Sunday, 24 April 2011

कविता~प्रतिक्षा प्रेयसीको

समयको द्रुत गतिसँगै
आधुनिक प्रेम कथामा
म–
सुम्निमा जस्ती झर्रझराउँदी
मेरी प्रेयसी खोजि रहेकोछु
उफ !
यो कस्तो जलन
यो कस्तो चलन
आधुनिक प्रेम पात्रको भिडमा
म कहाँ कता हराईरहेकोछु

मिलनका प्रेमील दिनहरुमा
हामीले बनाएका ताज महलहरु
आज–
अनायासै चर्किदैछन्/भत्किदैछन्
म निरीह दर्शक बनेर
ती भग्नावशेष नियाल्दैछु
तृषित यी आखाँहरुमा
म पर्दा हाल्न सक्दिन
तिम्रो स्मृति मेट्न सक्दिन
त्यसैले हरपल
तिम्रो नाम पुकारी रहेकोछु
तिमी आउने छौ
तिमीले आउनु पर्छ
मेरो दिलको बाटो भएर ।

यो मेरो बिनय हो
मायाँ र समर्पण हो ।
मैले—
जिन्दगीलाई केस्रा केस्रा केलाएँ
हजारौको भिडमाझ
तिमीलाई आफ्नो पाएँ
कसम,
सुम्निमा र पारुहाङ्गको
म—
अरुमा समर्पित हुन सक्दिन
शिशिरको पारिलो घाम बनेर
मेरो मनको भन्ञ्जाङमा
मेरो संसारको चौतारीमा
तिमी सुस्तरी आउँनेछौ
म तिमी आउने प्रतिक्षामा
तिम्रो बाटो हेरी रहनेछु
सृष्टिको अनन्त बिन्दु सम्म ।

- भानु सुनुवार "तिरस्कृत"
हाल, दोहा, कतार ।

0 comments:

Post a Comment