Thursday, 13 January 2011

समुद्रसँग पिरती



परदेश बसाइका पट्यार लाग्दा दिनहरूमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ ।कहिले काहीँ त त्यस्तो रमाइलो क्षणलार्इ वास्तविकतामै अनुभव गर्ने मैाका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरू अत्यन्तै सिमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद निकाल्नु , साथीहरू भेला पार्नु अनि गन्तव्य तय गर्नु निकै गाह्रो हुन्छ ।यस्तै अफ्ठ्याराहरू बिचबाट निकालिएको छोटो समय भने आज सम्मको सबै तितोपना बिर्साउने गरी स्वादिलो हुँदोरहेछ ।यो सबै भूमिका बाँधेको मैले मेरो समुद्र भ्रमणलार्इ सम्झनका लागि हो । मेरो दुखाइ कम गर्ने औषधी हो समुद्र । यो बिरानो ठाउँमा मेरो भावना साट्ने साथी हो समुद्र ।त्यसैले जहिले आफ्नो कामबाट अलिकति फुर्सद मिल्छ म उसलार्इ भेट्न दैाडिएर पुगिहाल्छु ।

म जन्मेको ठाउँ पाँचथरको त मलार्इ सम्झना छैन मैले जलराशी पहिलो पल्ट देखेको बिरिङ खोला हो । असार सावनमा गाउँ नै थर्काउने गरी एकोहोरो तवरले स्वा.... गर्दै भयङ्कर रूपमा प्रस्तुत हुने र फागुन चैततिर हवाइ चप्पल पनि बगाउन नसक्ने गरी थला पर्ने त्यसको स्वभाव मलार्इ पटक्कै मन पर्दैनथ्यो तर पनि म त्यसलार्इ हेरेर रोमान्चित हुन्थेँ । एकपटक आमासँग बराहक्षेत्र घुम्न जाँदा चतरा किनारमा लमतन्न पल्टेको कोशीलार्इ देखेर सोधेकी थिएँ , 'आमा समुद्र यही हो ?' आमाले भन्नु भएको थियो, 'समुद्र हेर्न त काँशी जानु पर्छ छोरी ।' अलिक ठूली भएपछि आमाको समुद्र ज्ञान बारे थाहा पाएर म खुब हाँसेकी थिएँ ।

सानैमा सामाजिक विषयमा पढेको र अलिक पछि हिन्दी सिनेमाको पर्दामा देखेको बाहेक समुद्रसँग मेरो प्रत्यक्ष सम्बाद गर्ने मैाका मिलेको थिएन ।चार बर्ष अघि मध्यपूर्बी एसियाको सानो यहुदी बस्तीमा झरेपछि समुद्रसँग परिचित हुने मैाका मिल्यो ।यी चारवर्षमा समुद्रसँगको सम्बन्ध अझ गाडा हुँदै गयो र आज म यसैको मायाले पनि यहाँ बस्न सकेकी हुँ कि जस्तो लाग्छ ।नत्र त टाउकै माथिबाट प्लेन उडेको देखे पिच्छे घर जाउँ जाउँ लाग्ने यो बालुवाको थुप्रोमा के रसले बस्नु छ र !
मेरो समुद्रसँग पहिलो भेट इजरायल आइ पुगेको एक हप्ता पछि भएको थियो ।पारिवारिक विछोडले भत्भति पोलिरहेको छातीलार्इ त्यसले केही शितल पारिदिन्छ कि भन्ने आशाले र सानै देखिको समुद्र हेर्ने उत्कट अभिलाषाले पनि मलार्इ त्यतातिर तानेको थियो ।यस अघि तेलभिवको चार नम्बर अपार्ट, जहाँ पहिलो दिन वास बसेकी थिएँ। त्यहाँ पुगेर भारी बिसाउने बित्तिकै दीदीहरूलार्इ सोधेकी थिएँ , 'समुद्र यहाँबाट कति टाढा पर्छ ?' सिमा दिदीले व्यङ्ग्यात्मक पारामा भन्नु भएको थियो , ' हैन, तिमी त घर छोडेर आएको पिरले समुद्रमा हामफाल्न जान लागेको होकी के हो ?' सबैले मेरो मुखमा हेरे । कोठामा एकछिन हाँसो छायो । त्यतिबेलै हो दिदीहरूका मुखबाट मैले समुद्रबारे पैलो पल्ट केही जानकारी पाएकी थिएँ ।गर्मी याममा प्राय सबै फुर्सदिलाहरूको गन्तव्य स्थान समुद्र हुँदोरहेछ ।अझ साँझ पख समुद्रलार्इ छोएर बग्ने हावाको शितल स्पर्श पाउन सबै लालायित हुँदा रहेछन् ।समुद्र वर्णन सुन्ने बित्तिकै मलार्इ एल्यै दैाडिएर पुगूँ जस्तो भएको थियो तर भोलि पल्टै काममा जानु पर्ने भएकाले रहर मारेर बसेकी थिएँ ।

सुक्रबार दिउँसो मेरो २ बजे नै छुट्टि भएपछि म कतै नहेरी रमातगानको जबुतिन्स्की रोड हुँदै तेलभिवको हार्चियोन १२ मा रहेको हाम्रो चार नम्बर अपार्टमेन्ट तर्फ लागेँ। करिव पाँच मिनेट वसमा दैाडिएपछि म अपार्ट पुगिहाँले ।कृष्णा र प्रमिला पहिले नै आएर बसिरहेका रहेछन् ।केही छिन पछि सिमा दिदी र अरू दिदी बहिनीहरू पनि आउनु भयो ।अपरान्न ५ बजे हार्चियोन रोडबाट लिभेन्स्की रोड हुँदै हामीले समुद्र याता सुरू गर्यैाँ ।फराकिला सडकहरू, पैदल यात्रुको सुविधाका लाथि बाक्लै जेब्रा क्रसिङ, आ काश तिर सोझिएमा अग्ला घरहरू ,बाटाका दुबैतर्फ बाह्रैमास हरियै रहने एकनासे रूखहरू त्यहाँको वैभव पस्कन काफी थिएँ । चार पाँच मिनेटको दुरीमा पैदल यात्रिका सुविधाका लागि चैाराता राखिएका थिए । होटल रेष्टुरेन्ट र पसलहरूको चहलपहलमा चारै तिर सफा सुन्दर बातावरण त्यहाँको भव्यताका निसानी थिए। हिँडिरहँदा मलार्इ एकपटक काडमाडौंको वागबजार ,रत्नपार्क आसपासका ठाउँहरू ,पुतली सडकबाट घट्टेकुलोतिर उक्लने बाँसघारीको साँघुरो बाटोको याद नआ एको हैन तर त्यो सम्झना धेरै वेरसम्म रहेन ।छोटो दुरीमा रहेका रमणीय पार्कहरूले मेरो ध्यान खिचिहाले ।पार्कमा सपरिवार भेला भएकाहरूको खानपान र नाचगान चलिरहेको थियो भने युवा युवतिहरू अंगालोमा बेरिएर एक अर्कालार्इ चुम्मन गर्दै स्वतन्त्र हिँडिरहेका थिए । युवाहरूको भन्दा अझ परिपक्क शैलीमा माया साट्दै मस्कामस्की गरिरहेका प्रैाढ पुरूष महिलाहरू देख्दा लाग्यैा के बिपनामै यो सब भइ रहेको छ त ? यो विपनै हो भन्ने प्रष्ट भएपछि म लाजले खुम्चेर सानी भएकी थिएँ ।त्यतिखेर मलार्इ आफ्ना गाउँका बुढापाकाहरूको याद आयो, जो बिहे गरेको बषैा सम्म एक आपसमा बोल्न लाज मान्थे भन्ने जस्ता किम्बदन्तिहरू मैले गाउँघरमा धेरै पटक सुनेकी थिएँ ।

बाटाभरीका यस्ता अनैाठा अपत्यारिला दृष्यहरू हेर्दै अघि बढ्दा हामी थाहै नपाइ समुद्र किनारमा पुगी सकेछौँ । त्यो किनार मैले कल्पना गरे भन्दा धेरै फरक थियो । ठाउँ कुठाउँ सेतै फुलेको काँसघारी र आकार नमिलेका ढुङ्गाहरूले उबडखावड देखिने बिरिङ जस्तो त त्यो छदै थिएन ।सानदार होटल भव्य महलहरू आकर्षक बगैँचा सेतो पानीका फोहराहरू भएको त्यस्तो अवर्णनीय सजावट युक्त गन्तव्य मैले यस अघि कहिल्यै देखेकै थिएन ।त्यो सबै चमकदमक देखेर एकपल्ट त म लाटी जस्तै अक्क न बक्क भएकी थिएँ ।समुद्री किनार यति मनमोहक हुन्छ भन्ने मैले अनुमान गरेकी थिइँन ।हामी फूलैफूलका पार्कहरू र ओहोर दोहोर गरिरहेका बाक्लै मानिसहरूका समुहलार्इ पार गरेर समुद्री तटमा पुग्यौँ । आँखाले भ्याएसम्म निलो पानीको एकछत्र सामराज्य मैले निकै वेरसम्म नियाली रहेँ ।टाढैबाट दर्शन गरेर मात्र मेरो मन अघाएन । बालुबाको बिस्कुन कुल्चँदै अझ अघि बढेर मैले त्यसलार्इ आफ्नै हातले छोएँ ।

मरूभूमिको तातोवाफलार्इ सुलुत्तै निलेको त्यस समुद्रको चिसो स्पर्श पाएर म एकछिन भावविभोर भइ रहेँ ।
समुद्रसँगको यो प्रथम परिचय हार्दिकतापूर्ण रहेपनि मेरो कौतुहल भने शान्त भएको थिएन ।छेउको बालुवामा लमतन्न पल्टेकी गोरी युवतीसँग मैले केहीबेर भलाकुसारी गरेँ ।यो भूमध्यसागर रहेछ । यसैको किनारमा उत्तर दक्षिण तर्फ लामो र पूर्वपश्चिम चौडाइ साँगुरो भएर इजरायल भन्ने देश बसेको रहेछ भन्ने थाहा पाएँ ।उत्तरमा तिवेरिया र दक्षिणतर्फ इलात रहेको इजरायलको पूर्व पश्चिमको कुनै कुनै भाग भने यति साँगुरिएको छ कि केही क्षणमै सिमा वारवार गर्न सकिन्छ ।
प्रमिलाले तानेर लगेकीले गोरीसँगको सम्बाद बिचैमा टुट्न पुग्यो । हेर्दाहेर्दै हामी अस्ताउन लागेको सूर्य विम्बपरी रातै भएको भूमध्यसागरमा पौडी खेल्नभनि पस्यौँ । अघि देखि खेलिरहेका अर्घनग्न गोरीहरू हामीलार्इ लुगैसँग पानीमा पसेको देखेर उदेक मानिरहेका देखिन्थे । हामी उनीहरूका पहिरन देखेर लाजले जिब्रो टोक्थ्यौँ र मुख छोपेर हाँस्थ्यौ । त्यहाँ दुइ अलग संस्कारबाट निर्मित फरक मनोविज्ञान स्वभाविक ढङ्गमा प्रकट भएको थियो तर दुबै पक्ष अस्वभाविक तवरले चकित भइरहेका थियौँ ।श्लीलता र अश्लिलता भन्ने एउटा कृत्रिम अवधारणा हो ।यस्तो धारणा ठाउँ र समाजले आफ्नो अनुकुलताका लागि बनाएको हुन्छ भनेर मैले कतै पढेकी थिएँ ।त्यसको आशय त्यसबेला आफैँ भोग्नाले राम्ररी बुझेँ ।जङ्घार परसम्म फैलिएको हुनाले निर्धक्क समुद्रसँग खेल्न सकिन्थ्यो ।कमर सम्मको पानी भन्दा पर जान रोक लगाउँदै सुरक्षा गार्डहरू नजिकबाट कराइरहेका हुन्थे। दुइ हत्केलाले भुँइ टेकेरै गोडा छप्ल्याङ छप्ल्याङ पार्दै विरिङ्ग खोलामा जस्तै म त्यहाँ रमाएँ ।कहिले म दुबै हातले पानी सोहोरेर सूर्यलार्इ अर्घ दिए झैँ गर्थे भने कहिले समुद्रलार्इ दुबै हत्केलाले पालैपालो झापड हान्दै रमाउँथेँ । समुद्र स्नान गरिरहेका बेला मलार्इ जेठको चर्को घामले पिल्याएको छाला सेलाउन दौडिएर विरिङ् खोलामा पसेका ती दिनको याद आयो ।

भोटेटारमाथिको जङ्गलबाट स्याउले घाँस लिइ फर्कँदा पसिनाले निथ्रुक्कै भिजिन्थ्यो ।पुरै शरिर भत्भति पोलेर खप्नु हुन्नथ्यो ।राधिका, निर्मला र म बगरमा स्याउला फालेर दहमा एकछिन डुब्थ्यौँ ।किनारका रूखबाट लछारिएर खोलातिर झुन्डिएको भोर्लाको लहरो समाएर मच्चिँदै पानीमा झ्वाम्म फाल हान्थ्यौँ । भाका हालेर गीत गाउँदै पालैपालो भोर्लाको लहरोबाट खोलामा फालहानेको दृष्य पक्कै मन लोभ्याउने खालकै हुँदो हो तब त शान्तिपूरबाट अदुवा, अलैची र अम्लिसो बेच्न बजार जानेहरू अलिक माथि बाँधमा डोको बिसाएर रमाइ रमाइ हामीलार्इ हेर्थे ।राधिका र निर्मला पानीमा खेल्न छाडेर फूलबारी सजाउने दर्शन ढुङ्गा बटुल्ने कार्यमा लाग्थे ।एकपल्ट म भोर्लाको लहरोबाट हामफाल्दा ढुङ्गामा निकै मजाले पछारिएकी थिएँ ।ढुङ्गामा ठोकिएर घुँडो झन्नैले खुस्केको । मेरो शरिर समुद्री जङ्घारमा निकै माथिसम्म डुबेको थियो भने मन चैँ विरिङ खोलामा पुरै डुबेको थियो ।मेरा खुटाहरू थाहा नपाउँदो गरी विस्तारै खतराको सङ्केत भएतिर सर्दै रहेछन् ।छालले हुत्याएर मलार्इ त्यतातिर लाँदै रहेछ। म अात्तिरिएर चिच्याउँदा सिमा दिदी दौडेर आइ मेरो पाखुरामा समातेर तान्नु भयो । निकै सारो चिच्याएछु क्यार, ठूलो समुहले मलार्इ घेरीहाल्यो । बाहिर निस्केर म लाजले काली निली भएको त्यहाँ उपस्थित सबैले भेउ पाए ।
समुद्रसँग पहिलो पटक अविष्मरणीय परिचय भएको केही महिना पछि म फेरि त्यसलार्इ भेट्न गएँ ।त्यसपाली त्यसको नुनिलो पानीले मेरो गलाको सिक्रि चुँडाली दियो । यस घटना पछि मलार्इ किनकिन ज्वाम्म पसेर पौडिखेलिहाल्न डर लागेर आउँथ्यो । त्यसैले म किनारमा बसेर त्यसलार्इ एकोहोरो रूपले हेरिरहन्थेँ । त्यो परै देखि निकै वेगले हुत्तिएर मतिर आउँथ्यो र छालहरू माथिसम्म उठेर मलार्इ छुन खोज्थ्यो। यसरी हामी लामो समयसम्म जिस्किरहन्थ्यौँ । कहिले म त्यसलार्इ आफ्नै विरिङ् सम्झेर अन्जुलीमा उघाउँथे र त्यसको नुनिलो स्वाद थाहा पाएपछि मुखसम्म ल्याएर पनि फालिदिन्थेँ ।कहिले त्यो जुरूक्कै उठेर मेरो कानसम्म आइपुग्थ्यो र गम्भिर आ वाजमा केही फुस्फुसाउँथ्यो ।यसरी मैले समुद्र सँग धेरै समय गुजारेकी छु ।

पछिल्लो पटक म त्यसलार्इ भेट्न २०६७ सालको तिजको सार्वजनिक विदामा गएकी थिएँ ।मेरा साथमा मेरी भतिजी मेनुका र इजरायली साथी मिरी थिए । त्यो दिन मलार्इ धित मरून्जेल जहाजमा बसेर समुद्र विहार गर्ने रहर थियो तर सधैँ शान्त र गम्भिर देखिने समुद्र त्यसपाली केही रिसाएको जस्तो लाग्थ्यो ।सानो पानी जहाजमा बसेर जब हामी बिसाल समुद्रको छातीमा तैरिन थाल्यौँ ।त्यसले आफ्नो ताण्डव नृत्य शुरू गरिहाल्यो ।होचो अग्लो हुँदै हुत्तिएर आउने छालहरूले जहाजलार्इ कोल्टे पार्थे र हामी जहाजबाट पोखिन पोखिन खोज्दाखोज्दै बच्थ्यौँ ।क्षणभर स्थिर भएको जहाज फेरि अर्कातिर घोप्टिन खोज्थ्यो ।मेनुका र जहाजमा बसेका अरूहरू यसैमा मजा मानीमानी फोटो खिच्न तल्लिन देखिन्थे तर मेरो मुटुले भने ठाउँ छोडी सकेको थियो ।मनमा अनेक अपसकुनहरूले जुलुस गर्न थालिसकेका थिए ।जहाज छेउ लागेपछि समुद्री तटमा पार्इला टेक्ने वित्तिकै मैले सबैका सामु कसम खाएकी थिएँ , अब देखि कहिल्यै जहान चढ्दिन भनेर ।त्यसदिन मैले आफूलार्इ ठूलो दुर्घटनाबाट सकुशल घर फर्केको यात्री ठानेकी थिएँ ।

समय एकनासले बगिरहेकै छ । समयसँगै त्यो भूमध्यसागर पनि कहिले शान्त र कहिले उत्ताउलो पाराले बरिरहेकै होला ।जतिबेला म कामबाट फुर्सद पाउँछु ,चार महिना अघि जहाजबाट झण्डै घण्डै घोप्टिएको त्रासद क्षणलार्इ बिर्सिएर त्यसलार्इ भेट्न लालायित भैहाल्छु
त्यसदिनको कहालीलाग्दो क्षणको सम्झनाले पनि मलार्इ बाँधेर राख्न सक्दैन ।बितेका डरलाग्दा क्षणहरू पछि फर्केर हेर्दा रोमान्चक लाग्दा रहेछन् ।मलार्इ त्यस्ता रोमान्चहरू पोल्टाभरी पोको पारेर नेपाल लैजान पाए कस्तो हुँदो हो भन्ने लागिरहन्छ ।अब म यो देशसँग अघाइ सकेँ तर यसको काखैमा डेरा जमाएर बसेको समुद्रसँग केही मीठा पलहरू साट्ने तिर्सना भने अझै बाँकी नै छ ।

0 comments:

Post a Comment