Sunday, 13 March 2011

बहाई गार्डेनसँग लुट्पुटिँदै गर्दा

हरि मानन्धर "विवश"

विहानैदेखि सूर्यले इजरायलको व्यस्त शहर तेलअभिभको पखेँटा भरि कान्ति फिँजाइसकेको थियो । मेरो कोठाको झ्यालबाट सूर्यको किरण भित्रै पसेर कोठा नै रङमङ्ग्याईसकेको थियो । फेब्रुअरीको चिसो विहानीमा पनि सूर्यले भित्रै आत्मादेखि गर्मिलो पारिसकेको थियो ।  आजको यात्राको कारण हतार हतार तेलअभिवको केन्द्रिय बसपार्कतिर लम्केँ । वसपार्कको भित्र पसिसकेपछि सिधै छैठौं तल्लामा गएर बसको रूट हेरेँ । अघिल्लो बस छुटिसकेको रहेछ पुनः अर्को बस कुर्नुपर्ने भो । अर्को बस १० बजेपछि मात्रै रहेछ । अब फेरि एक घण्टा समय बिताउन मलाइ अति गाह्रो भो । यो एक घण्टा विताउन २ पटक त म चौथो तल्लामा झरेँ । बिहानै पसलहरू पन नखुलेका फेरि माथि नै जाने गरेको थिए । अन्तमा केहि सीप नलागेपछि क्याफ्टेरिया मा गएँ र कफी र केक मगाएर भकाभक हसुर्न थालेँ । समय प्रशस्तै थियो र पनि खै किन हो कुन्नी मलाई हतारै भैरहेको थियो । केक कफी खाइसक्दा पनि अझै १५ मिनेट बाँकी नै रह्यो । अब चाहि लामो यात्रामा तिर्खा लागिहाल्छ कि भनेर पानीको जोहो गरेँ । अनि बस कुर्न थालेँ ।

समय भन्दा १० मिनट अगाडि बस आइपुग्यो । बसमा चढ्ने हामी जम्माजम्मी ४ जना मात्रै थियौ । गाडी ठीक समयमा गुड्न थाल्यो । बसखानाको मूलद्वार हुँदै बस बाहिरियो । उत्तरी इन्टरचेञ्जको छतबाट गाडी हुत्तिँदै आइलोन हुँदै तेलअभिभबाटै बाहिरियो । विस्तारै बस हुईकिन थालेपछि मैले भगवती जीलाई फोन सम्पर्क गरेँ । त्यसो त उहाँसँग अगाडीदेखि नै बारम्बार हाइफाको उक्त स्थानमा पुग्नका लागि फोनसम्पर्क भैरहेकै थियो । पुनः वहाँले बहाइ गार्डेनको सुचना केन्द्रको नम्बर दिनुभयो । मैले पुनः उक्त सूचना केन्द्रमा फोन गरेर केहि सूचना लिने सुर कसेँ । फोन गरेपछि कम्प्यूटर मेशिनले अँग्रजीमा सूचना प्रवाह गर्न थाल्यो । म मोबाइल कानमा राखेर ध्यानपूर्वक सुनिरहन थाले ।

सूचना अनुसार बुधवार बाहेक हरेक दिन १२ बजे अँग्रजी गाइडले बहाइ गार्डेनदेखि मन्दिरसम्मको भ्रमण गराउँदो रहेछ । त्यस समूहमा घुम्नका लागि उक्त सूचना केन्द्रमा नाम टिपाएर ११.४५ बजेसम्ममा आफै हाजिर भैसक्नुपर्ने रहेछ । उक्त गार्डेन भित्रका सबै जानकारी दिँदै घुमाउने कुरा थाहा पाएपछि यो मन अत्तालिन थाल्यो । कारण त्यतिबेला करीव साढ दश बजिसकेको थियो र हाइफा पुग्न नै करीव डेढ घण्टा लाग्ने कुरा सुनेको थिएँ । तै पनि एकपटक ड्राइभरसँग सोधे । उस्ले ११.४० मा पुगिन्छ भनेपछि पुनः केहि हर्षले मन भरियो । इजरायलको बस करीव १२० किमी प्रति घण्टाको रफ्तारमा गुडिरहेकै थियो तैपनि मेरा लागि सो गति ढिलै भैरहेको थियो । मलाई स्ट्रिङ हातमा दिएको भए सकेजति एक्स्लेटर डबाएर हुईक्याउँथे जस्तो मात्रै लागिरह्यो । नभन्दै गाडी समयमा नै हाइफा बसपार्कमा पुरायो । ड्राइभरलाइ स्याबासी दिए । तर एकैछिनमा त्यो स्यावासी खेरै गए झैँ भयो । तुरून्त बहाइ गार्डेन जाने बस वा ट्याक्सीको जोहो गरेँ । महँगै भएपनि ट्याक्सी लिने निधो गरेँ । अनि स्थानीय एक जना भलादमीलाई स्थानमा पुग्न लाग्ने समय सोधेँ । ट्याक्सीमा गए पनि २० मिनेट लाग्ने कुरा बताए पछि म पानी पानी भएँ । यत्रो हतार गरेर आएर पनि समयले साथ नदिएकोमा आफैलाइ धिक्कार्दै विकल्पमा बस कुर्न थालेँ ।

१४ नम्बरको प्लेटफर्ममा १३३ नम्बरको बस आइपुग्यो । मनभरिका सारा खुशीहरूलाइ झण्डै तिलाञ्जली दिँदै लागे उक्त स्थानतिर । म चढेको बसले पहाडका कन्दराहरूलाई छिचोलेर माथि डाँडाकाँडातिर हानिदै अगाडि बढ्यो । डाँडामाथि बनाइएका अत्याधुनिक घरहरू, थुप्रै हरिया डाँडापाखाहरू, यिनै डाँडापाखाहरूको भिरालोमा मिलाएर बनाइएका आकर्षक बाटाहरू, मनमनै रमाइरहेँ । बसले डाँडाकाँडा घुमाउँदै फेरि ओरालो लाग्यो । ओरालो घुम्तीहरू काट्दै गर्दा मैले पटक पटक बहाइ गार्डेनको सबै भन्दा माथिको गेटमा जानु छ मलाइ भनिरहेकै थिए । ड्राइभरले हुन्छ भन्दै गाडी कुदाइरहेको थियो । २ जना पाले बसिरहेको कालो सुन्दर गेटमा लगेर रोक्यो र भन्यो यहि हो बहाइ गार्डेनको गेट । म हतार हतार बसबाट ओर्ले र गेटतिर हानिए । गेटमा गएर सोधेँ । तर अपसोच गाडी मैले भनेको गेट नभएर तल बीचको बहाइ युनिभर्सिटी छिर्ने गेटमा पो रोकेको रहेछ । फेरि उक्त गेटमा रहेका पालेलाई सोधेँ । उस्ले नजीकै छ तर हिडेर जान असम्भव छ वा धेरै समय लाग्छ त्यसैले तिमीले ट्याक्सी वा सामूहिक ट्याक्सीमा माथि जान सक्छौ भनेर सल्लाह दिए । म तुरून्तै अलि तलको बस कुर्ने ठाउँमा पुँगे । सिरूत कुर्नुभन्दा ट्याक्सीमै जाने निधो गरेँ र ट्याक्सी रोकेँ । २० इजरायली सकेल मात्रै रहेछ । अनि फेरि अगाडि बसमा आएको उहि बाटो हुँदै बहाइ गार्डेनको माथिल्लो गेट पुँगे । गेट नजिकै हाइफाको डाँडामा अवस्थित ठूला र अग्ला होटेलहरूले स्वागत गरे झै देखिन्थ्यो । अन्ततः गेटमा पुगेर बहाइ गार्डेनको दृश्य हेर्न आतुर बनेँ ।

माथिल्लो गेटमा पुगेर भगवती जीलाइ फोन गरँ । वहाँ अझै केहि समयमा मात्रै आउने खबर पाएँ । समयलाई पर्खन जति गाह्रो सायद जीवनमा केहि हुदैन होला । त्यसैले गेटमा चेकिङमा उभिए । गेटपालेले त कहाँबाट आएको भनेर सोध्यो । मैले नेपाल भन्ने वित्तिकै नेपाल हामीसँग पनि नेपाली छ पख म बोलाइदिन्छु भन्यो । अनि तुरून्तै नेपाली भाइ हुनुहुँदो रहेछ बोलाएर परिचय गरायो । मैले वहाँको छातीमा टाँसिएको नाम हेरिसकेको थिएँ । जे माझी लेखिएको थियो । फेरि पनि जे को अर्थ अनेक हुने भएकाले परिचय गरेँ । जितेन्द्रजी हुनुहुँदो रहेछ । वहाँ बहाइ गार्डेनकै लागि स्पेशल नेपालबाट आउनुभएको रहेछ । वहाँले यहाँ गार्डेनको आकर्षक विगारिने हेतुले खानेकुरा खान र चुरोट पिउन मनाही छ भन्दै हुनुहुन्थ्यो । अनि झोला शरीर वहाँकै अष्ट्रलियन साथीद्वारा चेक गराएर भित्र पसेँ ।

गेट भित्र पसेपछि सपनाको बगैँचा आँखा अगाडि हेर्न पाएकोमा म यसै यसै फुलेल भएको थिएँ । अरू सबै बुझ्न नपाएर के भो र ? मलाइ तानेकै यहि मेरो सपनाको बगैचाले नै त हो, यसै यसै मन फुरूङ्ग भएर आइरहेको थियो । यसै बीचमा जितेन्द्रजी आउनुभो अनि बहाइ धर्म, बहाइ गार्डेन, बहाइ मन्दिर र यसमा अवस्थित युनिभर्सिटीका बारेमा केहि सुचनाहरू दिनुभो । हुन त जितेन्द्रजी पालेहरूकत्र पनि सुपरभाइजर हुनुहुँदोरहेछ । तर समयले नेटो काटीसकेकाले मलाइ कुनै पनि हालतमा भित्री केन्द्रहरूसम्म जान अनुमति दिन सक्नुभएन । किनकी यो कानुनी नियम नै सर्बेसर्वा भएको देशको पवित्र बहाइ धर्मावलम्बीहरूको आस्थाको केन्द्र पनि थियो ।

जीतेन्द्रजीद्वारा गरिएका बहाई धर्म सम्बन्धी केहि चर्चाहरूः
बहाइ धर्म कुनै त्यस्तो नयाँ धर्म होइन । पर्सियन ब्यक्ति बह-उल्लाहको नामबाट यसको शुरूवात भएको पाइन्छ । यस धर्मले मान्ने मुख्य कुरा भनेकै तपाइहरू जुन धर्ममा हुनुहुन्छ उक्त धर्मलाइ भित्री आत्मादेखि सम्मान गर्न र उक्त धर्मका सबै नितिनियमहरू पालन गर्न सिकाउने कुरा हो । मैले नेपालमा हुँदा विभिन्न सामाजिक कार्यहरूमा भोलिन्टियर भएर काम गरेको छु । त्यसैले गर्दा पनि आज मैले बहाई जस्तो पवित्र धर्मको बारेमा जान्ने, सुन्ने र बुझ्ने अवसर पाएको हुँ । मलाई आध्यात्मिक ज्ञान मात्र नभएर भौतिक ज्ञान सिक्ने अवसर मिलेको छ जसका कारण अब आउने भविष्य पुनः तिनै सेवाहरूमा लगाउन चहान्छु ।

बहाइ धर्मका लागि तयार पारिएका केहि पुर्वाधारहरूः
क)       सार्वभौम सभा न्यायलयः यस सभाले अन्तराष्ट्रिय शाषकिय रूपमा सेवा दिने गर्दछ । दुनियाभरमा रहेका बहाइ समुदाय, सार्वभौम न्याय परिषदको रूपमा काम गर्ने गर्दछ, जसमा ९ बहाइ गुम्त बालोरद्वारा चुनिएकाहरू रहन्छन् । यो निर्वाचन प्रत्येक ५ बर्षमा एक पटक सँसारभरमा रहेका राष्ट्रिय बहाइ विधानसभाहरूबाट चुनिन्छ । हालसम्म यो सँख्या १८० भन्दा बढि गणना गरिएको छ ।
ख)       अन्तराष्ट्रि बहाई अभिलेखालयः बहाई धर्मको सँस्थापकको निजी प्रभावका साथै उनको मूल लेखन र अन्य अवशेष तथा ऐतिहासिक सामग्रीहरू राखिएको छ ।
ग)        ग्रन्थहरू अध्ययन गरिने केन्द्रः यस केन्द्र एउटा छात्रबृत्तिय सँस्था हो, जस्ले बहाई पवित्र लेखन,  ऐतिहासिक दस्तावेजहरू र अन्य सम्बन्धित सामाग्रीहरूको  अनुसन्धान गर्दछ ।
घ)        अन्तराष्ट्रिय शिक्षण केन्द्रः यो केन्द्रले सँस्थागत काउन्सिलर छनौट गर्छ, जस्ले सँसारमा छरिएर रहेका बहाई समुदायहरूको विकासमा बढोत्तरी ल्याउने योजनाहरू तर्जुमा गर्दछ ।
ङ)         स्मारक बगैँचाः यो शान्तिमय बगैँचा चार बह-उल्लाहको तत्कालीन परिवारका सदस्यहरूको सेतो कार्रारा मार्वलद्वारा स्मारण निर्माण गरिएको छ ।

जितेन्द्रजीले कुराहरू बताइरहँदा म पनि भावुक बनेर सुनिरहेको थिए । किनकी मलाई मानव र मानवीय चेतनाको कुरा उब्जायो कि धित मरून्जेल सुनिरहन मन लाग्छ वा पुस्तकहरू पाएँ भने अध्ययन गरिरहन मन लाग्छ । त्यसैले पनि होला यो मानवीय धर्मको बर्णनसँगै एकपटक उनै बह-उल्लाहको बिचारसँग साक्षात्कार गर्दै थिएँ । मनभरि बहाई गार्डेनको सुन्दरता कतै स्वर्गको तुलनासँगै दाँजिरहेको बेला एकाएक मोबाइलमा घण्टी बज्न थाल्यो । पकेटबाट मोबाइल निकालेर कल हेरेँ । भगवती जीको थियो । तुरून्तै उठाएर हेल्लो गरेँ । उताबाट भगवतीजीले १५ मिनेटमा आइपुग्ने कुरा गर्नुभो । म सबैभन्दा माथिल्लो गेटमा भएको खबर गरेपछि उहाँ पनि सोही गेटमा आउने कुरासँगै फोन बन्द गरेँ ।

मलाई मेरो जीवनको सबैभन्दा खुशीको अनुभूति हुँदै थियो सायद र त एक्लै भएपनि बहाई गार्डेनको ओरालो हुँदै तल समुन्द्रसम्म फैलिएको भागहरूमा लगातार आँखा लगाइरहेको थिएँ । हाइफाको टाकुराबाट शुरू भएको यस गार्डेन भिरालोभरि नै आकर्षक १५ सय वटा भन्दा बढि खुड्किलाहरूले सजिसजाउ भएको कुरा जितेन्द्रजी बाट थाहा पाएको थिएँ । सबैभन्दा माथिल्लो भाग बाहेक बीचमा र भिरालोको तल्लो भागमा समेत तीनवटा पब्लिक सवारीसाधनहरू चल्ने बाटाहरूले बहाइ गार्डेनलाई नै तीन भागमा बाँडिदिएको छ । माथिल्लो भाग र म प्रथमपटक पुगेको गेटबाट गार्डेनको मुख्य भवनहरू हेर्न पाइन्छ भने दोश्रो भागबाट बहाइ मन्दिरको अवलोकन गर्न पाइन्छ । अपसोच त्यतिबेला भने बहाइ मन्दिरको त्यो आकर्षक दृश्वालोकन गर्न पाइएन । त्यतिबेला उक्त मन्दिरको मर्मतसम्भार भैरहेकाले पुरै विल्डिङलाइ नै बाहिरबाट कभर गरिएको थियो । बाहिरी सुन्दरतामा भन्दा भित्री सुन्दरतामा रमाउने म यसले खासै असर चैँ पारेन ।

फेरि फोन आयो । भगवती जी बीचको युनिभर्सिटी पस्ने गेटमै पुग्नुभएछ, जहाँ म शुरूमा पुगेको थिएँ । अनि वहाँलाइ माथि सुचनाकेन्द्र भएको गेटमा आउन भने । अनि फेरि भगवती जीको पर्खाइसँगै तिनै बहाई गार्डेनको माथिल्लो भागहरूमा यता उता डुल्न थालेँ । बहाई मन्दिरमा विश्वभरबाट पर्यटकहरू भित्रिने कुरा त्यतिबेला नै थाहा भो । करीव एक घण्टाको बसाईमा मात्रै कम्तिमा ६ वा ७ देशका नागरिकहरू उक्त गार्डेन अवलोकनका लागि आएका थिए । बेल्जियम, जर्मनी, रसिया, चीन आदि देशबाट आएका ती पर्यटकहरू अँग्रेजी पनि बोल्न नजानेका । त्यो भन्दा त बरू नेपालीहरू नै बढि अन्तराष्ट्रिय भाषा बोल्दारहेछन् भन्ने सम्झेर गर्व लाग्यो ।

भगवतीजी आउनुभो । फेरि गार्डेनको मुलगेटबाटै भित्रै पस्यौँ । गार्डेनको भित्र सबै भवनहरूको अध्ययन गर्न नपाएपनि गेटबाट दोश्रो तल्लामा झरेर नजीकबाटै गार्डेनको छातीमा भित्री हृदयदेखि नै चुम्यौ । आँखा नथाकुन्जेल तल तलसम्म हेरेर गेटबाट बाहिर निस्क्यौ ।

बीचको गेटबाट बहाई मन्दिर हेर्ने इज्छाले दुबै जना ट्याक्सी चढेर ओरालो लाग्यौ । बीचको गेटमा पुगेपछि गेटपालेलाइ भित्र पस्न पाइने वा नपाइने सोध्यौ । गेटपालेले पाइने जानकारी गराएपछि ट्याक्सीबाट ओर्लिएर गेट भित्र पस्यौ तर अफसोच फेरि मन्दिर भित्र जान नपाइने रहेछ, मनभरिका सबै उमंग र जाँगरहरू एकैचोटि गुजुल्ट्याएर बाहिरैबाट मन्दिरको दर्शनगरेर पुनः सबैभन्दा तल्लो गेटमा पुग्यौ ।

विहानको केक र कफी बाहेक पानी चाहि घरि घरि घाँटीबाट भित्रिएकै हो । बहाई गार्डेनको मनोरम दृश्यले मेरो भोक प्यास सबै लुटिरहेको थियो । भगवतीजीको सल्लाह बमोजिम पेट पुजा गर्ने हेतुले रेष्टुरेन्ट छिर्यौ । वेटर मेनु लिएर आए । सबै कुरा छाडेर मैले मिक्स कवाव मगाएँ । मिक्स कवाफ भन्दा पहिले सलादहरू र पिताको डाली आइपुग्यो । पिता खुमुससँगै अन्य सलादहरू र अन्ततः मिक्स कवावको रसिलो स्वादसँगै खाना सकेर रेष्टुरेन्टबाट पनि बाहिरियौँ ।

नजिकै बहाई गार्डेनको सबै भन्दा तल्लो गेट थियो । गेटबाट दोश्रो भर्याङसम्म उक्लिन पाइँदोरहेछ । दुबै जना एक आपसमा स्मरणका लागि फोटो खिच्दै पुनः बहाई गार्डेनको मनोरम दृश्यहरूसँगै बेमौसममै फुलिरहेका अनेकथरी फूलहरूको सामिप्यतामा रमायौ । अन्ततः बहाइ मन्दिर छाड्ने बेला भो । उक्त गेटमा बसेको पालेहरूसँग फोटो खिचाउँदै विदाको हात हल्लाएर बाहिरियौ ।

अझै पनि हामीसँग केहि समय बाँकी थियो । समय पाएको बेलामा मलाइ समुन्द्री छेउमा समय विताउन अति नै आनन्द् लाग्छ । त्यो मात्रै भन्दा पनि विना सागरको देशको नागरिक भएको हैसियतले पनि होला, सागरको किनारहरूमा बहेका सामुन्द्रिक छालहरूसँग रूमल्लिनमा निकै मजा लाग्छ । त्यसैले केहि समयका लागि भए पनि समुन्द्री छेउतिर जाने निर्णय गरियो र ट्याक्सी चढेर लाग्यौ । समुन्द्री किनारमा पुग्दै गर्दा क्षितिजबाट नजिकिँदै गरेको सामुन्द्रीक छालहरूलाई स्पर्श गर्ने रहर बढेर आयो । हतारिँदै बालुवा किनारबाट सामुन्दिक छाल आएतिर हुर्रिएर लागेँ । भगवती जी भ्याएसम्म मेरो तस्वीर लिँदै हुनुहुन्थ्यो । नजिकै बाँध बाँधिएको थियो । उक्त बाँधमा चढेर माछा मार्नेहरूसँग बल्छी मागेँ । नेपालको ठाडो खोलाकिनारमा त बल्छी चलाइन्थ्यो तस्तै सम्झेर पनि माछालाइ बल्छीमा पार्ने थालेँ । वास्तवमा त्यतिबेला माछा मार्नु भन्दा अनुभव लिनु र उक्त क्षणहरूलाई स्मरणीय बनाउने मेरो उद्देश्य थियो र पुरा गरेँ पनि ।

अन्ततः समयले नेटो काटिसकेको थियो । भगवतीजी पनि भनेको समय भन्दा धेरै ने बस्नुभो । सायद मेरो इच्छा नकार्न नसकेर हो कि? एउटा आत्मिय साथीको हैसियतले पनि हुनसक्छ । त्यतिबेला भगवती जी नहुनुभएको भए सायद मेरो यात्रा, यात्रा जस्तो नै हुने थिएन सायद । त्यसैले पनि भगवतीजीको साथ त्यसदिनको यात्राले सार्थकता पाएको थियो । त्यसैले भगवती जीलाई हृदयदेखि नै मुरी मुरी धन्यवाद दिँदै बहाई गार्डेन, मेडिटेर्रेनियन सागर र भगवतीजी स्वयंलाइ विदाको हात हल्लाएर लागे हाइफाको रेलको स्टेशनतिर ।

0 comments:

Post a Comment