Monday, 2 May 2011

परदेशिएकी आमा

सीता बराल
लिसवोन, पोर्चुगल


बाबु बहिनी लाई लिएर छिटै खाना खान आउ । पल्लो घरको आगनबाट गुरुप्रसादकी काकीले बोलाईन । गुरुप्रसादका बा रामनाथ विहान सबेरै बाहिर जानु परेको कुरा हिजो बेलुका नै भइसकेका थिए । त्यसैले आज उनीहरुलाई काकीले खाना खान बोलाएकी हुन् । गुरुप्रसादको घर नजिकैका सडकका पसलहरुमा बिहानै देखि मानिसहरुको धेरै भिड लागेको छ । केटाकेटी देखि ठूलाठूला मानिसहरु आमालाई दिन भनि धेरै थरिका मिठाईहरु रोज्दैछन् । त्यो भिडमा रुविनाले आफ्नी साथी सानीलाई देखिन । उनकी आमाले सानीले रोजेको मिठाइ किनिदिन्छिन । सानीले आमालाई बस्न लगाएर आँखा चिम्म गर्न लगाउछे । सानीकी आमाले उनले भनेजस्तै गरि आँखाचिम्म गर्छिन, मुख आँ गर्न भन्छे । छोरीको खुसीको लागी उनले त्यसै गरिरहन्छिन । सानीले भर्खरै किनेको मिठाईको पोकाबाट पेडा झिकेर आमाको मुखमा राखीदिन्छे । सानीकी आमाले माया गरेर गालामा टास्दै काखमा बसाल्छिन । गुरुप्रसाद र रुविनालाई नदेखे जस्तै गरी उनीहरुको अगाडी बाट जान्छिन । त्यो बाटो आउदा उनीहरुको आमाको बारेमा सोधेर जाने सानीकी आमा आज वास्तै नगरी गएको देखेर गुरुप्रसाद र रुविना केही नबोली एकोहोरो हेरिरहे ।
गूरुप्रसाद लाई उनकी आमा सरलाको सम्झना आयो । बहिनी रुविना सानै थिइन उनकी आमा परदेश लाग्दा । उनलाई सम्झाउदै आमा सरलाले बहिनी सानै हुनाले सबैको मायाले गर्दा उ जिद्धी पनि छ । उसलाई कहिल्यै पनि गाली नगर्नु र मैले भने जस्तै माया गर्नु है बाबु भनेकी थिइन । गुरुप्रसादले आमा परदेशिनुको कारण र घरको अवस्थाको बारेमा धेरै नै बुझिसकेका थिए । त्यसैले गर्दा उनले आमाले फोनमा कुरा गर्दा आमा नहुदा वरपरका आफन्तहरुले गरेका व्यवहार, पाएका दुःख र मनलागेका कुराहरु चाहेर पनि भन्न सकेका थिएनन् । आमा परदेश लागेको लामो समय भईसक्दा पनि रुविनाले सधै दाइसंग आमाको बारेमा केही न केही कुराहरु गरिरहन्छीन । गाँउमा ठूलो भोजभतेर हुँदा, वरपर विवाह वा केही पर्व परेको बेलामा आफ्ना साथीहरु सबै आमाको साडी समाउदै रमाउदै हिडिरहदा रुविनाले दादा हाम्रो पनि आमा भएको भए हामी त्यसै गरि हिड्ने थियौ है भन्ने गर्थिन । पहिला का बर्षहरुमा प्रत्येक हप्तामा फोन गर्ने उनीहरुकी आमाको फोन शुन्य भएको छ । गुरुप्रसादकी आमा सानो घरलाई ठूलो बनाएर सुख शान्त संग परिवार संग बस्ने सपना बाडेर परदेश लागेकी थिइन । विच विचमा फोनमा कुराहरु हुँदा सरला घर आउने, गुरुप्रसादले भनेजस्तै गरि धेरै साथीहरु बोलाएर बर्तबन्ध धुमधाम संग गरिदिने र अब कहिल्यै उनीहरुलाई छाडेर नजाने कुराहरु गर्थिन । रामनाथले परिवारीक सुखको लागी आफ्ना मुटुका टुक्रा सन्तानहरुलाई हुर्काउदै गरेकी आमा सरलालाई उनीहरुबाट टाढा रहन बाध्य भएका कुराहरुले सारै मन दुख्थ्यो । आमाको मायाको अभाव महशुस नहोस भनेर रामनाथले उनीहरुका इच्छाहरु पुर्याउदै आएका थिए । तर पनि रामनाथले गुरुप्रसाद र रुविनाले आमासंग जस्तै खुलेर मनलागेको कुराहरु मागेको अनुभव कहिल्यै गर्न सकेनन् ।

पुष माघ महिनाको कठ्याग्रीने जाडो, मिरमिरे उज्यालो हुदै थियो । पल्ला घरका ठूलाबा आएर गुरुप्रसाद लाई फकाउदै उठाए । बाबा संग सुतेकी रुविनालाई केही थाहा थिएन । गाउकी काकीले डालोमा सामानहरु तयार गरेर ठिक्क पारीसकेकी थिइन । ठूला बा ले डालो बोकेर गुरुप्रसादलाई हातमा डोर्याउदै मन्दिर तिर लगे । रामनाथ पिढीमा टोलाएर बसिरहेका थिए । गुरुप्रसाद लाई आफुलाई पल्लाघरका ठूलाबाले किन राती नै उठाएर मन्दिर लगे भन्ने केही थाहा थिएन । मन्दिरमा गाउलेहरु जम्मा भईसकेका रहेछन् । गुरुप्रसादलाई फकाउदै उनको बर्तबन्ध गरिदिए । बर्तबन्ध पछि मात्र गुरुप्रसादलाई थाहा भयो उनकी आमा सरला अब कहिल्यै फर्केर आउने छैनन । हिन्दु सस्कार अनुसार आमालाई पिण्ड दिनको लागी उनलाई वर्तवन्ध गरिएको थियो । आमा सरलाले भनेको समयमा उनको बर्तबन्ध त भयो तर त्यहा आमाले फोनमा भनेजस्तै साथीहरु बोलाएर धुमधाम संग गर्न पाएनन् । उनकी आमा कहिल्यै फर्केर आईनन् । गुरुप्रसाद लाई उनकी आमाले छाडेर परदेश जाने बेलाको मधुरो स्वर र धमिलो छाँया अगाडी आइरह्यो । उनलाई यि सबै कुराहरु सपना जस्तै लागी रहेको थियो ।

रुविनाले आफुले टिका लगाएर जम्मा गरेका पैसाहरु लिएर पसलमा गईन र रातो टिका किनेर ल्याइन । गुरुप्रसाद लाई हातमा समाउदै पुजा कोठामा लगीन । गुरुप्रसाद केही नबोली बहिनीले भनेको ठाँउमा पुगे । त्यहा उनीहरुले आमा परदेश गएपछि आएका आमाऔसीमा आमाको लागी किनेर राखीदिएको श्रृगारका तिनवटा पोकाहरु थिए । बहिनी रुविनाले ल्याएको टिका त्यही राखीदिईन । रुविनाले आमा सरलाको लागी प्यारा छोराछोरीले राखीदिएको उपहार कहिल्यै प्रयोग नगर्ने गरि भगवानको साथ गएको कुरा अझै पनि बुझेकी थिइनन । पहिलेको बर्ष जस्तै गरि आमाको लागी भनेर त्यही राखीदिइन । गुरुप्रसाद ले आमा आएपछि उनका लागी राखीदिएको उपहारले कति खुशी हुन्छिन होला भन्ने सोच्दै पोहोरको औसीमा आमालाई मन पर्ने गुलावी रंगको चुरा,पोते किनेका थिए । गुरुप्रसादले आमालाई राखीदिएका उपहारका पुराना पोकाहरु हेरिरहे । खाना खान बोलाएको काकीको चर्को स्वरले उनी झस्कीए । रुविना लाई बोलाएर जादा काकीले आफ्ना छोराछोरीलाई लिएर मामा घरमा जानको लागी तयार पारी सकेकी थिइन । गुरुप्रसाद र रुविना केही नबोली खाना खाएर बाबा रामनाथ लाई कुरेर पिढीमा बसीरहे ।


समाप्त

0 comments:

Post a Comment