Monday, 29 November 2010

बिचरा हरि



सिता बराल
हालः लिस्वन, पोर्चुगल


जब मनभरि कुराहरु खेलेर छटपटि हुन्छ हरि वियर पियर डंग भुईको ओछ्यानमा पल्टन्छन । उसले यसरी टन्न वियर पिउन लागेको धेरै भएको छैन । भोली विहान देखि हिजोको जस्तै एकै नासको उहि दैनिकी सुरु हुने गरेको छ । विहानको चियाको चुस्की संग आजको दिन काम खोज्न कहाँ जाने भन्ने पिर पर्न थाल्छ । अरु साथीहरुको जस्तै कहानी र पिडा छ उसंग । कामको लागी साथीहरुलाई नभनेको र नपुगेको ठाँउ कुनै छैन तर हातमा लाग्यो शुन्य भएको छ । काम खोज्न जाँदा तलुवा फाटेका दुई तीन जोर जुत्ता फाल्न नसकेर ढोकाको पछाडी तिर राखेका छन् ।

विहान पख को चिसो सिरेटोले हरिको निन्द्रा खुल्छ । विस्तारै टाउको उठाएर वरपर सुतेका साथीहरुलाई हेर्छन । कामबाट आएका साथीहरु थकाईले मस्त निदाएका हुन्छन् । हरि विस्तारै उठेर टेवलमा भएको चुरोटको बट्टा र लाईटर लिएर झयाल तिर जान्छन् । झ्याल बाहिर बस्ने ठाँउ नभएको हुनाले टाउको बाहिर निकाल्दै चुरोटको सर्को तान्छन् । कोठाको सिधा कालेचोकको उकालोमा पर्ने पर्खालमा धेरै नै भाषामा केही लेखेर रंगाइएको छ । त्यसलाई दुई तीन जना फोटो ग्राफरले सेफ मिलाएर आफ्नो क्यामरामा कैद गर्न खोज्दैछन् । धेरै भाषामा लेखिएको त्यस पर्खालको एक लाइनमा लिस्वोनः सहनशिलताको शहर भनि लेखिएको स्पष्ट देखिएको छ । चुरोटको लामो सर्को तान्दै हरि मनमनै सोच्छन् । धन्य छ हामी नेपालीहरुको सहनशिलता । उद्धेश्य प्राप्ती नहुने बेलाको अन्तिम घडीसम्म संघर्ष गरिरहन्छौ । हुन त यो पोर्चुगलमा सहनुबाहेक अरु विकल्प के नै छ र ? यो कुनै व्यक्तीको गुण नभई बाध्यता बनेको छ यहाँ । दुःखलाई सुखमा बदल्ने सपना देखेर परदेशिनु भनेको झन निस्कनै नसक्ने दुःखको दलदलमा फस्नु रहेछ भन्ने अनुभव हुन्छ हरिलाई ।

झयालबाट आएको हावाले टेवलमा भएको मेट्रो पोष्ट पत्रिका पल्टाउछ । उनलाई अस्ति भरखरै मात्र घोडा चोकमा निकै सनसनी पूर्ण बनाएको त्यस पत्रिकामा भएको भनिएको झुटा समाचारको याद आउछ । नेपाली समाजमा हुने गरेका नयाँ समाचारहरु घोडा चोकबाटै थाहा हुने गरेका छन् । लिस्वनमा घोडा चोक हाम्रै गाँउघरको चिया पसल भन्दा फरक छैन जस्तै लाग्छ । त्यही ठाँउबाट यो झुटा समाचार फैलाइएको थियो । पछि बुझ्दै जादा कन्ट्याक मिलाइदिए वापत थोरै रकम खान पल्केका दरिद्र सोचाइ भएकाहरुले यस्तो समाचार फैलाएका रहेछन् । घोडा चोकमा यो समाचार सुनेर हरिका साथी प्रकाश निकै बेर रोएका थिए । हरिले यि सबै दुःखका कुराहरु विर्सन खोज्छन् र बाहिर निस्कन्छन् । चोकको केही पर गल्लीमा भएका धेरै रेष्टुरेन्टहरुमा काम सोध्न जान्छन् । खोज्दै जाँदा एउटा नेपालीको पसल भेटीन्छ । उनलाई मनमा ढुक्क हुन्छ । कमसेकम नेपालीहरुलाई त हामीहरुको दुःख थाहा हुन्छ । दुख बुझेर काम दिएभने बाँकी सबै मिलाउदै जानु पर्ला भन्ने सम्झदै कामको बारेमा सोध्छन् । धेरै साथीहरु पुगेर फर्कीसकेका कुरा त्यही कसैबाट थाहा हुन्छ । उनले अरु केही नसोधी छेउमा उभिएका नेपालीको हात समातेर दाई मलाई पैसा चाहिदैन काम दिनुहोस्, जस्तो पनि गर्छु भन्दै चिच्याउछन् । त्यहीबेला कसैले हरिको गालामा झापड लगाउछन् । झस्केर हेर्दा बेलुका टन्न पियर सुतेका हरि, छेउमै सुतेका श्यामदाइको हात समातेर चिच्याई रहेका थिए ।

0 comments:

Post a Comment