Wednesday, 17 November 2010

कसको लागि यो आन्दोलन



लघुकथा
-पुरुषोत्तम गौतम


ऊ रुँदै थियो । सर्ट लाएको थियो टाँक थिएन । कट्टु लाएको थियो तर फाटेको । उठेको थियो र आँखामा कचेरा थियो । धोएको थिएन । बाटोमा रुँदै भाग्दै थियो । आमा हातमा चप्पल लिएर उसलाई झम्टिंदै थिई । ऊ भाग्दै थियो तर रुन छाडेको थिएन । ऊ राति कतिबेर निदायो पत्तै पाएन । विहान उठ्दा उसको पेटमा मुसाहरूको म्याराथन सुरु भइसकेको रहेछ । त्यतिबेलामात्र उसले थाहा पायो ऊ राति भोकै सुतेको रहेछ । अनि खाना मागेछ आमासँग एकाबिहानै । बाउ ट्रकमा खलासी गर्छ विहान ऊ नउठ्दै ड्यूटीमा गइसकेको हुन्छ । राति बाउ आउँदा ऊ सुतिसकेको हुन्छ । उसको र बाउको भेटघाट हुनु र बोलचाल हुनु संसारको नवौँ आश्चर्य हो भनिदिए पनि फरक पदैँन । किनकि शनिबार पनि उसको बाउको विदा हुन्न बन्द बाहेक । आमा अरुको घरधन्दा र मेलापात सकेर राति आउँछे । उसैको जीऊ गलेर थाङ्थिलो भइसकेको हुन्छ । उसमा पकाएर खाने ताकत पनि रहन्न कहिलेकाहिँ । ऊ पनि भोकै सुतिदिन्थे । सुत्नु अघि निदाइरहेका २ छोराहरूलाई एकटकले हेर्छे अनि दुईथोपा आँशु खसाल्छे अभागी छोराहरूको निन्याउरो अनुहार हेरेर । हरेक पार्टीका आमसभामा पनि कुदी । तराइको भतभति पोल्ने प्रचण्ड गर्मीमा पनि उसले कुनै आमसभा छोडिन, नेताहरूको भाषण सुन्न छोडिन । सबैले भने अब नेपाली जनताका दिनहरू आए । नेताहरूले हामी गरीब निमुखाका लागि लड्छौँ भन्ने नेताहरू त उसले कति देखी कति, तर ...............।

कामै नपाएर भोकै सुतेका दिनहरू मनग्यै छन् उसको सम्झनामा । तर कसैले आएर उसलाई सोधेको छैन तैँले खाना खाइस् कुमारी? भनेर । मेला जाने बेलामा नेताको नमस्कारकै पछि लागेर गइदिन्थी आमसभामा ऊ । धैर्य गरेर सुन्थी ऊ नेताको भाषण । आधा बुझ्थी आधा बुझ्दिनथी । तर पनि सुन्न छोड्दिनथी भाषण । नेताहरूले के के भने के के । कहिले जेटका कुरा गरे त कहिले खाली पेटका, कहिले पूर्वपश्चिम रेलका त कहिले पार्टीभित्रका जालझेलका । आकाशै छुने गरी कुरा गरे , एकै छिन्मा नयाँ नेपाल बनाइदिन्छु पनि भने । तराइ बन्द भएको आजै एक महिना दिन बित्यो । उसको श्रीमान्को खलासी कामको कुनै दाम छैन । विहान बेलुका छाक टार्ने दाल, भात , नून भुटुन केही छैन उसकोमा । ऊ पनि मधेसी मूलकी हो । कसको आन्दोलन भएको हो ऊ बुझ्दिन । कसका लागि हो त्यो पनि थाहा पाउँदिन । उसलाई यति थाहा छ उसको पेट खोक्रो छ त्यही आन्दोलनले गर्दा । उसका बच्चाका आँखाहरू रसाएका छन् त्यही आन्दोलनले गर्दा । ऊ झनै बुझ्न सक्दिन यी सारा कुरा । नेताहरू भन्छन् रे देश र जनताका लागि भएको हो रे यो आन्दोलन तर कुन जनताका लागि हो बुझ्नै सकिन कुमारीले आजसम्म ।

0 comments:

Post a Comment