
साँझ हुने तर्खर छ,
उद्यानमा छु म
अबोध केटाकेटीहरु लुकामारी खेल्दै छन्
मिठो मुस्कान छताछुल्ल पोखिएको छ ओठभरी
कुनै सन्ताप छैन, पीर छैन, दु:ख छैन
निश्चल छ आँखाहरु
आफ्नै धुनमा
रमाईरहेछन् केटाकेटीहरु
एक बालिका मेरो छेवैमा छिन्,
उनी मेरी छोरी,
जिज्ञाशाहरुको पोको बोकेर ऊ
मेरो आखाँमा आखाँ जुधाएर सोधिरहेछ
यो के हो?
फूल हो छोरी
ए !
कसरी यस्तो भाको ?
कोपिला फुलेर,
हो र! कोपिला ! खै? कस्तो हुन्छ कोपिला ?
म कोपिला देखाउँछु
फेरि सोध्छे-फूल किन फुलेको ?
कसरी रातो भयो ?
के गर्ने ?
म उनलाई उत्तर दिने प्रयास गर्छु
उ बारम्बार एउटै प्रश्न तेर्साउँछे
यो के हो ?
कसरी ?
किन?
के गर्ने ?
किन रातो ?
किन पात हरियो ?
किन पुतली आएको ?
कमिला किन फूलको बोटमा आएको?
कमिलाले के लगेको ?
कहाँ बस्छ ?
स्कूल जान्छ ?
म उसलाई सम्झाउन खोज्छु
फेरी उहि प्रश्नको पुनरावृत्ति हुन्छ
म उसलाई बोकेर अर्को छेउमा लिएर जान्छु
अरु केटाकेटी उसैगरी रमाईरहेछन्
मस्त छन्, आफ्नै खेलमा,
तारा बाजी लै लै,
बा बा ब्ल्याक शीप,
ट्इङकल ट्इङकल,
चिं मुसी चिं,
तल्ली बजार,
काफल गेडी,
भिन्न भाषा, भिन्न लय
म उसलाई बाल लोलीहरुमा अल्मल्याउन खोज्छु,
उसको प्रश्न फेरि पनि उस्तै छ,
त्यो के हो ?
बादल,
उडेको छ नि, कसरी ?
किन कालो सेतो भाको ?
म हैरान छु
आकाश चिर्दै धर्तीमा लाली पोख्दै गरेको सूर्य
पश्चिम भाग्दै छ,
लगभग उ अब डाँडा पारि छ,
डुब्नै लाग्यो,
लौ है डुब्यो पनि
ऊ फेरि जिज्ञासु बन्छे
घाम कहाँ गएको ?
नुनु गर्न गएको,
नुनु! मुसुक्क हाँस्छे ऊ,
घामले बुबु पनि खान्छ ?
म अनुत्तरित छु, भुतुक्कै भाको छु म
पश्चिम आकाशको रंग बदलियो
अघिसम्म सेतो थियो,
अहिले रातो भयो,
उसको जिज्ञासा यथावत छ
रगत आयो नी,
म झस्किन्छु,
छोरीलाई केहि भो कि भनेर,
ऊ आकाश देखाउँछे,
घामलाई कस्ले काट्यो बुबा ?
हेर्नु त रगत आको,
ऊ फेरि रातो आकाश देखाउँछे
हजुरले अस्ति राती भाले काटेको थियो नि,
उ तेस्तै रगत आयो,
भन्नु न बुबा घामलाई कस्ले काटेको ?
अब भोली विहान घाम आउँछ ?
भन्नु न बुबा भोली घाम आउँछ ?
म जेष्ठ १५ गते सम्झिन्छु
म मेरी छोरी र ति केटाकेटीको
भविष्य सम्झिन्छु र
आफैं बक्बकाउँछु
जेष्ठ १५ गते घाम उदाउँछ ?
राजेन्द्र मल्ल
निलकण्ठ-१, धादिङ बेंशी
हाल काठमाडौं
0 comments:
Post a Comment