Wednesday, 13 July 2011

भानुभक्तलाई पनातीको चिठी


झट्टै आउनु होला है जिज्यू हजुर बा!
पदम भण्डारी



आदरणिय जिज्यू हजुर बा!
आराम छु आराम चाहान्छु
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

तपाईंका पाला
लोकतन्त्र ल्याउन चाहनेहरूको सिलो खोज्नु पर्थ्यो,
तर अहिले सिद्धान्तमा मात्रै भए पनि
सबै लोकतान्त्रिक भएका छन्
जनताका नाममा लोकतन्त्रको लाभांश लिन
अवसरबादीहरू लागेका छन्
म मा पनि ईच्छा शक्ति छ,
म म्याद सकिएको ओखती जस्ता भएको छैन
धेरै अप्ठेरा र काँढाघारीहरू छिचोलेर भए पनि
अनिंदोले कक्राएको जीउ तन्काउँदै,
आँखा मिच्दै,
दु:खका आँसुहरू चुहाउँदै,
साँझले बटुलेको अध्यारोलाई छाम्दै
देशलाई लुट्न मैले पनि काँध थापेको छु
बिकृत्ति र बिसंगती फैलाउन मलाई पनि रहर लागेको छ ।
त्यसैले जिज्यू हजुर बा
प्यारो पनातीको मर्मलाई बुझेर
चित्त नदुखाई
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!






जिज्यू हजुर बा!
अब त शहरहरू पनि रमाईला भएका छन्
गाउँमा स्कुल नचले पनि शहरमा नाईट क्लब चलेका छन्
गाउँकी सीता, रीता र संगिताहरू
लुसुक्क शहर पसेका छन्
उनीहरूको ब्यापार राम्रै फस्टाएको छ
रिक्शा चलाउने, जुत्ता सिलाउनेहरूले पनि
पेस्तोल भिर्न थालेका छन्
देशभरी रडाको मच्चिएको छ
संबिधान, कानुन, बिधिको बिधान केहि छैन
कुसंस्कार र कुरीति मौलाएको छ
जसको शक्ति उसको भक्ति छ
जसले जति भकुर्न सक्यो भकुरे हुन्छ
त्यसैले
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

बनले ओगटेको ठाउँ थियो नी जिज्यू हजुर बा!
सुकुम्बासीका नाममा ठूलाबडाले ओगटेका छन्
पिउने पानीको कुवामा
कमिलाको गुँड र माकुराको जालो बनेका छन्
झगडा गर्न नसक्नेहरू
डेढ घण्टा गाग्री बोकेर पानी लिन खोला झर्छन्
खोलाको पानीबाट बिजुली निकाल्न
जनताले श्रमदान गर्छन्
पछि ठेकेदारले बील बनाएर खान्छ
भ्रष्टाचारीलाई खोज्नेहरू पनि कोहि छैनन्
यस्तो रमाईलो ठाउँमा नबसेर
त्यहाँ एक्लै के बस्नुहुन्छ?
त्यसैले
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

जिज्यू हजुर बा!
अहिले त सबैभन्दा मोज कर्मचारीहरू र जागीरेहरूलाई छ
कर्मचारीको तलब बढ्दैछ, भत्ता बढ्दैछ
सरकारी ढुकुटीमा धेरै जनाको पहुँच छ
बिकासको बजेट तलब भत्तामा सारेर खाए हुन्छ
बिकास बाँडेर खानेहरूको चहलपहल छ
बिकासे बजेट लुट्न पाईने ठाउँमा बसे पो मजा हुन्छ
बिकासमा सहयोग गर्ने दातृ राष्टहरू पनि
भ्रष्टाचारी बनेर रकम कुम्ल्याउँछन्
भ्रष्टाचारीहरू पनि लोकतन्त्रबादी भएका छन्
त्यति मात्र होईन,
सदरमुकामतिर बस्ने सुबिधाभोगीहरू
सबै बिकास प्रेमी भएका छन्
यस्तो मोजमस्ति छोडेर
त्यहाँ एक्लै बस्ने दुष्प्रयास नगर्नु है
त्यसैले,
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

जिज्यू हजुर बा!
सरकार काठमाण्डौंमा छ
सात दलहरू जिल्ला सदरमुकाममा छन्
माओबादीहरू गाउँमा छन्
संबिधानसभाको चुनाब हुने हल्ला छ
सबैलाई धेरै मान्छे चाहिएको छ
सबैको संवेदनशिलता हराएको छ
मान्छे थुपार्ने होड चलेको छ
हामी जता मन लाग्यो त्यतै डुले हुन्छ
यो बेला जुन पार्टीको झण्डा बोके पनि
ठूलै कान्तिकारी भईन्छ
मजा लिने अनेकौं तरिका हुन सक्छन्
मैले त यहिं अच्छा देखेको छु, मजा ठानेको छु
त्यसैले,
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

जिज्यू हजुर बा!
ठूलो पदमा बस्नेहरू, धेरै रकम हसुर्नेहरू
तानाशाहहरु हुन्
तानाशाहहरुको सपनामा इन्द्रेणी हुँदैन
उनीहरू एकै रङ अर्थात कालो सपना देख्छन्
सपना कालो देख्नेहरूको मन पनि कालै हुन्छ
कालो मन हुनेहरूको सोंच पनि कालै हुन्छ
घुम्ने कुर्सी माथि अन्धो मान्छे सरह बसेका छन्
व्यक्तिवादी प्रवृत्तिले जरा गाडेको छ
सक्षम र सिपयुक्त व्यक्तिहरू निरिह छन्
सम्मान र आर्थिक लाभ पाउने चाप्लुसेहरू छन्
अभिनय सबैलाई मन पर्छ, सबै प्रभावित हुन्छन्
अभिनय राम्ररी गर्न जाने पुग्छ
बिदेशीका खेताला र मतियार बनेपछि
देशलाई कंगाल बनाउन पाईन्छ
बगलीमा महाराजा भए पनि
मुखमा संविधानसभा र गणतन्त्र भनेर कुर्लिए हुन्छ
त्यसैले,
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

जिज्यू हजुर बा!
राजतन्त्रको छाया समेत मन नपराउनेहरू
आजकल त दरबारतिरै फर्किएका छन्
जनताको बलिदान र त्यागलाई बिर्सिएर
दलहरू चिप्लिएका, लर्किएका छन्
लोकतन्त्रका चर्का भाषण गर्दै हिंड्नेहरू
शब्द सुन्दा पनि झर्किएका छन्
सत्ताको भागबण्डामा सहमत हुँदै
मेलमिलाप गर्ने दलहरू घर्किएका छन्
बोली र व्यवहारमा फरक गर्ने संग
जनताहरू झस्किएका, तर्किएका छन्
आँफू र आफ्नो जीबन बाहेक अरूलाई हेर्ने कामै छैन
त्यसैले,
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

जिज्यू हजुर बा!
ठेकेदारहरू, माफियाहरू र दलालहरू
जनताका प्रतिनिधि बनेका छन्
गैरसरकारी संघसंस्थाको नामबाट
घोषित डाँकाहरूले डलरको खेती गर्न थालेका छन्
हामीले पनि लुट्ने मौका यहि हो
त्यसैले,
मेरो चिठी हात पर्नेवित्तिकै
झट्टै आउनु होला है जिज्यू हजुर बा!

लामो गन्थन गरें जिज्यू हजुर बा!
पढ्दा पढ्दै दिक्क लाग्यो होला, माँफ पाउँ
हामी स-परिवार तपाईंको बाटो कुरेर बस्छौं
बाँकि भेटमा विस्तार गरौंला
अहिलेलाई बिदा, जिज्यू हजुर बा!
अहिलेलाई बिदा

तपाईंको पनाति

0 comments:

Post a Comment