहान मैले आफूलाई ऐनाको अगाडि राखेर सजाइरहेकी थिएँ । उनले सोफामा बस्दै भनेका थिए–
–"आँचल, तिम्लाई गाजलले अचाक्ली सुहाउँछ ! तिम्रा आँखाहरू हेरिरहन मन लाग्छ ।"
"म निक्कै भग्यमानी रहेछु विधान ।"
–"कसरी ?"
"म प्रत्येक विहानी यी आँखाहरूमा हजुरको प्रेमको गाजल पोत्छु । हजुर विनाको मेरो सौन्दर्य पूर्ण हुन सक्दैन विधान ।"
उनले मेरो मुहार यन्त्रवत् हेरिरहे । मलाई आफ्नो आलिङ्गनमा कस्दै उनले भने, "आँचल, तिमी मेरी जीवन हौ ।" उनको आँखामा अनायासै देखिएको आँसु पुछ्दै मैले भनेँ, "तपाईं मेरो जीउने आधार हुनुहुन्छ । जीवन जीउने अधार विना सार्थक छैन विधान ।"

अहिले म कोठामा एक्लै छु । कोठा व्यवस्थित रूपले सुसञ्जित छ । झ्यालबाट आएको प्रकाश र हावा सिधैँ मेरो शरीरमा ठोकिन्छ । शरीरका सम्पूर्ण अवयवहरूलाई त्यसले तरङ्गित पार्छ । अनायासै मेरो नजर पर्खालमा टाँसिएको फोटोमा केन्द्रित हुन्छ । विगतको एउटा पाना पल्टिन्छ, किताबका पानाहरू पल्टिए जसरी–
हामीले विश्वविद्यालयको पढाइ सक्नै लागेका थियौ । घरमा मेरो विवाहको कुराहरू उठ्तै थिए । मैले कलेजको चउरमा बस्दै आकल्पलाई सबै कुरा सुनाइरहेकी थिएँ । ऊ निक्कै भावुक देखिन्थ्यो । त्यसपछि उसले मलाई अँगालो मारेर यो तस्वीर खिच्दै भनेको थियो, "आँचल, तिम्रो विवाहपछि हाम्रो भेट नहुन सक्छ । हाम्रो सम्झना स्वरूप यो तस्वीर साक्षी बस्नेछ । यसलाई म हृदयको भित्तामा टाँस्नेछु ।"

म स्तब्ध बनेकी थिएँ । त्यहीँ तस्वीर अहिले भित्तामा सजिएको छ । तस्वीर मोबाइलबाट लिइएको हुनाले स्पष्ट देखिदैन । यद्यपी उसको आँखामा खिचिएको मप्रतिको प्रेम प्रष्टै देख्न सक्छु ।
हाम्रा परिवारका मान्छे शिक्षित भए पनि उनीहरूको हृदय गरिब थियो । अहिले देखिदै गरेको परिवर्तनगामी सोच पनि त्यतिखेर थिएन । म कथित तल्लोजातकी नेवार्नी केटी ऊ ब्राह्मण समुदायको केटो । समाजमा हाम्रो सम्बन्ध पाच्य थिएन । घरमा आऊ–जाऊ गर्न त्यस्तो केही थिएन तर सम्बन्धमा गाँसिन हामीलाई जातीय पर्खालले छेकेको थियो ।
हामी भागेर पनि विवाह गर्न सक्थ्यौँ । तर मैले नै मानिनँ । म उसको भविष्य सुखपूर्वक बितेको हेर्न चाहन्थेँ । उसले स्नातकोत्तर गर्न काठमाण्डौं जाने सोच बनाएको थियो । ऊ अझै पढ्न चाहन्थ्यो ।
म पनि आकल्पसँगै काठमाण्डौं गएर पढ्न चाहन्थे । ऊ सँग बसेर अध्ययन गर्ने लत बसेको थियो मेरो । तर चिताएको सबै कुरा कहाँ पुग्दो रहेछ र ? घरमा विवाहको कुरा उठ्तै थियो । मान्छेहरू दिनहुँ विभिन्न सम्बन्धहरू ल्याएर आइरहन्थे । पद, पैसा र हैसियतको बहस चलिरहथ्यो । यता, बाबालाई म विवाह गर्दिन, केही वर्ष पढ्छु भनेकी थिएँ । उहाँले भन्नुभएको थियो, "यस्तो केटा फेरि पाइदैन । विवाह गरेर नि पढ्न सकिन्छ !"
मैले भनेकी थिएँ, "अर्काको घरमा गएपछि मेरो कुरा कस्ले सुन्छ र ?"
उहाँले मेरो प्रश्नको बेवास्ता गर्दै भन्नुभएको थियो, "राम्रो घरानाबाट कुरा आ’छ । चाडैँ निर्णय गरेस् । अरू म केही जान्दिनँ ।"

मेरो विवाह हुने निर्णयले आकल्प स्तब्ध देखिन्थ्यो । ऊ कहाँ–कहाँ हराइरहन्थ्यो । अनायासै केहीमा टोलाइरहन्थ्यो । हामी हिँडिरहेका थियौ । म निःशब्द थिएँ । हामीसँग कुराको कुनै प्रसंगै थएन । हामी पूर्णतः मौन थियौ । भोटेपूल आएपछि उसले मुहारमा बनावटी हाँसो ल्याउँदै भनेको थियो–
–"विहे गर्न लागेकी छ्यौ । कस्तो भैरहेको छ त ?"
"रमाइलो लागिरहेको छ ।"
–"कस्तो रमाइलो ?"
"कस्तो भन्नु ! अब श्रीमान हुने भए त्यसपछि बिस्तारै छोराछोरी पनि हुने भए ।"
–"ए, तिमीलाई यस्तो पो रहर थियो ?"
"यस्तो रहर त सबै नारीहरूलाई भैहाल्छ नि ?"
–"त्यसो भए ११ जनाको फुटबल टिम बन्ने भयो अब ?"
"बनाए नहुने क्यै छैन"
ऊ खितिति हाँसेजस्तो गर्यो । अनि एकैछिनमा चुप रह्यो । उसको हाँसो पलभरमै गायब भयो । हामी फेरि त्यहीँ मौनताको शिकार भयौ । फेरि कुनै पनि कुराको प्रयोजन निस्किएन ।
आकाश धुम्म भइरहेको थियो । हामी बस छोडेर हिँड्दै घर जाँदै थियौँ । अकस्मात् पानीका छिटाहरू हाम्रा शरीरमा बर्सिन थाले । केहीछिनमै मेघ गर्जिएर पानी दर्किन थाल्यो । हामी ल्याफ्फ पानीले भिज्यौँ । पानीका प्रत्येक थोपाहरूले हाम्रा सम्पूर्ण सम्बन्धहरू पखालिए । हाम्रा तमाम यादहरू एउटा भेल भएर शरीरबाट बग्न थाले । हामी मूर्तिवत् टोलाइरह्यौँ दूर क्षितिजमा । एक्कासी ऊ जोडले करायो–
"कोरिदै थियो एउटा तस्बीर
हृदयका भित्ताहरूमा
जब,
चोरीदिन्छ नियतिले
प्रेमका फाइलहरूबाट
मेरो प्रिय जूनलाई
आज,
हराएका छन् जीवन–कथाका
तमाम प्लटहरू"

कानमा मोटरसाइकलको आवाज ठोकिन्छ । सायद आकल्प आएको होला । मोटरसाइकलको आवाज मेरो कानमा गुञ्जिन कम हुँदैन । त्यो कर्कस आवाजले मलाई प्रताडना दिइरहन्छ । म फेरि विगतमा पौडिन्छु –
विधान राजधानीकै एक प्रतिष्ठित बैकको म्यानेजर थिए । एकाविहानी उनी मसँग सहाचार्यको आनन्द नलिई अफिसतर्फ हानिएका थिए । बैंकमा शेयरधनीहरूका बीचमा आपत्कालीन बैठक रहेछ । म सखारै मन्दिरतिर गएकी थिएँ ।

–"हेल्लो, आँचल के गर्दै छ्यौ ?"
"क्यै गर्या छैन । यतिकै बसेकी ।"
–"आज तिमीलाई देख्न पाइएन । मिटिङ्ग सकेर घर फर्कदैछु ।"
"अनि बाइक चलाउँदै फोन गर्नुपर्छ त ?"
–"ह्या, के हुन्छ ? ओई सुन न !"
"भन्नोस् न ।"
–"एक किस देऊ न फोनबाटै ।"
म काका–काकीसँग बसेर टिभी हेर्दै थिएँ । मैले लजाउँदै इन्कार गरेँ, "ह्या, के भन्नुभाको ?"
उनी जिद्दी गर्दै थिएँ, "छिटो गर न"
एक्कासी कानमा घड्याप्पको आवाज सुनियो । म आत्तिएँ । सम्भावित दूर्घटनाको आशंकाले चिच्याएछु । काका–काकी पनि के भयो भन्दै आत्तिनु भयो । काकाले फोन सुन्दै दौडिएर घटनास्थलतर्फ हान्निुभयो । काकी र म एकदमै भयभीत भयौँ । मेरो आशंका साँचो भएको थियो ।
विधान रोकिराखेको ट्रकको पाङ्ग्रामूनि पसेछन् । एउटा स्कुटरलाई साइड दिँदा बतासिएर सो घटना घटेको रहेछ । उनको हेल्मेट उछिट्टिएर टाउकोमा गहिरो चोट लागेछ । उनलाई अस्पताल लग्दै गर्दा बीच बाटैमा उनको प्राणपखेरू उडेछ ।

मेरो हृदय एक्कासि गह्रौ भयो । एउटा अङ्ग नै छुटेझैँ महसुस भयो । म सलाई निख्रिएको खोलझैँ रिक्त भएँ । अनायासै आँसुका भलहरू बग्न थाले । मैले आफूलाई थाम्नै सकिनँ । दौडिदै गएर एक्कासि उनको मृत्त शरीरलाई अगाल्न पुगेँ । उनको मुहारभरी चुम्बन बर्साउन थाले । मेरो करूणस्थिति कसैले नि देख्न सकेनन् । त्यसपछि एक जत्था आईमाईहरू आएर मेरो सिउँदो पुछिदिन थाले । नाडीमा लगाएका सम्पूर्ण राता चुराहरू फुटाउन लागे । हाम्रो प्रेमको प्रतीक गाजल अनुहारभरी लत्पतियो । मैले आफूलाई उनीहरूको चङ्गूलबाट बचाउन खोजे तर उनीहरूले हिंस्रक शिकारीझैँ मलाई तबाह गरेर नै छाडे । उनीहरूले विधानले दिएका सम्पूर्ण चीजहरू एकाएक गर्दै खोसे । मेरो सम्पूर्णता लुटियो । मेरो समृद्धि खोसियो तर उनीहरूले मेरो हृदयभित्र भासिएका सम्झनाहरू लुट्न सकेनन् । त्यसैले मलाई पोलिरह्यो । कस्तो पीपासुयुक्त छ हाम्रो समाज । एउटा विधवा, पोइ मरेकी राँडीलाई जे गरेपनि हुने ? पोइ मरेपछि के उसको अस्तित्व पनि मर्छ र ? किन ती प्रेमका प्रतीक सिन्दूर, पोते र चुरा पहिरिन नपाउने ? कस्तो गन्धे परम्पर हो यो ! म किंकर्तव्यविमूढ बनेँ । महिला अधिकारका बोक्रे नारा ओकल्ने आईमाईहरू मेरो अस्तित्व मेट्दै मलाई सेतो कात्रो पहि¥याएर गए । म पूर्णतः सेतो कपडाले बेरिए अब ममाथि विभिन्न लाञ्छनाका दागहरू लगाउन सजिला भएका थिए ।

विधानको मृत्यूपछि म काठमाण्डौंको कङक्रिट सहरमा एकदमै एक्ली भएँ । उनीसँग बिताएका प्रत्येक पलहरूले मलाई लुछ्न लागे । उनले प्रयोग गर्ने टावल जसले मैले उनको शरीर पुछिदिने गर्थे । उनले अक्सर पढ्ने उपन्यासहरू जसलाई पढेपछि मलाई बुझाउने गर्थे । उनलाई मनपर्ने रातो कप जसमा म कफीसँगै पे्रम मिसाएर पिलाउने गर्थें । उनले किनिदिएको गाजल जसलाई मैले दिनहुँ लगाउनु पथ्र्यो । मलाई मनपर्ने गुलाबी लिपिस्टिक जसले उनका गालामा मेरा अधरका दाग लगाउथेँ । यी सबै यादहरूले मलाई निमोठिरहन्थ्यो । घरबाट विरक्तिएर म काठमाण्डौंका गल्लीहरू चहार्न थाले । त्यहाँ पनि मान्छेको भीड र कोलाहलले म अझ तड्पिन्थे । मेरो यस्तो चाला देखेर काका–काकी हैरान हुनुहुन्थ्यो ।

फुसर्दमा कहिलेकाँही आकल्प आउने गथ्र्यो । हल्का राहतको महसुस हुन्थ्यो । ऊ आएपछि त्यसै–त्यसै सबै पीरहरू कम हुन थालेको आभास हुन्थ्यो । ऊ काठमाण्डौं बसेर अध्ययन गदै थियो । मेरो विवाह भएकै दिन ऊ पनि काठमाण्डौं छिरेको थियो ।
विधानको असामयिक निधनले ऊ पनि निक्कै स्तब्ध थियो । मलाई ढाडस दिदै ऊ भन्थ्यो, "अब तिम्ले परिवर्तनलाई आत्मसात गर्नुपर्छ । जीवन यसरी चल्दैन बुझ्यौ । अब तिमीले दृढ संकल्प लिनुपर्छ ।"
म निराश बनिदिन्थेँ, "जीवन बोझ भइरहेको छ आकल्प । यो बोझलाई धेरै खप्न सक्दिन म"
ऊ फेरि सम्झाउदै भन्थ्यो, "जीवनदेखि यस्तो निराश नबन आँचल । तिम्ले विधानको प्रेमको खातिर पनि बाँच्नुपर्छ ।"
म चुपचाप रहन्थे । मैले अब के गर्नुपर्छ भन्ने सो मलाई थाहा थिएन । मैले खुट्टा टेक्ने ठाउँ नै पाइरहेकी थिइनँ । चारैतिर वेदनाका महासागरहरू थिए । म अविछिन्न पातसरह खसिरहेकी थिएँ । मेरो कनै गन्तव्य सुनिश्चित थिएन ।

एकदिन आकल्प आएको थियो । म उसको लागि खाजाको तयारीमा थिएँ । ऊ काकासँग गफ गर्दै थियो–
"सुन्नुभयो, म तपाईकी बुहारीलाई मन पराउँछु । उनीसँग विवाह गर्न चाहन्छु । यसरी ऊ यहाँ बस्न थाली भने एकदिन उसले आफूलाई सिध्याउँछे । यसको भागीदार तपाईहरू नै बन्नुहुनेछ ।"
काका र काकी शिक्षित हुनुहुन्थ्यो । वहाँहरूले मेरो दयनीय स्थिति देखेर सहमति जनाउनुभयो । त्रिपक्षीय छलफल भयो । उहाँहरूको कुरा मिल्यो । अनि उहाँहरूले मेरो विचार माग्नुभएको थियो । मैले स्वीकारोक्ति दिएकी थिएँ । त्यसैबखत काकाबाट कन्यादान गर्ने सहमति पनि भयो ।

विवाहको कार्यक्रम ठूलो तामझामका साथ भयो । जसरी एउटा कन्या केटी पहिलोपटक अन्मिएर डोली चढ्छे । पञ्चेबाजा एक सुरले बजिरहेको थियो । विवाह मण्डप आकर्षक रूपले रूपाङ्कन गरिएको थियो । विवाहमा विभिन्न संघसंस्थाका प्रतिनिधि मानिसहरूको उपस्थिति थियो । केही महिला अधिकारकर्मीहरू पनि उपस्थित थिए । पत्रकारहरूलाई पनि बोलाइएका रहेछन् । समाजमा नयाँ सन्देश प्रसारित हुदै थियो । पाहुनाहरू सम्पूर्ण भोजनमा व्यस्त देखिन्थे । फोटो खिच्ने र खिचाउने क्रम चलिरहेको थियो ।

एउटा पत्रकार हामीमाझ देखा पर्यो । उसले काकालाई केही प्रश्न सोध्यो । काकाले भन्नुभयो, "मैले बुहारी होइन एउटी छोरीको विवाह गरिदिदैछु । यिनले सुख पाइन भने हामीले मोक्ष प्राप्त गर्नेछौं ।"
पत्रकारले मेरो बाबालाई प्रतिक्रिया लिन चाह्यो । बाबाले भन्नुभो, "हामी छोरीको निराशापूर्ण अनुहार देखेर दुखित हुन्थ्यौँ । आशा छ, उनी फेरि खुशी हुनेछिन् ।"

पत्रकार आकल्प भएतर्फ आइसकेको थियो । उसले प्रतिक्रिया लिन चाह्यो । उसले भन्यो, "म आफ्नी बाल्यकालकी साथीलाई श्रीमतिका रूपमा पाउँदा हर्षित भएको छु । म उनलाई खुशी राख्नेछु ।"
मतिर फर्किएको पत्रकारलाई मैले भनेँ, "जीवनको एउटा पाटो बितिसकेको छ । उहाँले मलाई श्रीमतीरूका रूपमा स्वीकारेकोमा अत्यन्तै खुशी छु ।"
► कृष्णपक्ष थापा ।। अरु ...

Thursday, 26 May 2011

गजल:धैर्यकॊ सहाराले...श्याम रॊक्का

गजल


धैर्यकॊ सहाराले,प्रेमदीप बल्यॊ।।
तस्बीर हेर्दाहेर्दै,हृदय नै जल्यॊ।।


बाध्यता पर्दाखेरि,बिदेसीएँ म त
दुःखकॊ सीमा नाघ्दा,नौनारी नै गल्यॊ।।

मायाकॊ प्रेमपत्र, ढीलासुस्ती हुदाँ
मनकॊ सागरमा आँधिब्यरी चल्यॊ।।

जीबन्त साथ दिने,बाचाहरू तॊडी
जस्लाइ आफ्नॊ ठानेँ,उसैले नि छल्यॊ।।


धनकॊ लालचले,परिवार छाडी
खुसीकॊ दिन खॊज्दा,श्यामरात ढल्यॊ।।


श्याम रॊक्का
► कृष्णपक्ष थापा ।। अरु ...

गज़लःअनायासै तिम्रॊ मायाले

गज़लः

अनायासै तिम्रॊ मायाले,फेरि छल्यॊ आज ।।
उपहार पाएँ घृणाकॊ,मन जल्यॊ आज ।।

अजम्बरी माया दिएथेँ,मुटु भरि जे थ्यॊ
अझै मन जीत्न नसक्दा,ज्यान गल्यॊ आज ।।

खै कसरी बाँच्नु अब त,तिम्रॊ घात खेपी
बिश्वासकॊ घर भत्कीने,हुरी चल्यॊ आज ।।

परस्पर माया प्रेमकॊ,फुल रॊपेँ पनि
हामी हिड्ने प्रेम पथमा,काँडा फल्यॊ आज ।।

संका पाएँ स्वार्थी मायाकॊ,चक्रब्यूमा फसेँ
हरपल तिम्रै घृणाले,प्रेम ढल्यॊ आज ।।


श्याम रॊक्का
► कृष्णपक्ष थापा ।। अरु ...

गजलः चरिकॊ बेदनामा......

गजलः चरिकॊ बेदनामा......




गुँडमाथी दर्कीयॊ बर्षा,बिरहले रॊइ चरी ।।
बच्चाहरू जॊगाउँ भन्दै,भिज्छे माउ कठै बरी ।।

कष्टपुर्ब सहेर बसे,अबिरल रूझे पनि
असीनाले बेस्सरी चुट्दा,सबै रॊए चिँचिँ गरी।।

लगातार चट्याङ पर्दा,थरथर गर्दै काँपे
बासस्थान एउटै मात्र,चिसॊ भयॊ हिँउ सरी।।

प्रकृतिक प्रकॊप हरे,असहाय पंक्षी माथी
रॊकीयन मुसल धारे,हुरी आयॊ घरी−घरी ।।

जॊडसंग बतास चल्यॊ,हाँगॊसंगै गुँड खस्यॊ
चुँक्कै पनि नगरि कनै,प्राण त्यागे तल झरी ।।

दर्दनाक दृष्यले गर्दा,श्यामरात दुःखदायी
बेदनाले हृदय जल्यॊ,अश्रुधारा गह भरी ।।

रचनाः श्याम रॊक्का,
२५ मे २०११,इजरायल ।
► कृष्णपक्ष थापा ।। अरु ...

Tuesday, 24 May 2011

"मिसिसिपी टूर"

"मिसिसिपी टूर"

मिसिसिपीको किनारैभरी बिस्कुन पसारिएको हिउँ तन्नामा डुल्दैथिएँ। मेरो आँखा हिउँले कक्रिएर सबै पात झरेको एउटा अग्लो रुखमा पर्योि जहाँँ टुप्पोनिरको चोके जस्तोमा एक जोडी ठुला चरा काठका टुक्राटुक्री मिलाउदैथिए। नियालेर हेरेँ एक्जोडी चिल (इगल) रहेछन्। ह्या हाम्रातिर कुखुराको चल्ला चोर्ने चिल त रहेछ नि! खासै चराजातिमा मलाई चिल प्रती उस्तो रुची कहिल्यै थिएन र त्यसबेला पनि रहेन तर खोइ के ले तान्यो मलाई फेरी उतै मुन्टो फर्काएर हेर्न थालेँ। ति चिलका जोडी गुँड बनाउदैरहेछन्। पालैपालो सुइँय उडेर परपर पुग्दै काठका टुक्राटुक्री नङ्रामा च्यापेर ल्याउँदै तिनले निकै तन्मयाताकासाथ एक झिक्रे गुँड बनाए। गुँडको लग्भग निर्माणकार्यको अन्तमा भाले चिल निकैपर पुगेर त्यो हिउँफाँटको कुनै कुनाबाट एक झ्याम्टो घस्याङ्गघुसुङ्ग (सुकेका झारपात) ल्यायो र पोथिले चुच्चो र नङ्राको सहायताले गोलोगहिरो आरामदायी गुँड मिलाएर ठीक्क पारी। हेर्दाहेर्दै पोथीले टुक्लुक्क दुई वटा प्यारा अण्डा पारी। म कतिबेला ति चिलकाजोडीलाई मन पराउन थालेछु । एकै निमेषपनी आँखा नझिम्क्याइ हेरिरहन थालेँ। मिसिसिपिको त्यो किनार जहाँ सबै ऋतुमा हिउँले साम्राज्य फिँजाउछ झन त्यसबखत त मौसम कहालीलाग्दो थियो। हिउँसग्गै तुषारे बतास यसरी बहन्थ्यो कि लाग्थ्यो कतिबेला त्यो रुखै लछारेर लैजाला , ति चिल जोडीको गुँड झन रुखको टुप्पोमा थियो ,त्यो माइनस २० डिग्रीको चिसोले नकठ्याङ्रिएको मेरो मुटु हिउँ तुषारे बतासले राक्षसी बेग हान्दा ति चिलजोडीका गुँड हावामा हल्लिएको देखेर घरीघरी बरफ-पत्थर हुनखोज्थ्यो। ओहो थाहै नपाई कतिबेला मलाई ति चिलजोडीको चासो र ख्याल हुनथालेछ । हिउँका डल्लै सहित बेगवान हावाको सिरेटोले क्रुरता प्रदर्शन गर्दा म कक्रिँदै मुटु थिचेर प्रार्थना गर्थेँ कि त्यो गुँडलाई केही नहोस् भगवान!!

अण्डा पारेपछी चिलजोडी कहिल्यै सङ्गै एक बाँकटे सम्म हान्न निस्केनन्। भोक प्यास नलागुन्जेल दुबैसङ्गै चुच्चो जोडेर टाँसिएर अण्डा छोपिराख्थे । माइनस २० डिग्रीको चिसोबाट ति प्यारा अण्डाजोगाएर तातो जो राख्नु थियो। बोक प्यास लाग्दा पालैपालो एक जना उडेर कतै टाढा पुग्थ्यो र पेटमा चारो हालेर फर्कन्थ्यो तब सम्म अर्कोले पखेटा फिँजाएर अण्डा न्यानो राख्दै पहरा दिइरहन्थ्यो। कुनैकुनै बेला त बाहिर जानेले आफु अघाएर अलिकती चारो अर्कोलाई पनि मुखमा च्यापेर ल्याउनेरहेछ र बचेँरालाई झैँ खुवाउँदो रहेछ। सृस्टि्को नियम-खटनको यो स्रिन्खला हेर्दै म उसबेला आँफैलाई नियालिरहेको थिएँ। यि अमुक प्राणी जीब त यसरी सन्तानका लागि दत्तचित्त रहन्छन र जिम्मेवारी उठाउंछन भने हामी सृस्टिुकै सर्बश्रेष्ठ प्राणी मान्छेले आफ्नो उत्तरदायित्व ननिभाउनु कती न्यायोचित ! जिम्मेवारी पुरागरेको खण्डमा दम्भ गर्नु पनि कती लज्जास्पद!
एबँ रितले कती हप्ता महिना बिते त्यो चिसो मिसिसिपीको किनारमा । मैले आँखा हटाएको छैन र चिलजोडीको ख्याल गर्नपनी छोडेको छैन। अझै भनुँ ति अण्डाबाट निस्किने एक जोडी प्यारा बचेँरा चिलको आगमनको ब्यग्र प्रतिक्षा ति जोडी चिललाई जतिनै मलाई पनि थियो। अझै बेसी थियो कि!! हिउँतुषारे बतासको उग्रताले निरन्तर आफ्नो दैनिकी मच्चाइरहेकै थियो। एक चिसो मध्यान्हमा हिउँको बर्षा छिचोल्दै पोथी चिल चारो खोज्न निस्की। भाले चिल प्यारा अण्डा न्यानो पार्दै पखेटा फिँजाएर पोथी चिलको प्रतिक्षामा थियो। पर्खाइको घडी निकै लम्बियो पोथी फर्किन । भाले चिल अधिर हुँदै अण्डा छोपिरह्यो पोथिको बाटो हेरिरह्यो घण्टा बिते, दिन ढल्यो , रात छिप्पियोपोथी फर्किन । क्रुर बतासको झोँका सङ्गै बत्तिएर एउटा सुकेको रुखमा ठोक्किएर बजारिँदा चारो खोजेर फर्किनेक्रममा पोथिले प्राण त्यागिसकेकी थिई। यि सब दु:खान्त घटनासँग अनजान भाले भोको पेटमा अण्डा छोप्दै पोथिको बाटो हेरिरह्यो हेरिरह्यो ,,,तर कतिन्जेल!! अण्डा छोपौं भोकले आक्रान्त पारिसक्यो। भोक मेट्न निस्कुँ अण्डा चिसिएर खेरा जान्छन र बचेँरा आउनेछैनन। धैर्यको बाँध अचानक भत्कियो , उदास उजाड मन बोकेर अन्तत: भालेले गुँड छोड्यो ,अण्डा छोड्यो र बियोगमा बेस्मारी पखेटा फड्फडायो । शायद अन्तिम पटक अर्को हाँगोबाट फर्केर उजाड गुँडमा बेवारीस लडिरहेका अभागी अन्डा हेर्यो र भुर्रण उड्यो अनजान गन्तब्यतिर एक रित्तो भग्न जिन्दगी लिएर। त्यसबेला मलाई आफ्नै मुटु चर्किएर धाँजाधाँजा फाटेको महसुस भयो। अनायासै आँखा रसाएर आशुका ढिक्का गाला हुँदै चिउंडोबाट ओइरिसकेछन्। हिउँतुषारोमा एक्लो भालेचिल ओझेल परेपछी फर्केर गुँडतिर एक नजर हेरेँ ,,अण्डा त्यसरिनै लडिरहेको थियो तर हिउंको फुस्फुसले छोपिनै लागेछ ,,बतास चलिरहेको थियो ,,हाँगो हल्लिरहेको थियो ,,गुँड अझै लड्खडाउँदै थियो अग्लो रुखको चोकेमा।

(आँखाबाट निन्द्राले बसाइँ सर्दा रातको सन्नाटा सङ्गै मेरो नेशनल जोगराफी च्यानलमा "मिसिसिपी टूर" को एक अनुभब अनुभूती। )
► कृष्णपक्ष थापा ।। अरु ...

मान्छे खोज्दै हिंडेको म मान्छे



-राजेन्द्र महर्जन


अचेल मान्छेहरुको भीडमा पनि
मलाई एक्लो महसुस हुन थालेको छ ।
भीड अति नै भीड तर त्यही मान्छेहरुको भीडमा
म मान्छे खोजिरहेको छु ।

मान्छेहरुको भीडमा मान्छेको अभाव देख्छु म ।
त्यसैले त यो पिसंगो देश पनि
एउटा निर्जन बस्ती जस्तै लागेको छ ।

मान्छे हुनलाई
यहाँ थुप्रै मान्छेहरुले
मान्छेको स्टीकर निधारमा टाँस्दै हिडेको देख्छु म,
तर ती निधारमा टाँसिएका स्टीकरहरुमा मान्छेको परिचय भने पाउँदिन म ।

हिजो,
एक हुल मान्छेहरु
आफु मान्छे भएको दावि गर्दै
नारा जुलुस गर्दै थिए,
आज पनि एक डप्फा मान्छेहरु बुथ बजाउँदै सडकमा
कवाज खेल्न थालेको छ,
आफुलाई मान्छे प्रमाणित गर्न ।

मान्छेले मान्छे खाएको त देखेको छैन मैले
तर पनि मान्छेलाई घाँटी रेटेको देखेँ मैले,
मान्छेले मान्छेलाई बारुदमा पोलेको देखेँ मैले,
मान्छेले मान्छेलाई खाल्डोमा पुरेको देखेँ मैले

अचेल मान्छे होइन,
जताततै बन्दुक बोल्छ,
अचेल मान्छेहरुको होइन
सडक र गल्लीहरुमा डरलाग्दो आवाजहरुको बस्ती छ,
मान्छेहरु बस्ने झुपडीमा
सन्नटा छ,
कतै बन्दुक बोल्ने त्रासले छोपेको होला ।

-राजेन्द्र महर्जन
► कृष्णपक्ष थापा ।। अरु ...

Sunday, 22 May 2011

के भनुँ ?


नरबहादुर दाहाल
(दार्जीलिङ)

"के भनुँ ?"


पैले मैले तिमीलाई
फूल भनें
तर त्यो पनि ओइलाउँदो रहेछँ ।
फेरि मैले तिमीलाई
जून भनें
त्यो पनि अस्ताउँदो रहेछ ।
फेरि तिमीलाई मैले
जीवन भनें
त्यो त झन शुन्यमै बिलाउँदो रहेछ ।
भन न प्रिया,
तिमीलाई
अब म के भनुँ ?
त्यो आकाश भनुँ ,
जो असीमित छ ?
अथवा
हृदय भनुँ ?
जो
तिमी र ममा सीमित छ।।
► कृष्णपक्ष थापा ।। अरु ...

धादिंङमा नेपालमै पहिलोपटक कविघर शिलन्यास



२०६८ जेष्ठ ७, शनिवारका दिन धादिंङको सदरमुकाम धादिंङ बेंशी स्थित भानु वाटिकामा नेपालमै पहिलो कविघर तथा अध्ययन केन्द्र एक समारोहका बीच त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्यामपसका प्रमुख प्रा. राजेन्द्र सुवेदी र भानु प्रतिष्ठानका अध्यक्ष एवं प्रा.डा. व्रतराज आचार्यले कविघरको जग हाली संयुक्त रुपमा शिलन्यास गर्नु भयो । उक्त कविघरमा सुरुमा धादिंङबाट प्रकाशित भएका र धादिंङका विषयमा लेखिएका सबै कृतिहरु समावेश गरिने बताइएको छ । उक्त कार्यक्रममा प्रकाश सापकोटा, शिव शर्मा, ऋषिकेश दाहाल, कृष्ण घिमिरे, नवराज लम्साल, नवीनवन्धु पहाडी, राजेन्द्र मल्ल,अनिता लोहनी, विण्णु प्रसाद सेढाईं लगायत ५१ कवि कवयत्रीहरुले कविता वाचन गरेका थिए भने गायक लालकाजी श्रेष्ठले हाम्रो धादिंङ राम्रो धादिंङ गाएर आफ्नो प्रस्तुती पस्किनु भएको थियो ।

करिव ३०० भन्दा ज्यादा संख्यामा साहित्य प्रेमीहरुको भव्य उपस्थिति भएको कार्यक्रममा प्रा. राजेन्द्र सुवेदी, प्रा. डा. व्रतराज आचार्य, प्रा. डा. मोहन तिम्सिना, प्रमुख जिल्ला अधिकारी भरत पौडेल, संगीतकर्मी बुलु मुकारुङ र भानु प्रतिष्ठानका महासचिव डि.पी. अर्यालज्यूले पनि सम्वोधन गर्नुभएको थियो । स्थानिय विकाश अधिकारी शंकर नेपालको सभापतित्वमा संचालित सो काव्यसभाको सञ्चालन प्रकाश पौडेल र स्वागत नवीनवन्धु पहाडीले गर्नुभएको थियो ।

समारोहमा वाचन गरिएका सृजनाहरु धादिंङ अनलाईनमा क्रमश: प्रकाशित हुनेछन् ।
► कृष्णपक्ष थापा ।। अरु ...

Friday, 20 May 2011

गीत




गीत(बिहानीलाई कुरिरहे)

बिछोड्का आँशुहरू अन्जुलिमा भरिरँहे

रातभरि छट्पटिदै बिहानीलाई कुरिरहे


दुख सहे परदेशमा तिम्रो खुशी बढोस् भन्दै

तिम्रा सबै खुशीहरु शिखरमा चढोस् भन्दै

झुल्के घामले आशाका किरणहरु छरिरहे

तिर्खाभरि आँशु पिउँदै बिहानीलाई कुरिरहे



तँप्किएका आँशुसगै आँफै पराई हुन थाले

सम्झनाका तरेलीमा एक्लै एक्लै रुन थाले

यो जुनिमा सधैं भरि दुखी जंघार तरिरहें

भोलि सुख मिल्ला भनी आशाहरु भरिरहें

► कृष्णपक्ष थापा ।। अरु ...

जेष्ठ १५ गते घाम उदाउँछ ?




साँझ हुने तर्खर छ,
उद्यानमा छु म
अबोध केटाकेटीहरु लुकामारी खेल्दै छन्
मिठो मुस्कान छताछुल्ल पोखिएको छ ओठभरी
कुनै सन्ताप छैन, पीर छैन, दु:ख छैन
निश्चल छ आँखाहरु
आफ्नै धुनमा
रमाईरहेछन् केटाकेटीहरु

एक बालिका मेरो छेवैमा छिन्,
उनी मेरी छोरी,
जिज्ञाशाहरुको पोको बोकेर ऊ
मेरो आखाँमा आखाँ जुधाएर सोधिरहेछ
यो के हो?
फूल हो छोरी
ए !
कसरी यस्तो भाको ?
कोपिला फुलेर,
हो र! कोपिला ! खै? कस्तो हुन्छ कोपिला ?
म कोपिला देखाउँछु
फेरि सोध्छे-फूल किन फुलेको ?
कसरी रातो भयो ?
के गर्ने ?
म उनलाई उत्तर दिने प्रयास गर्छु

उ बारम्बार एउटै प्रश्न तेर्साउँछे
यो के हो ?
कसरी ?
किन?
के गर्ने ?
किन रातो ?
किन पात हरियो ?
किन पुतली आएको ?
कमिला किन फूलको बोटमा आएको?
कमिलाले के लगेको ?
कहाँ बस्छ ?
स्कूल जान्छ ?
म उसलाई सम्झाउन खोज्छु
फेरी उहि प्रश्नको पुनरावृत्ति हुन्छ

म उसलाई बोकेर अर्को छेउमा लिएर जान्छु
अरु केटाकेटी उसैगरी रमाईरहेछन्
मस्त छन्, आफ्नै खेलमा,
तारा बाजी लै लै,
बा बा ब्ल्याक शीप,
ट्इङकल ट्इङकल,
चिं मुसी चिं,
तल्ली बजार,
काफल गेडी,
भिन्न भाषा, भिन्न लय

म उसलाई बाल लोलीहरुमा अल्मल्याउन खोज्छु,
उसको प्रश्न फेरि पनि उस्तै छ,
त्यो के हो ?
बादल,
उडेको छ नि, कसरी ?
किन कालो सेतो भाको ?
म हैरान छु

आकाश चिर्दै धर्तीमा लाली पोख्‍दै गरेको सूर्य
पश्चिम भाग्दै छ,
लगभग उ अब डाँडा पारि छ,
डुब्नै लाग्यो,
लौ है डुब्यो पनि

ऊ फेरि जिज्ञासु बन्छे
घाम कहाँ गएको ?
नुनु गर्न गएको,
नुनु! मुसुक्क हाँस्छे ऊ,
घामले बुबु पनि खान्छ ?
म अनुत्तरित छु, भुतुक्कै भाको छु म

पश्चिम आकाशको रंग बदलियो
अघिसम्म सेतो थियो,
अहिले रातो भयो,
उसको जिज्ञासा यथावत छ
रगत आयो नी,
म झस्किन्छु,
छोरीलाई केहि भो कि भनेर,
ऊ आकाश देखाउँछे,
घामलाई कस्ले काट्यो बुबा ?
हेर्नु त रगत आको,
ऊ फेरि रातो आकाश देखाउँछे
हजुरले अस्ति राती भाले काटेको थियो नि,
उ तेस्तै रगत आयो,
भन्नु न बुबा घामलाई कस्ले काटेको ?
अब भोली विहान घाम आउँछ ?
भन्नु न बुबा भोली घाम आउँछ ?

म जेष्ठ १५ गते सम्झिन्छु
म मेरी छोरी र ति केटाकेटीको
भविष्य सम्झिन्छु र
आफैं बक्बकाउँछु
जेष्ठ १५ गते घाम उदाउँछ ?

राजेन्द्र मल्ल
निलकण्ठ-१, धादिङ बेंशी
हाल काठमाडौं
► कृष्णपक्ष थापा ।। अरु ...

Wednesday, 18 May 2011

गीत- साझा फूलबारी


सुखशान्ति फूलोस्सधै मेची कालीवारी,
चारजात छत्तीस बर्ण साझा फूलबारी ।

नेपाल आमा फूलबारी हामी सबै माली,
उन्नती र शान्ति रोपौ हामी यसै पाली ।
एकतालाई विजाउने मासौ काँडा घारी,
चारजात छत्तीस बर्ण साझा फूलबारी ।

पाखुरीको श्रमलगाई नयाँ बनाउ माटो,
देश बार्ने हातहरुमा आउनु हुन्न फाटो ।
सानोठूलो देख्नेआँखा फालौ हिमालपारी,
चारजात छत्तीस बर्ण साझा फूलबारी ।।

रचनाकाल : २९ चैत्र २०६७
दोहा, कतार
► कृष्णपक्ष थापा ।। अरु ...

Thursday, 12 May 2011

गजल :लालची नेपाली बन्न जानेको देखेँ



गजल




लालची नेपाली बन्न जानेको देखेँ ।।
नौडाँडा काटेर हिड्न मानेको देखेँ ।।



बिदेसी चलन सिक्ने रहर गर्दै ।।
नेपाली संस्कार लात्ती हानेको देखेँ ।।



सम्पन्न बनेका यहाँ ठगेर जस्ले
उसैले आफ्लाइ मैहुँ ठानेको देखेँ ।।



पहिले नेता हुँ भन्दै कुर्लने गर्थे,
अचेल लुकेर जीबन धानेको देखेँ ।।



बिकृत समाज हेर्दै सिकेकॊ सिकॊ
पहिलॊ अंगाली दॊश्रॊ छानेकॊ देखेँ ।।



चाडै नै धनले भारी पुर्याउँ भन्दै
आफ्नैले आफ्नैकॊ खुट्टा तानेकॊ देखेँ।।






रचनाःश्याम रॊक्का,
► कृष्णपक्ष थापा ।। अरु ...

गजलः तिमिसंग छुटेजस्तै लाग्छ



गजलः

हिजैमात्र तिमिसंग छुटेजस्तै लाग्छ ।।
गहभरि अश्रुधार फुटेजस्तै लाग्छ ।।

बिछॊडकै बेदनाले रून्न भन्दा भन्दै
मनभित्रै कताकता चुटेजस्तै लाग्छ ।।

यॊ बिरानॊ प्रबासमा कस्ले बुझ्छ पीर
निलडाम छैन तर कुटेजस्तै लाग्छ ।।

सुख खॊज्दै प्रबासीदाँ दुःख मात्रै पाएँ
पीडाहरू मेरैलागी जुटेजस्तै लाग्छ ।।

खट्नुपर्दा श्यामरात अनि दिनभर

यतै कतै स्वाभिमान लुटेजस्तै लाग्छ ।।



श्याम रॊक्का,इजरायल ।
► कृष्णपक्ष थापा ।। अरु ...

गजल:आँसु झार्यौ तिमिले ....

गजल

बिदाइमा आँसु झार्यौ तिमिले ।।
फेरी किन माया मार्यौ तिमिले ।।

कुमारीत्व भंग गरी सकेसी
अर्कैतिर दृष्टी सार्यौ तिमिले ।।

फुल जस्तै नम्र मेरॊ शरिर
मुसारेर नङ्ग्रा दार्यौ तिमिले ।।


मिलनकॊ घडी जुर्छ भनेर
धेरै तिथी मिति टार्यौ तिमिले।।

श्यामबर्ण भनि घृणा गरेर
किन आज एक्लै पार्यौ तिमिले ।।


गजलःश्याम रॊक्का,इजरायल
► कृष्णपक्ष थापा ।। अरु ...

निलो शिरिष !!



जैतुनको हाँगो टेकेर
बिरहबोल्ने ढुकुरजोडी कुर्लन थाले
भूमध्यसागरको बैँशालु हावा
तन मन छोएर बहन थाले
फेरी बाटैभरी निला शिरिष झुल्न थाले,
हरेकपटकको ओहोरोदोहोरमा
टक्क उभिन्छु र अनुहार थापेर नियालिरहन्छु,

झर्दैगरेको एक्झुप्पाले मिठो थप्पड गालामा हान्दा
आँखाबाट बिछोडका पीडा यसरी ओइरिदिन्छन् ..
बितेका हरएक कहालीलाग्दो एकाँकीपल
सोहोरेर आँखामा ल्याइदिन्छ यो निलो शिरिषले
म उँभो हेरिरहन्छु एक डालो निलो झुप्पा,

ओहो! कती पटक यि पोथ्रा यसरीनै निलाम्य भए
शिरिष फुले झरे फुले झरे ,,,
हरेक पटकको यो निलो शिरिषले
मलाई 'तिमी' सम्झाउँछ
तिमीसङ्गको बिछोड सम्झाउँछ
हामी बिचको दुरी सम्झाउँछ
यो चौथो वसन्त पर भागेछ
मेरो हृदयको शिरिष 'तिमी'
यो आँखाको सामुन्ने नफुलेको नझुलेको !!


यो ताजा निलो शिरिष च्वाक्क म्वाइ खाएर
उँभै हिमालतिर फर्केर एक झोंका श्वास फ्याँकेकोछु
कतै तिमी सम्म पुगोस यो शुवास
यो शिरिष देखी त्यो शिरिषसम्म ,,,
मनदेखीयो त्यो मनसम्म
यो मनदेखी त्यो मनसम्म ।।।
► कृष्णपक्ष थापा ।। अरु ...

Tuesday, 10 May 2011

गजल - उषा न्यौपाने



मायालु त्यो बोली भित्र कति ठुलो घात रैछ
सुम्सुम्याउँदै गला रेट्ने कस्तो पापी हात रैछ ।


बुद्ध खुशी हुन्थे होला तिम्रो दर्शन सुन्न पाए,
यथार्थमा त्यो त मान्छे फँसाउने बात रैछ ।


सारी चोलो लत्याएर बियर तान्दै मात्तिएर
दिउँसै रात पार्न खोज्ने जँड्याहाको जात रैछ ।

मग्मगाउने वरिपरि सुन्दर फूलबारी देखि
पाइला टेक्दा दलानमा दुर्व्यसनको खात रैछ ।

डर धम्की दिंदै अझै, छेउ तान्ने कोसिस् तिम्रो
अरु केही नभएर ठूलो पदको मात रैछ । ।
► कृष्णपक्ष थापा ।। अरु ...

Monday, 9 May 2011

क्रान्तिवीरको शपथ




मैले त्यो घटना र पुस्तक हेरी रहें । हेरे पछि मेरो आत्मा केही प्रफुल्ल भयो । मेरो इतिहासको त्यो सम्झना याद भयो जहाँ बिष्णु पाण्डेयको सहादत भएको थियो जन आन्दोलन -२ त्यों सारा घटनाक्रमको शिलशिला मेरो आत्मकथा संग मिलेको महसूस गरें । म घर छोडेको पनि बर्षौ भएको थियो । नेपालको त्यो वस्तिमा पुगेँ जहाँ शहीद पार्क , शहीद स्मारक भवन र सहीदका अभिलेखालय थिए । इतिहासका सारा नालीबेली थिए । नेताहरुका कुकृत्यको खंडन गरिएका दस्ताबेजहरू थिए र नजिक एउटा पुस्तक थियो । हेरेँ, पुस्तक मुटु नै छुने मर्मस्पर्शी थियो, पढ्न थालेँ नाटक जस्तै थियो लेखकको नाम -'अज्ञात बेहोशी' थियो । पुस्तक करीब ४०० पृष्ठ को थियो र पुस्तकको नाम थियो- 'शहीदका सपना पूरा गर्छौं'

पाना पल्टाउदै गएँ, हेर्दै गएँ पानाको मोहनी यति मार्मिक थियो कि? रात बितेको थाहा नै पाइन ।
कथा यसरी जादै थियो .......क्र.म.श: पानाहरू पल्टदै थिए ।

'हरे के गर्नु भएको होला यस्ता कुरा ? हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्छन मानिसहरु । हेर्नुस सरोजको बाबा, हजुरलाई केही भो भने के हालत हुन्छ ?
मेरो गर्भमा बच्चा छ यस्तो बेलामा जानू ठीक छैन' --आखाभरि आँसु टिल्पिलाउदै सुनिताले भनिन ।

'सुनु के यस्तो अवस्थामा म आफ्नो कर्तब्य भुलेर बसुं ? यो देश -समाजको हित हुन्छ भने मैले मेरो जीवन उत्सर्ग गर्न तैयार छु । जीवन युद्दमैदानमा अन्त्य हुन्छ भने स्वर्ग भन्दा पबित्र र आदर्शवान हुनेछ । हेर, मानिस एकदिन मर्नु त छ छ ऋषि मनिषीले लोकको लागि आफ्नो जीवन त दिए म सामान्य मानिस हुँ, जाबो यो जीवन जान्छ भने तिमी किन चिन्ता गर्छ्यौ आमा बाबा सारा हुनुहुन्छ, जसले भोली तिम्रा सन्तानको नाममा राष्ट्र नतमस्तक हुनेछ ।

"यी सारा कोरा कुरा हुन, हुन त नेपाली इतिहास रगतले कोरिएको छ। भावना र मानवताले हैन ।.राजनिति रगतको मुल्यमा खरीद बिक्री हुन्छ । हामीले धेरै सुन्यौ जान्यौ २००७ को जनक्रान्ति, २०३६ को जनमत संग्रह, २०४६को जनआन्दोलन, २०६२\६३ को अर्को लोकतान्त्रिक आन्दोलन र २०५२ देखिको जनयुद्दमा कति नेपालीको ज्यान गयो कति जनयुद्द्का क्रान्तिकारीको बेदना सुनेकी छु । आफ्नो साथीको किलो सेर टू मा मारिँदाका हृदयबिदारक कहानी नसुनेकी पनि हैन । हेर्नुस जे होस लखन थापाको इतिहासमा आफ्नो इतिहास जोड़े पनि यो स्वार्थी समाजले कहिल्यै बिबेक राख्ने छैन ।
´´
शहिदको नाम कति पवित्र हुन्छ ? जसले मुलुकको हितको लागी प्राण उत्सर्ग गरे, हो, आज सत्ताभोगी किराहरूले सुन्दर फूलबारीमा सलह पसे झै पसेर नेपालको अस्मिता माथि खेलवाड़ गरे । मलाई थाहा छ सुनु, त्यही देख्न नसकेर मैले विद्रोहको बिगुल फुक्न चाहेको हूँ, हरेक घर घरमा अन्याय अत्याचारी छन । यी कपटीका कारण लाखौँ युवा मुग्लान पसे। के हाम्रो देश गरीब छ ? यस्तै दुराचारीको कारण हामी पछि परेका हौँ ।

'हो शहिदको नाम पवित्र हुन्छ, यो मलाई थाहा छ तर थाहा छैन किन नेता आफ्नो हैसियत जान्दैनन बुझ्दैनन । हुदा हुदा नत्र सर्वसाधारणले नेताको गालामा किन थप्पड़ दिन्छ्न ? धैर्यताको बाँध टुटेर हैन ?

' हो हजुरले आखिर जीवन देशको लागी अर्पण गरे पनि त्यही काले बिरालो, रक्तपिपासु स्याल र ढोंगी ब्वाँसोको कथा जस्तै त हो नि । हेर्नुस समाजसेवा रगत दिएर मात्र हुदैन । कलमको मसीको ज्वालोमा ती खुनीलाई नाङ्गेझार पारेपछि जनताको लागी फेरी कुदृष्टि राख्ने छैनन, पत्तासाप हुनेछन । पितपत्रकारिताको फाइदा लिएर दुनियालाइ हासी हासी फसाए ।' -सुनीता भन्छिन ।
"बाबा, माने तिमीलाई पनि, मैले त सोचेको पनि थिइनँ, तिमी भित्र पनि यस्ता कुराहरू छन भन्ने ? हो म अब जे जसरी हुन्छ, त्यो बिहानको पर्खाइमा छु हामीले जीवन दिनु त छ छ, तर केही मूल्य चुकाउनु छ जन्मभूमिलाई ।'


'हजूर, नारीको चाहिँ आफ्नो केही भावना नै हुदैन भन्ने सोच्नु भएको छ कि के हो? हेर्नुस, झाँसीकी रानी लक्ष्मीबाईमा कत्रो हिम्मत थियो, जुन वीरताको इतिहासमा एउटा कोशेढुंगा बन्यो । तर १० बर्षे जनयुद्दमा कति नारी युवतीले उत्सर्ग गरे पनि के अर्थ राखे र नेताहरूले ? आफ्नै स्वार्थमा लागी रहे र छन । हिजो एक अर्काका ज्यानी दुश्मन आज एउटा टेबुलमा हाँसोमजाक गरिरहेका हुन्छन् । यी खलपात्र हुन यिनको पछि लागेर जीवन ध्वस्त किन पार्ने तपाइले ? हो त्यसैले म भन्छु हजुरलाई, हामी नारीहरुको बेदनाको मर्म न राष्ट्रले जान्यो न पुरुषहरूले नै ? हो, यस्तो समयमा किन हतार गर्नु हुन्छ? मलाइ छोडेर जाने कुरामा के उपलब्धी देख्नु भो ? म पनि त यो देशको नागरिक हुँ । मेरो पनि त कर्तब्य छ जति हजुरको ? फेर्नै परे समयले काँचुली आफै फेर्छ, हामीले चाहेर मात्र हुदैन बुझ्नुभयो ?'

'मानेँ सुनु, तिमीलाई । हो हाम्रो क्रान्तिवीर जन्मेपछि म यो घरमा हुने छैन । लोकतन्त्रको त्यो बिहान नआएसम्म म भूमिगत हुनेछु।'

नारीको दिल जसले जान्यो स्वर्ग त्यही हो पुरुषको लागी, जब नारीहरू पिडित हुन्छन, दुखी हुन्छन, त्यो समाज र देशको पनि भलो हुँदैन। जहाँ साहित्य शुन्य हुन्छ, त्यो समाज मसानघाट समान हुन्छ । नारी नै साहित्यकी जननी हुन। नारी बिनाको साहित्य र पुरुष बिनाको इतिहास अर्थहीन हुन्छ ।

आज क्रान्तिवीरको जन्म ।
समाजका गरीबहरुको जमघट। मानिस एक आपसमा कुराकानी गर्दैछन । माहोल बड़ो तनावपूर्णजस्तो देखिएको आभास छ । एउटा गुप्तचरको गाडी आए जस्तो देखिन्छ । मानिस त्राहित्राहि देखिन्छ्न ।

ड्याम~~ गोलिको आवाज आउछ । गोली सुनीता (सुनु)को छातिमा लाग्छ, ढल्छिन भुइमा। हातको बालक हुत्तिएर पुलिसकै छातिमा पर्छ । सुनिताको हालत देखि पुलिस आफै आपतमा पर्छ । गोली लागेको घाइते बाघ जस्तै उ छपाछप पुलिसलाइ काट्दै हुन्छे । अचानक एउटा पुलिसको हातबाट ऊ पनि ढल्छ मानिसले तुरुन्त अस्पिताल पुराउछन । त्यसपछि ऊ कहाँ पुग्यो कसैलाई थाहा भएन । इतिहासको त्यो घडी सुनु शहिदको बिरंगना बनेर इतिहासको पानामा देखिन्छिन, आफ्नो इतिहास आफै बनाइन सुनीताले । क्रान्तिबीर, उनको महान सन्तानलाइ जन्म दिएर । त्यो क्रान्तिवीर अबस्य आउछ - नयाँ युगको नयाँ परिवर्तनकारी बनेर ।

रातो सूर्यको ज्योति बोकेर आफ्ना आमा र बाबाको लामो अभिलाषालाइ पूरा गर्न । मानौं ऊसले शपथ र बाचा कसम लिए झैं लाग्छ, स्वार्थी नेताको कारवाही अभियान र नयाँ युगको पहिचान गर्ने ।

त्यो सुन्दर बिहानको पर्खाइमा मेरा आँखा लोलाई रहे.. पाना रोकिएको थिएन ...........इतिहासका पानाभरी थपिदै थिए- यस्ता अरू धेरै क्रान्तिवीरका कथाहरु ।


इन्द्रेनी शर्मा "जलद"
प्रगतिनगर नवलपरासी, लुम्बिनी
हाल , लिस्बोन पोर्तुगल
indreni _sharma @yahoo .com
► कृष्णपक्ष थापा ।। अरु ...

गजल - कृष्ण के श्रेष्ठ "काल्स "


कृष्ण के श्रेष्ठ "काल्स "
योकोहामा जापान



तिमीलाई सम्झिएर बस्दैमा दिन ढल्यो
मुटुभित्र लुकिचोरी पस्दैमा दिन ढल्यो

तिमीबिना एकान्तमा टोलाएर रुँदारुँदा
तप्प आँसु आँखाबाट खस्दैमा दिन ढल्यो

चुडिएर जाला भनि म देखि माया कतै
बिस्वासको डोरी बाटी कस्दैमा दिन ढल्यो

तिमिनैहो जीबन भनि सबै थोक बिर्सिएर
अन्धो मायाजाल भित्र फस्दैमा दिन ढल्यो

मायाको भिख माग्दै जोडेर दुइ हातहरु
खरानी यो निधारमा घस्दैमा दिन ढल्यो
► कृष्णपक्ष थापा ।। अरु ...

अनेसासको सन्ध्यामा गोपीकृष्ण प्रसाई नायक



लण्डन । गत ७ मे, शनिबार, थेम्स एकाडेमी, ईलिंगमा अनेसास यूकेले माषिक साहित्यिक भेला, उक्त दिनको ३ बजे शुरु भई साँझ ७ बजे सम्पन्न भएको छ । संस्थाले यसरी भेलाको आयोजना गर्न थालेको यो तेस्रोपटक हो । संस्थाका महासचिब लाराको स्वागत मन्तव्यसहित शुरु भएको कार्यक्रममा अध्यक्ष होम परिबागको अध्यक्षता, ईश्वर मानन्धरको प्रमुख आतिथ्य, बिजय हितानको बिशेष आतिथ्य, देवी गौतम तथा प्रतिभा प्रतिष्ठानका सचिब कांगमांग नरेशको आतिथ्यमा भएको उक्त कार्यक्रमका सन्ध्या नायक थिए गोपीकृष्ण प्रसाई । कबि प्रसाइले संस्थाका उपाध्यक्ष डा रुपक श्रेष्ठको परिकल्पनामा शुरु गरिएको मासिक साहित्यिक सन्ध्यामा यसरी आफूले सन्ध्या नायक बन्ने सुअवसर पाएकोमा परिकल्पनाकार डा श्रेष्ठ र संस्थालाई धन्यबाद दिंदै आफ्नो दोश्रो नवीनतम कबिता संग्रह ‘रात ढलेको थिएन’ संग्रहबाट कविताहरु पाठ गरेर सुनाएकाथिए । उक्त कृति र पाठ गरिएका कबिताहरु माथि समालोचना गर्दै डा श्रेष्ठले प्रसाईका यस संग्रहका कविताहरु नोस्टाल्जिक मात्र नभई कविले नेपालसहित जर्मनी र बेलायत लगायतका बसाइहरुमा रहँदाबस्दा त्यहाँका जनजीबनको सचित्रण जीबन र जगत, बिज्ञान र अध्यात्मिक रहस्य, भोगाइ र अनुभूतिहरुको सुन्दर प्रस्तुति गरेका छन् र यस कृतिले नेपाली साहित्यको बगैंचामा एउटा सुन्दर फूल थपेको छभने डायास्पोरिक साहित्यको एउटा दह्रो नमुना बनेको छ भन्ने आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै, समालोचनाका क्रममा देबी गौतमले कबि प्रसाईका हरेक कविताहरु बिषय बस्तु, शब्दचयन र संरचनाका दृष्टिकोणले उत्तिकै गहन छन् र कृति उत्कृष्ट छ भनेकाथिए । ‘श्रोताको समय’मा कांगमांग नरेश, विजय हितान, सुरेन्द्र श्रेष्ठ, राजिब रेग्मी, नारायण गाउँले, डी आर पराजुली ‘म्याग्नेट’, पार्वती श्रेष्ठ, राजिब रेग्मी ‘माया क्यालेन्डर’, ईश्वर मानन्धर, रोजी श्रेष्ठ, राजन खरेलले विभिन्न प्रश्नहरु कविको कृतिमाथि कविलाई नै राखेकाथिए । उक्त कार्यक्रममा उपस्थित कबि तथा कबियातत्रीहरुले आ-आफ्ना कबिता, गजल र लेखहरु सुनाएका थिए भने सल्लाहकार खगेन्द्र पाठकले अनेसासले हाम्रा नयाँ पिंढीलाई नेपाली भाषा पठन पाठनको बारेमा सोच्नुपर्ने तथा शुरु गरिएको नेपाली पुस्तकालयको बिकासमा अझ साथ दिन तयार रहेको बताएकाथिए ।

कार्यक्रम संचालिका महासचिब लाराले सल्लाहाकारद्वय डा कविताराम श्रेष्ठ र प्रो माईकल हट (नई अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्न नेपाल) तथा उपाध्यक्ष जया राई (दोश्रो कथासंग्रह ‘बेकर स्ट्रिटका दुई आँखा’को बिमोचन तथा रुप्रसाद मैनाली कथा पुरस्कार ग्रहण गर्न नेपाल) ले उक्त सन्ध्यामा आफै उपस्थित हुन नसके पनि शुभकामना सन्देश पठाएको जानकारी गराएकिथिईन् । समापनको क्रममा सभापति होम परिबागले प्रसाईका नवीनतम कृति बेलायतमा बस्ने नेपाली मात्र नभई संसारभरि छरिएर रहेका नेपालीहरुले गर्ब गर्न पाउने प्रकाशन हो र यी र यस्ता कृतिहरुलाई अब अन्तर्राष्ट्रिय साहित्यको स्थानमा उभ्याउने काम गर्न अनेसास लाग्नेछ भन्दै कार्यक्रमको समापन गरेका थिए ।

- डा.रुपक श्रेष्ठ
► कृष्णपक्ष थापा ।। अरु ...

Sunday, 8 May 2011

आवृत्तिको क्यानभासमा


शर्मिला खड्का (दाहाल)
कथा


कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण भएको पच्चीस–छब्बीस वर्षको जवान ढिटो छ । उसँग म कहाँ दौडनु सक्छु र ? तर पनि उसले तानेपछि मरे छोड्नेवाला छैंन । त्यसैले हुत्तिदै, मुन्टिदै उसको पछि लाग्न बाध्य छु । यो पात्र अरूजस्तो होइन रहेछ । अरूको भावनाको, इच्छाको सम्मान नै नगर्ने ! कस्तो अव्यवहारिक केटो रहेछ ! उसले मलाई केही भन्ने मौका पनि दिएको छैन, हेरौँ मलाई कहाँ लादो रहेछ । म उसलाई पछ्याउँदै छु । अहिले मलाई अनौठो लागिरहेछ । मेरो कथायात्रामा कतिपय ठाउँमा मैले पात्रलाई पछ्याउनु पर्ने हुन्थ्यो तर अहिले त पात्रले नै मलाई जबरजस्ती तानेर लाँदै छ । मलाई अचम्म लाग्दै छ तर पनि म जाँदै छु । दिवाकर नेपालीज्यू, ल अब म त्यो ठाउँमा आइपुगेको छु, हेरौँ यो कस्तो ठाउँ रहेछ !
सन् २०१० को न्यु इयर इभ मनाइरहेको ठाउँ, नेपालको धेरै गाउँ मध्ये चाँडै नै सहरको रूपमा विकसित भएको सहर—इटहरी । न्यु इयर इभमा देशको प्रसिद्ध गायक गीत गाउन मस्त छ । मेरो पात्र मलाई लिएर ऊ प्रोग्रामको लागि भित्र छिरिसकेको छ । मैले वरिपरि नजर घुमाएँ । धेरै जसो ढिटाढिटी र युगल जोडी देखिन्थ्ये । केटाकेटी र बूढाबूढीको सङख्या कतै चामलमा विया मिसिएका हुनकि जस्ता थिए । इटहरीको चिन्तन चौतारी, कला र सँस्कृतिको अनुपम उदाहरण भएको रेष्टुरेन्ट । मौलिक र प्राकृतिक कलाकृतिले सजिएको विभिन्न जातजातिको सँस्कृति झल्कने नमूनाहरू सायद नेपालकै उत्कृष्ट कलाकृति हो यो । यो मनोरम दृश्य देखाउने मेरो पात्रप्रति म अनुगृहित थिएँ । रेष्टुरेन्ट पस्नुअघि नै यसको कलाको अनुपम प्रस्तुति ढोकामा बनाइएको थरुनीको विशाल मूर्तिले मलाई आकर्षित गरेको थियो । थारु समुदायको बाहुल्यता रहेको इटहरीमा यो मूर्ति थारु कलाको एउटा प्रतिनिधित्वको रूपमा उभिएको अद्भुत कला थियो । भित्रपस्नेबित्तिकै बाँसको चोयाँले बुनिएको ठूलो कछुवा अनि विभिन्न देवीदेवताको मूर्तिले मेरो आँखालाई लोभ्याएको थियो । यस कलाकृतिलाई धितमरुन्जेल हेरेर आँखालाई विश्राम दिइ सक्दा नसक्दा भित्रको रोमाञ्चक माहौलले मलाई तानिहाल्यो । उक्त पात्र मसँगै छ । हामी टेबुलमा बसिसकेका थियौँ । एकछिनपछि एउटी थारु जातकी जस्ती ठिटी टाइट जिन्स पाइन्ट र फूलवाहुला भएको भेष्ट लगाएर हाम्रै टेबलको मेच बसी । चिसो निकै बढेको थियो । तराईको मध्यहिउँदको जाडो मस्त जवानीमा थियो । तराईको चिसो नपत्याउदो हुन्छ मुटु नै छेडिनेजस्तो । अझ कार्यक्रम खुला मैदानमा गरिएको हुनाले टाउकोबाट चिसो पस्दा सियो रोपिएझैँ भएको थियो । अलिक पर आगो बालिएको थियो । तर त्यो धिपधिपे आगोले हामीलाई तताउनुको सट्टा हाम्रै तातो उधारोमा लिईरहे झैँ लाग्थ्यो । माहौल निकै तातिएको थियो । छेउछेउमा वियरका बोतलहरू लडिरहेका थिए । गायकसँगै गीत गाउने र उफ्रिनेको कुनै कमी थिएन । मलाई लाग्यो मेरो पात्रको उक्त ठिटीसँग पहिले नै चिनजान भएको हुनुपर्दछ, र त आएर यसरी बसेकी छे । अब दुवै जनाको वार्तालाप सुरु हुने अवस्थामा छ । मेरो पात्र भन्छ —
“मलाई कसरी देख्यौ ?”
“एजेन्टले देखाइ दियो । ”
“ए.. ऽ..ऽ. ” निकै लामो सास फेरेर ऊ रोकियो । यस अघि मेरो पात्र एउटा व्यक्तिसँग हात मिलाउदै गफ गरेको थियो । सायद उक्त व्यक्ति एजेन्ट थियो क्यार !
‘कस्तो एजेन्ट ? को एजेन्ट’ मेरो मस्तिष्कमा चिसोसँगै जिज्ञासा रोपियो । म उनीहरूको संवाद चोर कानले सुन्छु । उक्त केटी मलाई हेर्दै संकोच र लाज मानिरहेकी हुन्छे । म थाहा नपाएझैँ हुन्छु ।
मेरो पात्र भन्छ – “डराउनु पर्दैन उ मेरो कथाकार हो । उसले तिमीलाई केही हानी गर्दैन ।”
म उनीहरूको वार्तालाप नसुनेझैँ र नदेखेझैँ गर्छु । दर्शकहरू जोडजोडले ताली बजाउँदै उफ्रदै गरेका छन् । म उनीहरूको कतिपय वार्तालाप बुझ्दिनँ । बाहिर चिसो स्याँठ चलेझैँ मेरो मनमा धेरै उत्सुकताको स्याँठ चलिरहन्छ । तर पनि म सौभ्य र धैर्य बनेर सब हेरिरहेको छु — चिन्तन चौतारीको कलामय र चर्चित गायकको संगीतमय वातावरण । सायद युवायुवती युगल जोडीहरू सबै आफैलाई भुलेर आनन्द लिनमा ब्यस्त छन् । पुरानो वर्षको सबै दिक्कलाग्दा, कुरा बिर्सिएर नयाँ वर्षलाई रोमाञ्चकारी बनाउँदै स्वागत गर्न तल्लीन देखिन्थे । देशको राजनैतिक अवस्था कहाँ पुग्यो ? संविधानसभा बन्ला कि नबन्ला ? ठूला पार्टीहरूले कस्तो रणनीती खेल्ने हुन ? परराष्ट्र नीति कस्तो हुने हो ? कसैलाई कुनै मतलब नभएझै देखिन्थे । धेरैजसो जोडीमा देखिन्थे । कतिपय बिना जोडीका पनि देखिन्थे । जोडी हुनेहरू अरूका आँखा छलेर एक आपसमा अँगालोमा बाधिँदै चुम्बन साटासाट गर्दै थिए । मैले सोचे सायद नेपालमा पनि पश्चिमी सभ्यता भित्रिसकेछ । बिना भन्सार महसुल छिर्ने यस्ता कुरालाई कुनै कठिनाइ थिएन । कम्युनिष्ट शासन भएको चाइनाले त खुला नीति लिइसकेको अवस्थामा नेपालमा कुनै शासन नै नभएको ठाउँमा कुन भारी कुरा हो र ? यो त बर्ड फ्लुझैँ हावामा उडेर आइपुग्न सक्छ । अझ यति मात्र होइन भविष्यमा अरू कति खाले फ्लु भित्रिने हुन् कुनै अनुमान छैन । मैले विचारको धारो खोलेँ — फ्रायडको मनोविज्ञान अब पुरानो भर्सनको कम्प्युटरझैँ भइसक्यो । अब कसैले पनि यौनमनोविज्ञानलाई कुण्ठित पारेर बाँच्नु पर्दैन । अब यौनविज्ञानको नयाँ भर्सन आउनुपर्छ तर यो सिद्धान्त पनि आयतित नै हुनुपर्ने होला किनभने यताको सबै सिद्धान्तहरू खोलामा गीत गाएझैँ हुन् । ब्रान्डेडको अगाडि लोकलको उभिने के हुर्मत ? यो आधुनिक नेपाली उखानबाट मैले मेरो विचारको धारो बन्द गरेँ ।
सबैको हातहातमा मोबाइल छ । कोही जोडी नहुनेहरू आफ्नो जोडीलाई सम्झँदै यौनकुण्ठा मोबाइलबाट यसरी व्यक्त गर्दै थिए —
“डार्लिङ, आइ लभ यु !, आइ किस यु ! आइ मिसिड यु मेरी मच ! ”
कोहीकोही लठ्ठारिँदै छेउछाउ किनारिँदै छन् । म यो सब थोक हेरिरहेको छु । मलाई एक्लै बसेको देखेर कतिपय आँखा मै यौन प्यास बुझाउँलाझैँ गरी हेदै छन् । कतिपय मलाइ हेर्दै भालेले पोथीको अगाडि पखेटा फिँजाएर भुनभुनाएझैँ भुनभुनाउँदै थिए । पुरुषहरू स्त्रीहरूलाई यौनवासनाको रूपमा मात्र किन हेर्छन ? यो भन्दा पर उनीहरूको सोचाइले सीमाना नाध्न सकेको नै छैन । म मनमनै उद्वेलित बन्छु । तर यहाँ त वातारणले पनि ठूलो भूमिका खेलेको छ । एउटा कथाको – प्रमुख नायकलेझैँ । जे होस उद्वेलित मनलाई नियन्त्रणमा लिन्छु । म त्यहाँ उपस्थित धेरै जसो स्त्रीहरूको लवाइ, हिँडाइ, बोलाइमा कामुकता पाउँछु । मलाई किन हो यो माहौल ठीक लागिरहेको थिएन । उठेर हिँडि जाउजस्तो लागिरहेको थियो । तर एक्लै कता जाने होला ? मलाई दिक्क लाग्यो । म त यहाँ पात्रसँग कथा लेख्न पो आएकी थिए त ! तर खोई विषयवस्तु ? पात्र आफ्नो प्रेमिकासँग गप्फिन मस्त छ । ऊ मलाई मेरो उपस्थितिको कुनै सरोकार नभएझैँ व्यवहार गरिरहेछ । अब मैले के कथा लेख्नु ? मैले सोचेकी थिए पात्रले मलाई यहा ल्याएर कुनै रोमाञ्चक कथा सुनाउने छ । तर अहिले उसको मुड नै अर्को छ । मैले पात्रलाई पुलुक्क हेरेँ । ऊ आफ्नी प्रेमिकासँग निकै घुलमिल भइसकेको थियो । टेबलमा केही खानेकुरा आएको थियो । मेरो पात्रले मलाई इशाराले खान अनुरोध ग¥यो । मैले पनि आँखा र हातको इशाराले जुसमात्र खाने संकेत गरे । कतै उसको प्रेमिकासँगको प्रेमिल वातावरणमा खलल पुग्ला भन्ने कुराले म सतर्क थिएँ । अहिले म मेरो पात्रको मनोविज्ञान बुझ्ने प्रयासमा थिएँ । ऊ रोमान्टिक मुड भएको कामुक पुरुष रहेछ । ऊ नयाँ–नयाँ ठाउँमा यस्तै केटीको खोजीमा हिँडदो रहेछ । म उनीहरूको वार्तालापलाई यसरी सारांशमा खिचेर जुम गरेर देखाउन चाहन्छु – मेरो पात्र लाहुरे परिवारमा जन्मिएको एकदमै पुलपुलिएको ठिटो रहेछ । ऊ भोगाविलास र आनन्दमा दिन बिताउने गर्दो रहेछ । बुवाको पेन्सन र घर भाँडाले घर खर्च गरेर अरू पैसा कहाँ फ्याकौ भन्ने अवस्था रहेछ उसको । साथीहरूसँग बाइकमा घुमफिर गरेर दिन बिताउनु उसको दैनिकी रहेछ । बाउआमाको करकापमा एउटा पिसिओ पसल खोलेको रहेछ । पिसिओ पसलमा दिनभर कोठामा बाधिएर बस्न उसलाई गारो भइसकेको थियो । उसले पिसिओ साथीको भरमा छोड्ने गर्न थाल्यो । पिसिओबाट कमाइ हुनुको बदला उल्टो घरबाट पैसा तिर्नु परेपछि बुवा आमाले पिसिओ पसल बन्द गर्न लगाएछन् । त्यसपछि उसको काम यस्तै नयाँ—नयाँ ठाउँमा नयाँ—नयाँ रेष्टुरेन्टमा नयाँ—नयाँ भेज, ननभेज चाख्तै हिँड्नु उसको आदत बसेको रहेछ । इटहरीको विराटनगर जाने र पश्चिम जाने राजमार्गमा दुई किनारमा यस्ता खालका रेष्टुरेन्टहरू संचालित थिए । त्यहाँ गाउँमा अभावमा तडपिएका सोह—सत्र वर्षका केटीहरू वेटरको रूपमा काम गर्दथे । सोझासिधा गाउँका अबोध बालिकाहरूलाई फकाइफुल्याइ पैसा र अन्य कुराको प्रलोभन देखाइ रेष्टुरेन्टका मालिकहरू रेष्टुरेन्ट चलाउँथे । यौन के हो भन्ने कुरा पनि नबुझेका ती बालिकाहरू कोही स्कुल पढ्दा पढ्दै बाबुआमाको आँखा छलेर साथीहरूको लहलहैमा आउने गर्दथे । दुई चार सयको लोभमा परेर अझ कति त एक छाक मासुभात खानको लागि आफ्नो अस्तित्व नै गुमाएर जाने गर्दथे । यौनले उन्मुक्त भएकाहरू उनीहरू लाई कसरी गुडिया नचाएझैँ नचाएर आफ्नो यौन तृप्ति लिन्थे भन्नेकुरा ती रेष्टुरेन्टका छेउछाउका घरवालाबाट मैले सुनेकी थिएँ । अझै पत्रपत्रिकाले यसबारे खुलेर लेख्ने गरेकोले पनि थाहा पाएकी थिएँ । त्यहाँ अश्लील कार्य कसरी गरिन्छ र केटीहरूको यौन शोषण होटल मालिक, एजेन्ट र ग्राहकले कसरी गर्छन भन्ने कुरा जिम्मेवार पत्रिकाहरूले लेख्ने गरेका पनि थिए । एकातिर ती केटीहरू लुकीछिपी यो पेशा अपनाउन बाध्य छन् भने अर्कोतिर ती होटल मालिक, एजेन्ट र ग्राहकहरू उनीहरूको विवशता र बाध्यताको भरपुर फाइदा उठाउन कटिबद्ध थिए । उनींहरू अपमानित र घृणित भएर बाँच्नु पर्दा उनीहरूको मानसिकता कस्तो होला भन्ने कुराको विश्लेषण गर्न मन लाग्यो मलाई ।
एकछिनपछि मेरो पात्रले भन्यो– ‘मनसरा’
मेरो कान चनाखो भयो । म छक्क परेँ । उक्त केटी त मेरो तराईकथा ‘पुनर्निणय’ कथाकी नायिका पात्र मनसरा पो रहिछे । ऊ अहिले यो पेशामा खुलेर लागेकी रहिछे । मैले उसलाई गहिरिएर हेरेँ । पक्कै ऊ मनसरा नै रहिछे । मलाई उसँग धेरैकुरा गर्न मन लाग्यो । मलाई सोध्न मन लाग्यो – ‘मनसरा ! तिमीलाई माया गर्छु भनेर तिम्रो अस्तित्व धनाढ्यको सामु लिलाम गर्ने तिम्रो प्रेमी बुधराम खोई ?’ उसलाई मैले पर्नुर्निणय कथामा यसरी प्रवेश गराएकी थिए“ —.. .....वसन्त ऋतुले उराठलाग्दो बनाएको तराईको परिवेश, खरले छाएका दुईचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ ।
भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हु्न्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाइँदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हाँसेको पाइन्छ । मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैँ भौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना नै नगरेको कुरा भयो । आज उसलाई बैँसको हुरीले खोक्र्याएको छ, रित्याएको छ । घरभित्र उसका पाइलासँगै ठूलो साँझ भित्रिन्छ.........

अनि यसरी अन्त्य गरेकी थिएँ– .......अचानक एक दिन उसको बाबु अन्तिम स्थितिमा आइपुग्छ । मनसरालाई उसको बाबुले ‘रोग या भुखसे मोरै से त जेन के भी जियैले ठीक’ भनेको कुरा कानमा गुन्जिरहन्छ । बाबुको असक्त र निसहाय अनुहारले मनसराको सङ्कल्पलाई चुनौती दिइरहेको आभाष हुन्छ । मनसरा बाबुको अगाडि हार खान्छे । आफ्नो सङ्कल्पलाई तोडिदिन्छे । उसले बाबुको जीवनको अगाडि आफ्नो अस्तित्वको आहुति दिन्छे । आमाको च्यातिएको धोतीले उसको अस्तित्वलाई नङ्गाइराखेको अनुभूति हुन्छ उसलाई । समाजको प्रत्येक व्यक्तिलाई ऊ नाङ्गो देख्छे । ऊ गरिबी र अभावका पर्दा च्यातेर समाजलाई देखाउन चाहन्छे । ऊ नङ्गाउन चाहन्छे समाजका ती वर्गलाई जो सम्पन्नताका पारदर्शी पहिरनमा आफ्नो इज्जत ढाक्न असफल प्रयास गरिरहेका हुन्छन् । ऊ बुधराम भएठाउ“ जान्छे , पुनः उस“ग विश्वास जोड्न ।

यो कथामा मनसराको कति दारुणीक कथा थियो । लाचार र विवश मनसराले बाँच्नको लागि यो पेशा अपनाउनु परेको थियो ।
मलाई केही बोल्न सकसक लागेको थियो । तर मेरो पात्रको त्यो रोमान्टिक मुड डिस्टर्व होला भनेर मैले केही भन्न सकिनँ । अहिले उनीहरू मच्चीमच्ची हाँस्दै गफ गर्दै थिए । अहिले मेरो हृदय कताकता, इष्याँ, आक्रोश र सहानुभूतिले ढकमक्क भएर भरिएर आयो । अहिले पनि केही बोल्न नसक्ने अवस्थामा थिएँ म । मनसराको त्यो निरीह र विवश आँखामा धेरै कुरा लेखिएको पाएँ मैले । तर मनसरा पहिलाकोभन्दा निकै परिपक्क र वयस्क देखिन्थी । सायद उसलाई यो पेशामा कामले नै परिपक्क बनाइसकेको हुनु पर्दछ । अहिले ऊ थारु लवजमा नेपाली भाषा राम्रोसँग बोल्न सक्ने भइसकेकी रहिछे । उसको बुवाको मृत्युपश्चात बाध्य भएर ऊ यो पेशामा लागेकी थिई । उसबेला कथा लेख्दा मनसराको निकै माया लागेको थियो मलाई । अहिले ऊ पेशेवर भइसकेपछि पनि उप्रति मेरो सहनुभूति पटक्कै घटेको थिएन । अभाव र गरिबीमा बाँचेको उसको जीवनले यो भन्दा बढी पाउने आशा पनि थिएन उसलाई । ऊ सँग जे थियो उसले त्यसकै सदुपयोग गरी । ऊ समाजमा आफूमात्र बाचेकी छैन धेरैलाई बचाएकी छे । समाजले तिरस्कार र घृणितरूपमा हेर्ने यस पेंशाका तमाम पेशेवरको प्रतिनिधि मनसराप्रति मेरो संवेदना मूल फुटेर बग्यो । आज यिनै पेशेवर नारीले समाजलाई यौन सन्तुलन राख्न मद्दत गरेका छन् । यदि यिनीहरूले यौनवाट विक्षिप्त बनेका पुरुषहरूलाई यौनतृप्ति नदिने हो भने समाजमा कति बलात्कार र हिंसाका घटनाहरू घटिसक्थ्यो । विदेशमा यही पेशामा लागेका नारीहरूले समाजमा आवाज उठाएर, अदालतको ढोका ढकढकाएर आफूलाई सम्मानित जीवन बाँच्न सरकारबाट कानून प्राप्त गरेका छन् । उनीहरू पेशामा लागेपनि स्वतन्त्ररूपले बाँच्न पाएका छन् । कतिपय एसियाली मुलुकले आफ्नो अर्थतन्त्रको मेरुदण्ड नै वेश्यावृतिलाई मानेका छन् । तर हाम्रो देशमा मनसराजस्ता पेशामा लागेकाहरू समाजबाट अपमानित र तिरस्कृत मात्र नभई होटल, ग्राहक र एजेन्टबाट पनि ठगिँदै आएका छन् । उनीहरूको आवाज कसले उठाइ दिने ? मनसरा तिमीले उठ्नुपर्छ ! आफ्नो हक अधिकारका लागि लड्नु पर्छ ! तिमीले सम्मानित जीवन बाँच्न पाउनु पर्छ । तिम्रो साथमा छु म । तिम्रा धेरै कथाहरू मैले लेख्नु छ । मेरो घाँटी यिनै कुराले भरिपूर्ण भएर गाँठो अडकिएझैँ भयो । कहिले ओकलूँ यी कुरा ? मनसरालाई एक्लै पाएँ भने यी सबैकुरा भन्नेछु । तर कहिले ? अहिले ऊ मेरो पात्रसँग सम्पूर्ण पीडा भुलेर वर्तमानमा रमाउन तल्लीन छे । मैले उसलाई गहिरिएर हेरेँ । के मैले भनेका कुरा मनसरा बुझछे ? उसले यस्ता कुरा कसरी लिन्छे ? अशिक्षाको गुँइठाले उसलाई भित्रभित्र जलाइसकेको छ । उसका सोचाइले यी कुराको भार थाम्न सक्ला र ? मनमा अनेकौँ प्रश्नको चाङ थुप्रिदै गयो । यहीबेला मेरो पात्रले मलाई ‘जौ’ भन्ने इशारा ग¥यो । म उसको पछिपछि लागे । मलाई भित्रभित्रै नमीठो लागेर आयो । उसले मलाई किन यहाँ ल्याएको होला ? के देखाउन ल्याएको होला ? मनमा कैयौँ जिज्ञासा उम्रिए । म उसको पछिपछि थिएँ । ऊ मनसराको हात समाउदै हिँड्दै थियो । घरीघरी उनीहरू एकआपसमा टाँस्सिएर हिँड्थे । मलाई लाज लागेर आयो । मैले सोचे साँच्चै यो पात्र सारै बेसोमती रहेछ । मेरो अगाडि यस्तो केटीसँग आफ्नो उच्छङ्खता देखाइरहेछ । मेरा मनमा ऊप्रति पुरै नकरात्मक धारणाले डेरा जमायो । म आफू पनि यसरी आउँदा पछुतो मानिरहेकी थिएँ । उनीहरू गाला जोड्दै, हाँस्दै हिँड्दै थिए । मध्यरातमा सुनसानबाटोले पनि उनीहरूको पक्षमा वकालत गरेझैँ लाग्दथ्यो । म चुपचाप उनीहरूको पछिपछि हिँड्न बाध्य थिएँ । कार्यक्रम भएको ठाउँदेखि होटलसम्म आइपुग्न झण्डै सात मिनेट जति लाग्यो । उसले पहिला नै दुइवटा कोठा बुक गराइसकेको रहेछ । एउटा कोठाको चाबी उसले मलाई दियो । अर्को कोठामा मनसरालाई लिएर ऊ भित्र पस्यो । मलाई अनुमान लगाउन कुनै बेर भएन कि उसले आजको रात मनसरालाई बुक गरेको रहेछ भन्ने कुरा । झण्डै रातिको एक बज्न लागिसकेको थियो । मनसरासँग कुरा गर्ने मन थियो तर वातावरण अझै सहज भएन । म आफ्नो कोठामा नयाँ वर्षलाई स्वागत गर्दै नयाँ बिहानीको प्रतीक्षामा निन्द्रादेवीलाई अँगाल्न पुगेँ ।
बिहान चाडैँ उठेर हात मुख धोएर नित्यकर्म सकेँ । ‘अब मैले मेरो पात्रलाई मलाई यहाँ ल्याउनुको रहस्य सोध्नुपर्नेछ र मनसरासँग पनि कुरा गर्नुछ’ यति सोचेर म मेरो पात्रको कोठातिर लागेँ । तर अचम्म ! उसको कोठामा त चाबी झुण्डाइएको छ ! मैले मेनेजरसँग सोधपुछ गरेँ । मेरो पात्र र मनसराले एकबिहानै होटेल छोडेको खबर पाएपछि म एकाएक स्तब्धित र अचम्मित बन्न पुगेँ । अझ बढी अचम्म त उसले होटलको सबै खर्च मैले दिन्छु भनेर हिँडेको रहेछ ।
कथाकार दिवाकर नेपालीज्यु, म आफ्नै पात्रबाट ठगिएकी थिएँ । उसले मलाई जबरजस्ती ल्याएर अलपत्र पारेर कुनै प्रतिक्रिया पनि नजनाई हिँडेको थियो । कहिलेकाहीँ कस्तो अव्यवहारिक पात्र भेटिदो रहेछ । अझ भनू गलाको पासो हुँदा रहेछन् । के गर्ने ? त्यसपछि होटलको सम्पूर्ण बिल चुक्ता गरेँ । मन त्यसै खिन्न भयो । होटलको बाहिरको लबीमा तातो कफी पिउँदै यिनै कुरा सोचिरहेकी थिएँ । मैले अब के कथा लेख्नु ? पात्र र मनसरा नै छैनन् भने । मन त्यसै विचलित जस्तो भयो । केही समय रेष्ट गरेर घर फर्कने मनसायमा थिएँ म । एकछिनपछि एउटा वेटर आएर पत्रसहितको खाम दिएर गयो । पत्र मेरै नाममा थियो । खोलेर हेरेँ । पत्रभित्र लेखिएको थियो –
कथाकार अनमिकाज्यू
तपार्इँलाई मैले यहाँ यसरी छोडेर हिँड्दा निकै नरमाइलो मान्नु भयो होला । कस्तो फटाहा पात्र रहेछ भन्ने सोच्नु भयो होला । तर यथार्थ कुरा सबै मैले यस पत्रमा खोलेको छु । हो म लाहुरे परिवारको बिग्रेको केटो हुँ । हाम्रो लाहुरे समाजका धेरै छोराहरू साँच्चै बिग्रेका छन् । कतिपय दुव्र्यसनी पनि भएका छन् । हामीले बुवाआमाबाट जुन मार्गदर्शन पाउनु पथ्र्यो त्यो पाउन सकेनौ । त्यसैले हामीजस्ता धेरै युवाले बाटो बिरायौँ । हाम्रो बारेमा धेरैले यस्तै लेखेका छन् । यसमा हाम्रो कुनै गुनासो छैन । तर हामी भित्र पनि मानवीयता छ, संवेदना छ । मलाई कथा, कविता निकै मन पथ्र्यो। अहिले पनि मनपर्छ । एकदिन मैले तपाईको कथा ‘पुननिर्णय’ भन्ने कथा एउटा लोकल पत्रिकामा पढेँ । म निकै भावुक भएँ । त्यस कथाकी पात्र मनसराप्रति मलाई निकै सहानुभूति जागेर आएको थियो । म पनि रेष्टुरेन्ट जाने गर्दथे । म धनी बाबुको छोरा, धनको उन्मात्त भएर रेष्टुरेन्ट जान्थे भने गरिब परिवारकी मनसरा भोको पेटको लागि जान्थी । हामीबीच कति ठूलो दुरी थियो । तर पनि हाम्रो उद्देश्य रेस्टुरेन्ट जानु थियो । म यो कुराले निकै भावुक भए । एकदिन मनसरा सँग त भेटहोला नि भन्ने लागेको थियो ।
एक दिन एउटा रेष्टुरेन्टमा साथीहरूसँग गएको थिएँ । त्यहाँ एउटी नर्तकी नाच्तै थिई । धेरै युवाहरू उसलाई अश्लील शब्द प्रयोग गर्दै बेलाउँदै थिए । रोमाञ्चक गीतको ताल ऊ अझ उत्तेजित बन्दै नाच्तै थिई ।
उसको नृत्य सकिएपछि एकजना धनाढ्य जस्तो देखिने अर्धवैश पुरुषले उसलाई जबरजस्ती तानेर लान खोज्यो । यसरी कसैको इच्छा विपरीत काम गर्नु अपराध हो भन्ने मैले ठानेँ । मैले उक्त धनाढ्यलाई उक्त नर्तकीलाई छोड्न अनुरोध गरे । यो शरीरको व्यापार हो इच्छाले हुनुपर्छ जबरजस्ती होइन भनेर उसलाई सम्झाउन खोज्दा उ मसँग निकै कड्कियो । मैले पनि आफ्नो युवा फौलादी जोश देखाइदिए । ऊ हुत्तिएर पर पछारियो अरू आएर हामी दुवैलाई समाएर झगडालाई साम्य पार्न प्रयास गरे । त्यसदिनको कुरा त्यसै सकियो । साथीहरूले मलाई घर ल्याए । भोलिपल्ट म फेरि त्यो रेष्टुरेन्ट पुगेँ। हिजोको झगडामा मुछिएकी केटीसँग मेरो चिनजान भयो । उसँग मेरो गफ भयो । मलाई अचम्म लाग्यो, ऊ मनसरा रहिछे । त्यसपछि उप्रति मेरो मन संवेदनशीलता बढ्दै गयो । म दैनिक जसो रेष्टुरेन्ट जान थाले ।
मनसरा र मबीच प्रेम बसिसकेको थियो । मैले मनसरालाई विहेको प्रस्ताव राखेँ । उसले सजिलै स्वीकारी । तर हाम्रो बिहेलाई हाम्रा बुवाआमाले पटक्कै स्वीकार गर्ने छैनन् भन्ने कुरा हामीलाई विश्वास थियो । त्यसपछि हामी भागेर जाने योजना बनाउन थाल्यौँ । पोखरामा भएको मेरो एउटा साथीले मलाई होटलमा मेनेजरको काम दिने बचन पनि दिइसकेको छ । अपरिचित ठाउँमा हामीलाई दाम्पत्य जीवन बाँच्न पनि सजिलो हुनेछ भन्ने सोच्यौँ । तर हाम्रो यो कथा कसैले त पक्कै लेखिदिनुपर्छ भन्ने मैले सोचेँ । किनभने समाजले हामी दुवैको जीवनलाई नकरात्मक सोचाइ राखेका हुन्छन् । त्यसैले हाम्रो कथा लेखिदिन मैले तपाईँलाई जोर जबरजस्ती तानेर यहाँ सम्म ल्याए अनि यति धेरै दुख दिएँ । म क्षमा चाहन्छु मेरो गैरजिम्मेवार कार्यप्रति । तपाईँ मन र धन, दुवैकी धनी हुनुहुन्छ भन्ने सुनेको छु । तसर्थ तपाईँलाई होटलको बिल पनि चुक्ता गराउने बोझ दिएँ । पछि कुनै बेला म फर्काइदिनेछु । तपाईँलाई प्रत्यक्ष मैले मनसरालाई बिहे गरेको देखाउन पनि मैले यो सब गर्नुप¥यो । मलाई माफ गरिदिनुहोला ।
तपाईँलाई प्रत्यक्ष भेटेर यी सब कुरा गरेर जान मन थियो । तर उज्यालो भइसक्ता मेरो घर परिवारबाट मलाई थाहा पाएर लिन आउने सम्भावना भएकोले हामी यहाँबाट राम्रो उज्यालो नभइकन मोटरबाइकमा पोखरा जाँदै छौँ । मसँग पोखरासम्म पुग्ने खर्च छ । सकेसम्म मेरो यो कथा सार्वजनिक गरिदिनु होला । तपाईँले हामीलाई विश्वास गर्नु हुन्न की भनेर मनसराले मलाई प्रतिप्रश्न गरेकी थिई । त्यसैले मैले यहाँ उसको हस्ताक्षरमा केही कुरा लेख्न लगाएको छु ।

कथाकार अनामिकाज्यू, माथिका सबै कुरा सही हुन् । म तपार्इँकी पात्र मनसरा हुँ । आज मैले सुरेश जस्तो पवित्र र आर्दश हृदय भएको पुरुष पाएकी छु । हामीले सुखदुखमा सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका छाँ । म धेरै खुसी छु । हाम्रो कथा सार्वजनिक गरिदिनु होला सबै पुरुषले सुरेशलेझैँ समाजमा नयाँ कथा लेखाउन म यही भन्न चाहन्छु र समाजले हामीलाई सम्मानित जीवन बाँच्न प्रेरित गरुन ।

तपाईँका पात्र
सुरेश+ मनसरा

पत्र पढिसकेपछि म अन्यमयस्क बनेँ । कुनै ठूलो गहिरो तलाउबाट एकाएक किनारमा आइपुगेँ । एकाएक भुइकुहिराले ढाकेको मेरो मनमा छर्लङ्ग भएर घाम लागेझैँ भयो । मेरो पात्रको नाम सुरेश रहेछ । कथाको विषयवस्तु उसको पत्रले नै छर्र्लङ्ग पारेको थियो । उसप्रतिको मेरो फोहरी धारणा सबै पखालिएर सफा भयो । ऊ कति महान र आदर्श पुरुष रहेछ । उसले मनसराजस्ती केटीलाई आफ्नी जीवनसाथी बनाएर समाजमा नया संदेश दिएको छ । मनसराको उज्वल भविष्यको दह्रो आधारशीला बनेको छ । अनि मनसराले पनि यस्तो घृणित कार्य त्यागी सुरेशलाई सुख दुखमा साथ दिने पवित्र निर्णय गरेकी छ ।

कथाकार दिवाकर नेपालीज्यू, मैले मेरा दुवै पात्रलाई उनीहरूको पवित्र भावनाको हृदयदेखि नै अभिवादन गरेँ र सफल दाम्पत्य जीवनको लागि शुभकामना पनि दिए । मैले सोचेँ यो कथा पक्कै सार्वजनिक हुनै पर्छ किनभने यो कथा समाजमा अनुकरणीय हुनेछ र समाजलाई नयाँ सन्देश पनि दिनेछ । यस्ता पात्रहरूलाई समाजले पक्कै सम्मानित जीवन बाँच्न प्रेरित गर्नेछ । मैले मनमनै उनीहरूलाई यो पनि आश्वसान दिए कि तिमीहरूको आर्दश जीवनको कथा समाजले आवृत्ति गरिरहनेछ प्रिय मनसरा . ..अनि....सुरेश........ ।

sakhada4@yahoo.com
www.shakhadasahitya.blogspot.com
► कृष्णपक्ष थापा ।। अरु ...

Saturday, 7 May 2011

व्यँग्य~ बाशीफल

तपाईं पात्रो हेर्नुहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न की ? खैर, मावलमा हजुरबा/मामाहरुले र घरमा काका र काकाका छोराहरुले पात्रोको पितृ बुझ्ने अनि ब्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता/सम्बन्ध रहेन । मेरा एकजना दाजुले घरैमा हुने घटना थाहा नपाएकाले छोरो चारकोसे जंगलको रुखमा फलेको र ज्योतिष विद्याबाट हात धोएको कुरा गर्नु भएको थियो । बर्षौदेखि यही विद्यालाई पेशा बनाउदै आएका मेरा दाजुलाई नाक लागे जस्तै हामी युवालाई ज्योतिष विद्याले नतान्नु स्वभाविक हो । तेसो त अचेल जाँड/प्याज नखाने बाहुन भेट्टाउन जत्तिकै गाह्रो भइसक्यो पात्रो हेर्ने, पढ्ने, बुझ्ने र ब्याख्या गर्ने युवापिढी भेट्टाउन । युद्धकालमा अधिकांश युवा नासिएपछि र बचेखुचेका युवा विदेश भासिएपछि गाउँमा पात्रो मात्र हैन आफ्नै घरदलिन हेर्ने युवा समेत छैनन् ।



ज्योतिषी/पण्डितहरु जो छन् ति सवै कालको नजिक पुगिसके । बुढाखाडा ज्योतिषीहरुले ज्योतिष विद्याको लत्रेको नाक माथि उठाउन धेरथोर योगदान दिएका छन् । भर्खरै सम्मन्न विश्व फुटवलको भविष्यवाणी गरेर महान हुनुभएका ज्योतिष श्री अक्टोपस पर्लज्युले पनि यो विद्यालाई माथि उठाउन दुर्लव योगदान दिनु भएर परमधाम हुनु भयो । अक्टोपसज्युको निधनपछि ज्योतिष विद्या नै लोप होला भनेर पीर परेको छ । त्यसैको पूर्व संकेत स्वरुप मेरा घुँडाबाट आँशु झरेकाले पनि यो विद्याको मोहले मलाई तानेको छ । फलस्वरुप यो मरुभूमिमा ज्योतिष विद्यालाई घुनपुत्ली नलाग्ने ब्यापारका रुपमा थालनी गर्न मन लागेर आएकाले यसबारे अध्ययन गर्न थालेको छु । तपाई पनि यस विद्यामा जिब्रो चलाउ“न चाहनुहुन्छ भने मैले जाने बुझेसम्म सःशुल्क कोचिङग/ट्युशन दिन तयार रहेको सर्वत्र जानकारी गराउन चाहन्छु ।


तपाई पत्रपत्रिका कत्तिको हेर्नुहुन्छ ? हेर्नुहुन्छ भने पक्कै पनि राशीफल हेर्नुहुन्छ होला । एक महिनाका एउटै पत्रिका पल्टाउनु भयो भने मेषको मिनमसँग, मकरको बृषसँग, कुम्भको मिथुनसँग, कर्कटको धनुसँग, कन्याको बृश्चिकसँग र तुलाको सिंहसँग राशीफल ठ्याक्कै मिल्छ । अर्थात् तपाईको राशीमा अघिल्ला कुनै अंकमा जे लेखिएको छ त्यही कुरो पछिल्ला कुनै अंकमा अरु कसैको राशीमा लेखिएको हुन्छ वा तपाईकै राशीमा लेखिएको हुन्छ । त्यसरी राशीफल दोहोरिने र त्यो पढेपछि पढ्ने पाठक एकोहारिने भएकाले मैले राशीफललाई बासिफल भन्ने गरेको छु । राशीफलको यस्तो कन्तबिजोक देखेपछि म पनि ज्योतिष हुन सक्ने मनमनै ठोकुवा गरे । र नै यसमा हामफालेको हुँ । ज्योतिष विद्याको थालनी स्वरुप यो बासीफल पस्किएको छु । यो बासीफल तपाईको यो जन्म भरिका लागि हो र शतप्रतिशत साँचो हो । टिप र चिना पछि कसैले सम्पर्क गरे बनाउला । —ज्योतिषी पं. चर्चित उपाध्याय ढुंगेल ।


मेश— मेष राशी हुनेहरुले देश छोड्नेछन् र सेतै केश फुलुञ्जेलसम्म हात जोड्नेछन् साथै विदेशीको खेत गोड्नेछन् । घरमा बसेर चार माना घिऊ खाँदा पनि नलागेको भाटो जस्तो जिऊ हुनेहरु मोटाएर बाँस जस्तो हुनेछन् । मेश राशी हुनेहरुका दर्जन सन्तान हुने देखिएकाले विवाह नगर्नु नै बेस हुनेछ । सिस्नुलाई साग देख्ने र विरालोलाई बाघ देख्ने भएकाले यि र यस्ता चिजहरुबाट टाढा बस्नु लाभदायक हुनेछ । हवाइ यात्रा गर्दा तारा र अग्नि एयरका जहाजमा नगर्नु शुभ देखिएको छ, कथम्कदाचित गरिहाले मकवानपुरतिरका आफन्तलाई खबर गरेर मात्र यात्रा गर्नु बेश होला ।


बृष— बृष राशी हुनेहरुले बाँचुञ्जेल बाशी खाना खान पाउनेछन् र यसरी नै जीवन बिताउनेछन् । बृष राशी हुनेहरुलाई झनक्क रिष उठ्ने भएकाले कसैलाई कुट्ने र कुटाइ खाने योग छ । झिना मसिना कुरामा छुरासम्म चल्ने र ज्यानसम्म ढल्ने देखिन्छ । आफन्तले बाँचुञ्जेल घृणा गर्ने भएकाले पीडायुक्त जीवन रहनेछ । कुरा काट्नेहरुले खेति पाउनेछन् र आयुभरि जिस्काउनेछन् । मनले खाकाहरु पाखा लाग्नाले रिषले आँखा देखिने छैन र बिषको प्याला पिउने सम्भावना प्रवल देखिन्छ ।


मिथुन— मिथुन राशी हुनेहरुले सुनलाई नुनको भाउमा बेच्ने देखिन्छ । ‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ’ भन्ने उखानलाई मिथुन राशी हुनेहरुले सार्थक पार्नेछन् । मिथुन राशी हुनेहरुको दिमाखको नट खुकुलो हुने भएकाले बेला बेलामा कस्नु पर्ने देखिन्छ । चन्द्रमा देब्रेतिर फर्किएर बसेकाले चिताको काम बितेको पत्तो पाइने छैन । प्रेममा धोका खानाले भिरबाट खसौ लाग्ने देखिन्छ भने गलामा पासो कसौ लाग्ने पनि देखिन्छ । अंशको झगडाले बंशको विनाश नहोला भन्न सकिएन ।


कर्कट— कर्कट राशी हुनेहरुले नर्कट आँडेर बस्ती बसाउनेछन् र देश/निया हसाउनेछन् । दशौ थलामा बसेको साढेसातको दशाले नशाको बिमार निम्त्याउनेछ । ग्याष्टिकले कर्कट राशी हुनेहरुलाई गाँजेको देखिएकाले ग्याष्टिक बिग्रिएर प्लाष्टिक हुने जुर छ । अझ ध्यान नदिएको खण्डमा इलाष्टिक जसरी मान्छे तन्किने देखिन्छ । विदेश बसेकाले घरमा पठाएको पैसा स्वास्नीसहित हराउनेछ । यही पीरले घरको न घाटको हुने र चिउडामा हात राखी रुने कुरालाई विश्वकै ज्योतिषीले नकार्न नसक्ने देखिन्छ । होस् गर्नु होला ।


सिंह— सिंह राशी हुनेहरुको ब्याबहार बाघको र बोली कागको जस्तो हुनेछ । छिमेकीसँगको झगडाले उग्र रुप लिएपछि त्यसैको पीरले बसाईसम्म सार्ने देखिन्छ । अढैयाले नराम्ररी गाँजेकाले सम्पत्ति नासिने र सन्तान भासिने देखिन्छ । सिंह राशी हुनेहरुकी छोरीले पोइ फेर्ने र छोराले जोइ फेर्ने देखिन्छ । त्यसपछिका दिनमा तिनका घरमा महाभारत शुरु भइहाल्छ । नतिजा स्वरुप मेला गएकी छोरी बजारमा भेटिन्छे र बजार गएको छोरो जंगलमा भेटिने अनौठो दशा देखिन्छ ।


कन्या—कन्या राशी हुने कन्याहरुले बन्यासँग झ्याँई पार्नेछन् र सिरक/सना बनाएर जीवन गुजार्नेछन् । त्यसो त दलालको फेला परेर दिल्ली पुग्ने पनि देखिन्छ । कन्या राशी हुनेहरुलाई कसैसँग जग्गा किन्दा शहरको देखाउनेछन् र खोलाको धारमा पार्नेछन् । यो राशी हुनेहरुका ज्वाई गाँजा तान्ने र बुहारी कराँटे हान्ने खालकी पर्नेछिन् । सधियार आधा आली ताछ्ने खालका पर्नेछन् भने छिमेकी दिनै झगडा गर्ने खालका पर्नेछन् । पिउनमा, जिउनमा भन्दा बेसी बल गर्ने भएकाले कन्या राशी हुनेहरुले ‘रियल जुस’ मा मुख नगाड्लान् भन्न सकिन्न ।


तुला— तुला राशी हुनेहरुले सधै ठूला कुरा गर्ने देखिन्छ । लुला मान्छेलाई मान्छे नगन्ने र आफ्नै जोइलाई भान्छे नगन्ने स्वभावले हानी गर्नेछ । परायी नारी र परायी धनमा मन जाने भएकाले प्रगति झन् नहुने देखिन्छ । अर्काकी स्वास्नीले मुस्काउदा, जिस्काउन अघिसर्दा तिनका पोइले बाँङगारा फुस्काउन बेर लाग्ने छैन । दिनै भट्टीको बास हुने र हातमा तास हुने देखिएकाले उठीबास लाग्ने कुरालाई नकार्नु नजाती हुनेछ । यो राशी हुनेहरु अल्छीको राजा हुने भएकाले अल्पायुमै सम्पत्ति आधा हुने देखिन्छ ।

बृश्चिक— बृश्चिक राशीका मान्छेमा महत्वकांक्षाले जरा गाडेर बसेकाले छोटो समयमा छलाङग मार्न खोज्ने देखिन्छ । यसो गर्नाले ‘अल्प विद्या भयंकरम्’ भने जस्तो परिणाम प्रतिकुल निस्किने देखिन्छ । यिनले ‘निरन्तरतामा क्रम भंग’ गर्ने कोशिष गर्नेछन् तर सफल हुने छैनन् र ‘हात लाग्यो शुन्ना’ हुनेछन् । त्यही भएर ‘लुटी ल्याऊ, भुटी खाऊ’ को नितिमा अडिने र जुनीभर जेलमा सडिने कुरालाई कमैले नपत्याउलान् । ‘हरी विजोक’ हुनु अघि होस् गर्नु होला ।


धनु— धनु राशी हुनेहरुले जेसुकै किने पनि डुप्लिकेट पर्नेछ । किनमेलमा महिलालाई अघि लाएर गर्नु होला । लैनु भैंसी थारिने र दुधौलो पाडो मारिने भएकाले गाई किन्नु राम्रो रहनेछ । दिन बिग्रेकाले त्यही गाईले लात्ती हान्ने र खुट्टा बाँध्नु पर्ने हुन सक्छ । असारका बेला हल गोरु मर्ने र अर्को हल किन्नु पर्ने देखिन्छ । त्यही पनि झनझनाउने, हान्ने परिदिने भएकाले औडाहा लागेर खेत कौडाका भाऊमा बेचेर हिंड्नु पर्ने हुन नसक्ला भन्न सकिदैन ।


मकर— मकर राशी हुनेहरुलाई सदाबहार चक्कर लाग्ने र सडकका पेटीमा हिड्दा पनि गाडिको ठक्कर लाग्ने भएकाले खेतैखेत हिड्नु बेश हुनेछ । ब्यापारमा अपार घाटा हुने देखिएकाले कम खर्चमा बढि नाफा हुने सामाग्रीको ब्यापार गर्नु शुभ रहनेछ । नेपालको परिवेशमा ढुंगा, इट्टाका टुक्रा, पुराना टायर आदिको ब्यापार गर्नु लाभदायक हुनेछ । नेपाल बन्द र आन्दोलनका बेलामा समेत हारालुस् बिक्रि हुने भएकाले फिक्रि लिनु पर्दैन । मकर राशी हुनेहरुका छोरा छोरीले मन लाग्दो विहे गर्ने भएकाले विवाह खर्च जोगिने तर स्वास्नी चै रोगिने देखिन्छ ।


कुम्भ— कुम्भ राशी हुनेहरुका दिन कठिन देखिन्छन् । अनायासै नोकरी जाने र बुढेसकालमा ल्याएकी ‘छोकडी’ पनि गरिखाने नपरि दिनाले मनभरि पीरको पोको बोकेर बाँच्नु पर्ने देखिन्छ । ब्याजमा लाएको धन नउठ्नाले मन खिन्न हुने र ब्याबहार छिन्नभिन्न हुने देखिन्छ । ‘लोभले लाभ र लाभले विलाप’ भन्ने उखान यो राशी हनेहरुलाई र्‍याङगको ठयाङग मिल्ने देखिन्छ । यो राशी हुनेहरुलाई यस्तो कालो दिनले छोपेको छ कि ‘डाक्टर बन्न जादा कन्डक्टर’ बनेर फर्किने गरी ।


मिन— मिन राशी हुनेहरुले अमेरिकाका लागि आवेदन दिदा चिनको भिषा पाउनेछन् । मिन राशी हुनेका दिन बिग्रिएकाले ऋणको भारीले किचिक्क हुनेछन् र त्यो ऋण तिर्न नसकेर जूनिभर रुनेछन् । सर्पलाई सपेराको विनले घेरे जसरी मिन राशी हुनेहरुलाई दिनदशाले घेरेको देखिन्छ । कालो खसी र रातो भाले काली मातालाई चढाउ“दा पनि ग्रहदशा नसप्रिने देखिएकाले त्यो जन्झट नगरेकै राम्रो, कानमा तेल हालेर बस्नु जाती । अर्को जुनिमा दिन सप्रिने कुरालाई नकार्न नसकिएकाले युरोपमा पुनर्जन्म नहोला भन्न सकिन्न । ईति ।

चर्चित ढुंगेल
हाल, दोहा, कतार ।
► कृष्णपक्ष थापा ।। अरु ...

Thursday, 5 May 2011

गीत~ धरतीका फूलहरु

धरतीका फूलहरु, बिहानीका शितहरु,
कुन मन्दिर पुग्ने हो, जिन्दगीका गीतहरु ।

भन्छन् फूलको जवानी, एउटा आँखा-नानीमा,
दिल जलेको कहानी, बग्दै जाने पानीमा ।
बिरानो भै जाने त्यो, पिरतीका धुनहरु,
कुन मन्दिर पुग्ने हो, जिन्दगीका गीतहरु ।

चखेवाको मुटुमा, मन्त्र लेख्ने पुझारी,
किन पोत्यौ जिन्दगी, चुक जस्तो अँधेरी ।
रात फुल्ने सितारा, मुर्चुङ्गाका धुनहरु,
कुन मन्दिर पुग्ने हो, जिन्दगीका गीतहरु ।।

-ईन्द्र नारायण चोङ्बाङग
ताप्लेजुंग ।
► कृष्णपक्ष थापा ।। अरु ...

गजल

तिम्रो मेरो कल्पनाको बातै मीठो मीठो
अदृश्य र अदभुतको साथै मीठो मीठो

न भेट्नु छ न देख्नु छ खै किन हो कुन्नि
मायाँ अनि सम्झनाको जातै मीठो मीठो

घरि -घरि होशै उड्ने नशा चढे जस्तै
नपिए'नि पिरतीको मातै मीठो मीठो

बिपनीमा कहाँ कहाँ कोशौ टाढा तिमी
संगै खेल्ने सपनीको रातै मीठो मीठो !!

-इन्द्रा चाम्लिङ 'खुशेनिछो'
हाल, दिल्ली, ईन्डिया ।
► कृष्णपक्ष थापा ।। अरु ...

कवि कुरूपको कविता



–युवराज नयाँघरे

लेख्दालेख्दै डायरी भरिए टन्नै !
कति मात्रै लेख्नु ! के मात्रै लेख्नु !! फेरि नलेखी बस्नै पो सकिन्छ र !!! यस्ता कुराका सिर्कनाले स्वाँट्ठ हान्छन् ।
कवि कुरूप कतार पुगेको पाँच बर्ष नाँघ्यो ।

उनले कविता लेख्न थालेको पनि त्यो भन्दा धेरै भयो । उनको साथी नै भयो अब त डायरी र कविता । उनी फुर्सद मिल्यो कि डायरी पल्टाउन थालिहाल्छन् ।

उनी निकै राम्रा मान्छे हुन् ।
तर उनले आफ्नो नाम साटे । उनलाई लाग्छ, कविहरूले नाम फेरेर कविता लेख्नुपर्छ ।
अरूहरूले पनि सल्लाह दिए – ‘हो त नि ! कविहरूले कविता जस्तै नाम पनि रमाइलो राख्नु पर्छ !’
त्यो बेलादेखि उनले नाम फेरे र राखे – कुरूप !

उनी जतिबेलै कविता गुनगुनाउने गर्ने । फुर्सद पायो कि डायरी पल्टाएर कविता कोर्न थालिहाल्थे ।
‘कविजी ! म त तपाईको कविता निशुल्क सुन्दिनँ ! भए आनन्द आउने झोल नभए पनि मीठो चिया त अनिवार्य !’
कवि कुरूपकोमा आइरहेने दुःखीरामले भन्यो ।

‘तिमी सुन मात्र ! म सब व्यवस्था गरिहाल्छु नि !’
कुरूपले थर्मसबाट चिया खन्याए गिलासमा ।
अनि उनले मच्ची–मच्ची सिलोके कविता सुनाए । उनले भाका हाली–हाली कविता भट्टयाए । उनले लय मिलाई–मिलाई कविता गाए ।
कविता भनिसकेपछि कवि कुरूपले आँखा चिम्ले एकदिन । अनि बिस्तारै आँखा खोल्दै भने – ‘कस्तो लाग्यो मेरो कविता मित्र ?’
‘एकदम बढियाँ छ ।’
‘साँच्चै ?’
‘हो, एकदमै मन छुने खालको छ !’
‘मैले देशका नेताहरूलाई सत्तोसराप गरेको छु नि !’

दुःखीराम र कवि कुरूप बीच अरू थुप्रै कुरा भए । कविताका बारेमा निकै कुरा भएपछि उनीहरू भोलिको ड्युटीमा जानुपर्ने हुनाले छुट्टिए ।

‘कविजी, ओ कविजी !’
गाउँमा उनको यै नाम थियो । उनले पाएको परिचय यहि थियो । उनी सबैका कवि थिए ।
कतारमा यिनी विविध नामले पुकारिन्थे । गार्डको काम पाएथे उनले । अहोरात्र उभिनु पथ्र्याे ।
कवि काका, कवि मामा, कवि दाइ, कवि मित्र अनेक परिचय थियो उनको । तैपनि धेरैजसोले भन्थे – ‘कविजी !’
उनलाई पनि यहि नामले डाकेकोमा सन्तोष लाग्थ्यो । उनी भन्थे पनि – ‘म ठूलो त हैन, सानोतिनो कवि हुँ !’
यसो भनेर उनी अरूप्रति श्रद्धाभाव व्यक्त गर्थे ।

उनले धेरै पढेनन् । पढ्ने अवसर पाएनन् गाउँमा । बुबा बितेपछि घर लथालिङ्ग भो । आमाले तीनजनासँग बिहे गरिन् । उनका जीवनमा ती तीनजना बाउहरूको भिन्नाभिन्नै प्रभाव रह्यो, छाप रह्यो र स्पर्श रह्यो ।
तर ती कसैसँग आमाको जीवन बलियोसँग बाँधिएन । खाली चोट, रोग र रूवाबासी भएर आमाले दिन काट्नु प¥यो ।
सबै बाउहरूले आमालाई एकाध सन्तानको बोझ बोकाइदिए । माया, भरोसा, स्नेह र हार्दिकता दिएनन् । भविष्यको उबडखाबड बाटो दिए, बर्तमानको सम्म सडक दिँदै दिएनन् ।

कविजीलाई यो चोटले खुब मनमा गढेको छ ।
अनि उनी आमालाई सम्झेर मनका उखर्माउला पोखी कविता लेख्छन् । आमाको आँसुले उनलाई नि पोलेको लाग्या छ । त्यसलाई सम्झना गरी कविजीले थुप्रै कविता लेखेका छन् ।
‘कविजी आज गएराती सपनामा आमालाई देखें । तपाईंले कवितामा लेखेको आमा र गाउँमा भएकी आमाको अनुहार उस्तै–उस्तै छ । म आज फेरि त्यै कविता सुन्न आएको ।’
छुट्टीको दिन पारी शुक्रनाथको आवाज सुनियो कविजीको दैलोमा ।
उनीहरू दुवैजना मिली साँझको खानपान राम्रैसँग गरे ।
‘कविजी म त कविता सुन्न आएको ।’
दुवैले एक–एक गिलास दन्काइसकेका थिए ।
‘तिमी समाज भँडुवी भने तिनीहरूले मेरी आमालाई । तँलाई धेरै केटा चाहिने रै’छ भने । मेरी आमालाई गाउँलेले तथानाम भने । सबै बाउहरूले धोकामात्र दिए आमालाई ...... !’
कविजीले आमाको कविता सुनाउनु अघि आमाको मूल्य, मर्म र महत्ता बताए ।

यतिखेर उनका आँखामा आँसु भरिएको थियो ।
आमाको बिषयको कविता उनले तीन पटक अनेक भावभङ्गिमा साथ पढे । उनको कविता सुनेर शुक्रनाथ पनि अमिलो अनुहार पारेर निदायो ।

कविजीको हालत नाजुक थियो । तीन महिनायता पैसा हात परेको थिएन । घरबाट पैसाको खोजी भएको फोन उनलाई निकै पटक आएकै हो । तर उनी कन्तबिजोगको हालतमा थियो । उनी भुटभुटिन्थे मनमनै । उनी खुब छटपटिन्थे ।
यै मनको आगो समेटेर कविता लेखे – ‘निर्धन !’

यो निर्धन कविता धेरैलाई सुनाए । सबैका ताली र स्याबासी उनलाई बर्सिए । उनी अचेल निकै प्रफुल्ल छन् – धन कमाउन नसके नि कम्तीमा लेख्न त सकियो – निर्धन कविता ।

प्रायः छुट्टीमा उनको निर्धन कविता धेरैले सुन्न खोज्छन् । कवि कुरूप चम्की–चम्की सुनाउँछन् – धनको अभाव र श्रम गरिरहेका नेपालीहरूको हालत उतारिएको कविता – निर्धन ।

‘कविजी !’
‘हजुर ! टलकजी !!
‘आज म त कविता सुन्न आएको हैं !’
‘थाहा पाएँ, तपाईलाई फूलमाला कविताले छोएछ । हुन्छ म सुनाइहाल्छु नि मित्र !’

त्यो दिनभरि कविजीले टलकलाई ‘फूलमाला’ शीर्षको कविता तीनचार चोटी सुनाए । उनले अरू निकै कविता पनि सुनाएकै हुन् । तर ‘फूलमाला’ कविता टलकलाई खास मन पथ्र्याे । उनी जहाँ भेटे नि त्यसबारे खैखबरी गरिहाल्थे ।
‘के छ फूलमायाको हालचाल !’

फूलमाला अरू कोही थिइनँ । थिई त कविजीकै मनकी मायालु । गाउँमा गाई चराउँदाकी ऊ साथी थिई । कवि र ऊ दिनभरि बगरमा गाईबाख्रा चराउँथे । उमेर चढ्दै गएर मनमा अनेक फूल र बास्नाको अनुभव दुवैले गर्दैथे । तर तिनमा कुनै दाग, चोट र छोइछिटो भएको थिएन । आँखा मन र धुकधुकीमा सीमित थियो ।

आफू कतार जाने अघिल्लो दिन बल्ल फूलमायाले आँफैले बुनेको गलबन्दी दिएर जाँदै गर्दा भनिथी – ‘फेरि भेट होला र ......!’

अब बल्ल थाहा भो कविलाई – ‘ए, त्यो ठूला आँखीभौं गरेकी केटीले त मन पो पराउँदी रैं’छ ।’
तर समयको छाल हुत्तिएर धेरै पर गइसकेको थियो । धेरै रात बिति सकेका थिए । धेरै बिहान यो पृथ्वीका हरेक कुनामा आइसकेका थिए ।

कवि कुरूपले त्यो गोठालो छँदाकी रूपसीलाई बिर्सन सकेन । अनि लेख्यो कविता – फूलमाला ।
त्यै फूलमाला कविता धेरैको मनको आवाज बन्छ । धेरैको धुकधुकीको स्पर्श भएछ । धेरैको हृदयको कम्पन बन्न पुगेछ ।
अनि यसो सानोतिनो खानपिनको आयोजना भयो कि भनिहाल्थे केटाहरू – ‘कविजी, फूलमाला सुनाउँनु न ।’
समयको छाल आइरहेछ । गइरहेछ त्यत्तिकै । कविको कविता लेख्न घटेको छैन । लेख्यो डायरीमा अनि थन्कायो । फुर्सदमा यसो मिलायो अनि आफैं पढ्यो र फेरि जतनले थन्कायो ।
कवि, खुव लेख्छन् कविता ।

उनलाई कहिलेकाँही पीर पर्छ । यसलाई छाप्न पाए हुन्थ्यो ! धेरै ठूलो समारोहमा भट्याउन पाए हुन्थ्यो !! यसलाई ठूलाठूला मान्छेहरूका माझमा सुनाउन पाए हुन्थ्यो ।

तर यो बाह्र घण्टा ढोकामा उभिइरहने जागिर पाएको कवि कुरूपलाई त्यो महान अवसर कहाँ छ र ? यो परदेशिएको गरीब कविलाई त्यो भव्य चानस कसरी आउला र ?

अचेल त घर परिवार बाहेक धेरै कुरालाई लिएर उनले कविता लेखेका छन् । खुब लेख्छन, उनी कविता गजल र गीतहरू ।
सुन्ने सबै पुराना साथीले यो ठाउँ छोडिसके । कविजीका श्रोता छँदै छैनन् । उनका कविता सुनाउन लगाउने उनका हितैषी सबै अर्कै शहरमा सारिएका छन ।

अचेल कविले ठूला–ठूला सेता पानामा कविता लेखी भित्तामा टाँसेका छन् । उनलाई लागेको छ –‘सुनाउन नपाए पनि कसै न कसैले त यी मेरा मनका आँधी थाहा पाउलान् ।’
माड दलेर कवि टाँस्दैछन् भित्तामा कविताका पाना !


yrnayaghare@gmail.com
► कृष्णपक्ष थापा ।। अरु ...

Wednesday, 4 May 2011

कविता~ शिलान्यास

आउ तिम्रा दुर्गम हातहरुले
छातिका पटाङ्गीमा
मनको सुन्दर भवन निर्माणार्थ
भावनाका शिला राखेर शिलान्यास गर
म परेलीका हत्केलाले ताली वजाउला
माटो मुच्छन,
सकेजती आशु र पसिना निचोरुला ।

उद्वेगमा विरानी तिर
अलिकती खुसी फुल्यो त के फुल्यो
थोरै सुख हांस्यो त के हाास्यो
यता सिरानी निर
सधै सूर्ताको सांझ टरेको छ
चिन्ताको रात परेको छ
घरको घुरी हुदै
प्रतिक्षाका कैयन घाम डुबेको छ
आउ वरु यीनै खाकाहरुमा
निर्माणका कुनै आधारभूत सुत्र खोजौ
करेसाको डिल धस्कनै लागेको छ ।

फर्काउ यतै बरु तिम्रा दूरगामी आंखा
लगनशील मन,
अविराम परिश्रम,
निश्छल निमेक को सोझो बैंश
यहाा बैसाकले
साकेला, स्यांदर, चासुवा र चासोक
ननाचेको धेरै भयो
उमेरका विनायो मूर्चुङ्गाले
रहरको भाका नफेरेको धेरै भयो
आउ बरु सद्भावको डम्फू र टुङ्गनामा
प्रेमको सेलो गाउला,
पि्रतीको सेव्रु नाचौंला
स्वाभिमानको मादल ठोक्दै
ससम्मान रोदीमा
आत्मासम्मानको टप्पा गाउला
आत्मागौरवको सोरठी नाचौंला
छिटोगर, रोदीघर रित्तिनै लागेको छ ।

सोहोर र सम्हाल,
पग्लेको पलायन मन
एकमुष्ट वटुल छरपस्ट जीवन
परिश्रम पखालेर विसुद्ध पसिनाले
थमाउ एउटा नौलो आगत रित्ता कांधहरुमा ।
आउ
बगाउा पसिनाका धार सेतीको सतह छुनेगरी
उचालौं कर्मको शिखर माछापुछ्रेकै हाराहारी हुनेगरी
टिपेर घाम जुन सगरमाथाको सिरबाट
छरौं उज्यालो पाखैभरी फांटैभरी
मिसाएर मन सप्तगंडकी र सप्तकोशी झैं
सिंच्याउ एकता सेरोफेरो माटैभरी
होस राख
धुरीबलो लच्किसकेको छ
मूलथाम ढल्किसकेको छ
यसैले तिमी आउ
तिम्रो दुर्गम हातहरुले छात्तिको पटांगीमा
मनको सुन्दर भवन निर्माणार्थ
भावनाको शिला राखेर शिलान्यास गर
परेलीका हत्केलाले ताली ठोक्दै
माटो मुछ्न
भएभरकै आंसु र पसिना निचोरुंला म ।

अतित मुखिया
काठमाडौं ।



.
► कृष्णपक्ष थापा ।। अरु ...

गीत~ हाम्रो सगरमाथा

भूल्ने छैनौ कहिले पनि पुर्खाको त्यो विर गाथा,
जब सम्म अटल हुन्छ शीर हाम्रो सगरमाथा ।

सयौं खोला नदी-नाला झरनाको देश हाम्रो,
अनेक थरी भाषा-भाषी एउटै छ भेष हाम्रो ।
भूल्ने छैनौ कहिले पनि नालापानी यूद्धकथा,
जब सम्म अटल हुन्छ शीर हाम्रो सगरमाथा ।

हरियाली डाँडाकाडा गुँरास फूल्ने पखाहरु,
मनै छुने सोरठी र देउडाका ति भाकाहरु ।
भूल्ने छैनौ कहिले पनि मारुनीको मिठो भाका,
जब सम्म अटल हुन्छ शीर हाम्रो सगरमाथा ।

भूल्ने छैनौ कहिले पनि पुर्खाको त्यो विर गाथा,
जब सम्म अटल हुन्छ शीर हाम्रो सगरमाथा ।।

नवीन लामा `सुरेश`
पृथ्वीनगर १ झापा, नेपाल ।
हाल, दोहा, कतार ।
► कृष्णपक्ष थापा ।। अरु ...

बसन्त बनी आयौ तिमी ...



बसन्त बनी आयौ तिमी जिन्दगीमा
बहार बनी छायौ तिमी जिन्दगीमा

डुबेकोथेँ आँशुभित्र हाँस्न सिकायौ
हारेकोथेँ जीवनदेखी बाँच्न सिकायौ
खुशीयाली भै आयौ तिमी जिन्दगीमा
बहार बनी छायौ तिमी जिन्दगीमा
बसन्त बनी....

अन्धकारको गोरेटोमा दीप जलायौ
जीवन दिने अमृत बनी तिमी सल्बलायौ
मुस्कान बनी आयौ तिमी जिन्दगीमा
बहार बनी छायौ तिमी जिन्दगीमा
बसन्त बनी आयौ तिमी ...


रचनाकाल: 25/7/2057
दीप्स शाह
deepssanu@gmail.com
► कृष्णपक्ष थापा ।। अरु ...

Tuesday, 3 May 2011

गजल - राजेन्द्र मल्ल




सपना नि के के देखें चितामाथि हाँसीरा'थें ।
रुँदै थिए आफ्नाहरु मचैं फेरि नाचिरा'थें ॥

हरे ! बास बैकुण्ठको राम नाम सत्य भने ।
लाश देखे अरुलेचैं मचैं फेरि बाँचिरा'थें ॥

आँशु पुछ्दै बिदा दिए हामी घर फर्क्यौं भने ।
माया मारे सबैले नै मचैं प्रेम साँचिरा'थें ॥

दानी मान्छे भन्या सुनें कस्तो नामी पनि भने ।
लिनु पर्ने कति भनी मचैं औंला भाँचिरा'थैं ॥

राजेन्द्र मल्ल
► कृष्णपक्ष थापा ।। अरु ...

Monday, 2 May 2011

परदेशिएकी आमा

सीता बराल
लिसवोन, पोर्चुगल


बाबु बहिनी लाई लिएर छिटै खाना खान आउ । पल्लो घरको आगनबाट गुरुप्रसादकी काकीले बोलाईन । गुरुप्रसादका बा रामनाथ विहान सबेरै बाहिर जानु परेको कुरा हिजो बेलुका नै भइसकेका थिए । त्यसैले आज उनीहरुलाई काकीले खाना खान बोलाएकी हुन् । गुरुप्रसादको घर नजिकैका सडकका पसलहरुमा बिहानै देखि मानिसहरुको धेरै भिड लागेको छ । केटाकेटी देखि ठूलाठूला मानिसहरु आमालाई दिन भनि धेरै थरिका मिठाईहरु रोज्दैछन् । त्यो भिडमा रुविनाले आफ्नी साथी सानीलाई देखिन । उनकी आमाले सानीले रोजेको मिठाइ किनिदिन्छिन । सानीले आमालाई बस्न लगाएर आँखा चिम्म गर्न लगाउछे । सानीकी आमाले उनले भनेजस्तै गरि आँखाचिम्म गर्छिन, मुख आँ गर्न भन्छे । छोरीको खुसीको लागी उनले त्यसै गरिरहन्छिन । सानीले भर्खरै किनेको मिठाईको पोकाबाट पेडा झिकेर आमाको मुखमा राखीदिन्छे । सानीकी आमाले माया गरेर गालामा टास्दै काखमा बसाल्छिन । गुरुप्रसाद र रुविनालाई नदेखे जस्तै गरी उनीहरुको अगाडी बाट जान्छिन । त्यो बाटो आउदा उनीहरुको आमाको बारेमा सोधेर जाने सानीकी आमा आज वास्तै नगरी गएको देखेर गुरुप्रसाद र रुविना केही नबोली एकोहोरो हेरिरहे ।
गूरुप्रसाद लाई उनकी आमा सरलाको सम्झना आयो । बहिनी रुविना सानै थिइन उनकी आमा परदेश लाग्दा । उनलाई सम्झाउदै आमा सरलाले बहिनी सानै हुनाले सबैको मायाले गर्दा उ जिद्धी पनि छ । उसलाई कहिल्यै पनि गाली नगर्नु र मैले भने जस्तै माया गर्नु है बाबु भनेकी थिइन । गुरुप्रसादले आमा परदेशिनुको कारण र घरको अवस्थाको बारेमा धेरै नै बुझिसकेका थिए । त्यसैले गर्दा उनले आमाले फोनमा कुरा गर्दा आमा नहुदा वरपरका आफन्तहरुले गरेका व्यवहार, पाएका दुःख र मनलागेका कुराहरु चाहेर पनि भन्न सकेका थिएनन् । आमा परदेश लागेको लामो समय भईसक्दा पनि रुविनाले सधै दाइसंग आमाको बारेमा केही न केही कुराहरु गरिरहन्छीन । गाँउमा ठूलो भोजभतेर हुँदा, वरपर विवाह वा केही पर्व परेको बेलामा आफ्ना साथीहरु सबै आमाको साडी समाउदै रमाउदै हिडिरहदा रुविनाले दादा हाम्रो पनि आमा भएको भए हामी त्यसै गरि हिड्ने थियौ है भन्ने गर्थिन । पहिला का बर्षहरुमा प्रत्येक हप्तामा फोन गर्ने उनीहरुकी आमाको फोन शुन्य भएको छ । गुरुप्रसादकी आमा सानो घरलाई ठूलो बनाएर सुख शान्त संग परिवार संग बस्ने सपना बाडेर परदेश लागेकी थिइन । विच विचमा फोनमा कुराहरु हुँदा सरला घर आउने, गुरुप्रसादले भनेजस्तै गरि धेरै साथीहरु बोलाएर बर्तबन्ध धुमधाम संग गरिदिने र अब कहिल्यै उनीहरुलाई छाडेर नजाने कुराहरु गर्थिन । रामनाथले परिवारीक सुखको लागी आफ्ना मुटुका टुक्रा सन्तानहरुलाई हुर्काउदै गरेकी आमा सरलालाई उनीहरुबाट टाढा रहन बाध्य भएका कुराहरुले सारै मन दुख्थ्यो । आमाको मायाको अभाव महशुस नहोस भनेर रामनाथले उनीहरुका इच्छाहरु पुर्याउदै आएका थिए । तर पनि रामनाथले गुरुप्रसाद र रुविनाले आमासंग जस्तै खुलेर मनलागेको कुराहरु मागेको अनुभव कहिल्यै गर्न सकेनन् ।

पुष माघ महिनाको कठ्याग्रीने जाडो, मिरमिरे उज्यालो हुदै थियो । पल्ला घरका ठूलाबा आएर गुरुप्रसाद लाई फकाउदै उठाए । बाबा संग सुतेकी रुविनालाई केही थाहा थिएन । गाउकी काकीले डालोमा सामानहरु तयार गरेर ठिक्क पारीसकेकी थिइन । ठूला बा ले डालो बोकेर गुरुप्रसादलाई हातमा डोर्याउदै मन्दिर तिर लगे । रामनाथ पिढीमा टोलाएर बसिरहेका थिए । गुरुप्रसाद लाई आफुलाई पल्लाघरका ठूलाबाले किन राती नै उठाएर मन्दिर लगे भन्ने केही थाहा थिएन । मन्दिरमा गाउलेहरु जम्मा भईसकेका रहेछन् । गुरुप्रसादलाई फकाउदै उनको बर्तबन्ध गरिदिए । बर्तबन्ध पछि मात्र गुरुप्रसादलाई थाहा भयो उनकी आमा सरला अब कहिल्यै फर्केर आउने छैनन । हिन्दु सस्कार अनुसार आमालाई पिण्ड दिनको लागी उनलाई वर्तवन्ध गरिएको थियो । आमा सरलाले भनेको समयमा उनको बर्तबन्ध त भयो तर त्यहा आमाले फोनमा भनेजस्तै साथीहरु बोलाएर धुमधाम संग गर्न पाएनन् । उनकी आमा कहिल्यै फर्केर आईनन् । गुरुप्रसाद लाई उनकी आमाले छाडेर परदेश जाने बेलाको मधुरो स्वर र धमिलो छाँया अगाडी आइरह्यो । उनलाई यि सबै कुराहरु सपना जस्तै लागी रहेको थियो ।

रुविनाले आफुले टिका लगाएर जम्मा गरेका पैसाहरु लिएर पसलमा गईन र रातो टिका किनेर ल्याइन । गुरुप्रसाद लाई हातमा समाउदै पुजा कोठामा लगीन । गुरुप्रसाद केही नबोली बहिनीले भनेको ठाँउमा पुगे । त्यहा उनीहरुले आमा परदेश गएपछि आएका आमाऔसीमा आमाको लागी किनेर राखीदिएको श्रृगारका तिनवटा पोकाहरु थिए । बहिनी रुविनाले ल्याएको टिका त्यही राखीदिईन । रुविनाले आमा सरलाको लागी प्यारा छोराछोरीले राखीदिएको उपहार कहिल्यै प्रयोग नगर्ने गरि भगवानको साथ गएको कुरा अझै पनि बुझेकी थिइनन । पहिलेको बर्ष जस्तै गरि आमाको लागी भनेर त्यही राखीदिइन । गुरुप्रसाद ले आमा आएपछि उनका लागी राखीदिएको उपहारले कति खुशी हुन्छिन होला भन्ने सोच्दै पोहोरको औसीमा आमालाई मन पर्ने गुलावी रंगको चुरा,पोते किनेका थिए । गुरुप्रसादले आमालाई राखीदिएका उपहारका पुराना पोकाहरु हेरिरहे । खाना खान बोलाएको काकीको चर्को स्वरले उनी झस्कीए । रुविना लाई बोलाएर जादा काकीले आफ्ना छोराछोरीलाई लिएर मामा घरमा जानको लागी तयार पारी सकेकी थिइन । गुरुप्रसाद र रुविना केही नबोली खाना खाएर बाबा रामनाथ लाई कुरेर पिढीमा बसीरहे ।


समाप्त

► कृष्णपक्ष थापा ।। अरु ...

गीत~ तिमीसँगै यात्रा गर्ने



दुईदिनको जिन्दगीमा यो मनले तिम्लाई चुन्यो,
तिमीसँगै यात्रा गर्ने यो आँखाले सपना बुन्यो ।

तिम्रो मेरो नाता जोड्ने त्यस्तो कुनै मन भए,
त्यो मनलाई देव सम्झि सधै सधै पूज्ने थिए ।
तिमीमात्र मेरो आफ्नो यो मनले यस्तै सुन्यो,
तिमीसँगै यात्रा गर्ने यो आँखाले सपना बुन्यो ।

तिम्रो यादमा कयौ पल्ट आफू एक्लै रुँदै बसे,
आफ्नै रहर बैरी बन्दा छाँगाबाट कति खसे ।
अर्कैतिर धाउन खोज्दा यो मनले बाटो थुन्यो,
तिमीसँगै यात्रा गर्ने यो आँखाले सपना बुन्यो ।।

रचनाकाल : १८ बैशाख २०६८
दोहा, कतार ।

► कृष्णपक्ष थापा ।। अरु ...

गजल

छल्की दिन्छ आँखाभरी, पिरतीको यो तिर्सना ।
झनै सुन्दर देखिन्छु म, नयन मोती भो गहना ।।

पाइलाको डोब मेट्दै भुलि हिँडे कता कता ।
छुटाउन चाहन्न म ज्यानै लिने यो मुर्छना ।।

ईन्द्रेणीको रहर गर्ने आँखा पनि कति सोखिन् ।
तर चश्मा फेर्दा पनि बेरंगी नै छ सपना ।।

काँडै काँडा छाम्दै हिँड्छु फूलै फूलको बगैँचामा ।
बसन्त नै छाउँदा पनि बिझाउने छ सम्झना ।।

-सबिन सिंह
काठमाडौं ।
► कृष्णपक्ष थापा ।। अरु ...