
मायालु त्यो बोली भित्र कति ठुलो घात रैछ
सुम्सुम्याउँदै गला रेट्ने कस्तो पापी हात रैछ ।
बुद्ध खुशी हुन्थे होला तिम्रो दर्शन सुन्न पाए,
यथार्थमा त्यो त मान्छे फँसाउने बात रैछ ।
सारी चोलो लत्याएर बियर तान्दै मात्तिएर
दिउँसै रात पार्न खोज्ने जँड्याहाको जात रैछ ।
मग्मगाउने वरिपरि सुन्दर फूलबारी देखि
पाइला टेक्दा दलानमा दुर्व्यसनको खात रैछ ।
डर धम्की दिंदै अझै, छेउ तान्ने कोसिस् तिम्रो
अरु केही नभएर ठूलो पदको मात रैछ । ।
0 comments:
Post a Comment