Friday, 12 November 2010

मैले देश बेचेर आएको छैन!!म भागेर आएको शरणार्थी होइन!!




"मैले देश बेचेर आएको छैन!!म भागेर आएको शरणार्थी होइन!!"
संस्मरण - दीप्स शाह
deepssanu@gmail.com

बैदेशिक रोजगारको शिलशिलामा पहिलो पटक मनभरी बिषाद,त्रास् र थोरै उमंग बोकेर जम्मा १० जना कलीला उमेरका अभागी नेपाली मुनाहरु संगै सन् २००७ जनवरी १७ तारिखका दिन मध्यपूर्बको सुन्दर टुक्रो इज्राएलको अन्तरराष्ट्रिय बिमानस्थल बेनगुरियनमा रातको ९ बजे अवतरण हुंदा सम्म त्यती साह्रैनै नराम्रो लागेको थिएन कारण तब सम्म सबै साथीहरु संगै थियौँ। तर अलिक्क पर पुगेपछी जब मेरा इम्प्लोएर दम्पती सानो अपाङ्ग नानी बोकेर मेरो नाम अंकित प्ले कार्ड देखाउँदै अगाडि आए,, मेरो आँखा बाट आशु रोकिएन। त्यतिखेर मात्र मलाई अर्काको मुलुकमा टेकिसकेको तितो अभास भयो। त्यसबेला कतिधेरै कुकुसमुकुस त्रास बिस्मात को भुमरी चल्यो त्यो शायद कहिल्यै पनि शब्दमा उतार्न सकुँला। सबै साथी हरु त्यहीँ देखी छुटिए। म एक्लै लुरुलुरु लागेँ इम्ल्पोएर संगै कारमा सामान लादेर। हंसिला फरासिला र शिक्षित ति दम्पतीका शिष्ट भाषा,सम्मानजनक अभिबादन र स्वागत ले निक्कैनै राहत मिल्यो। कारमा बसिसकेपछी सानो अपाङ्ग नानी राखिदिए मेरो काखमा ,ती बच्चिकै हेरचाह गर्न म त्याहा पुगेको थिएँ जसबाट डलरको खोस्टो बटुलेर आफ्नो नानीको पेट भर्नु मेरो उद्धेस्य थियो।
नानी काखमा बोकिसकेपछी म एक्कासी हुत्तिँदै नेपाल पुगेँ जहाँ मेरो २३ महिनाको छोरो बिस्ताराको कुनामा सुतिरहेको थियो ,,लग्भग अढाइ दिन देखी आमाको दु:ख चुस्न त के मुख पनि हेर्न पाएको थिएन। बोली राम्रारी फुटिनसकेको त्यो अबोध मस्तिष्कलाई के थाहा थियो र उसकी आमा जीवनको जोहोगर्न कती टाढा पुगिसकेको छे। आमासंगको बिछोडमा लगातार रुँदा रुँदा घाँटी सुकेपछी गालामा आशुको टाटो र ओठभरी कलेटी बोकेर त्यसै निदाएको रहेछ । छेउमा मेरा पति बच्चो सुम्सुम्याउँदै निराशापूर्ण आँखाले सिलिङ्ग चाहर्दै रहेछन्। अर्को कोठामा मेरो बुढी आमा नातिको क्रन्दन र छोरीको बिदाइले आँखा गोल्भेँडा जत्रा पारेर पल्टेकी रहिछन्। त्यस क्षण म क्वाँ क्वाँ गरेर डाँकै छोडेर यसरी रोएँ सम्झिँदा अहिले पनि मुटु हजार टुक्रा हुन्छ। टिस्यु पेपर दिंदै एम्प्लोएर बुढीले अंगालो हालेपछी फेरी हठात् त्यही कार भित्र ओर्लिएँ भावनाको सगर बाट।
लगातार लग्भग साढे चार घण्टा को कुदाइ पछी बल्ल दक्षिणी इज्राएलको सुनसान सानो चिटिक्कको गाउँ 'फरान' पुगेर कार रोकियो। थाकेको ले तुरुन्तै सुत्न गएँ। भोलिपल्ट बिहान बाट मेरो जिन्दगीको कहर बिदेशीको घरमा जागिर सुरु भयो। काम नै गर्न भनेर त्यहा सम्म पुगेको थिएँ। गर्नु त थियो नै। तर तिनले पहिले भने जस्तो नानी स्याहार्न भने मलाई खासै लगाएनन्। यही कुरालाई लिएर म सुरु देखिनै बेखुसी रहेँ। त्यही अपाङ्ग नानी पनि बिहान देखिनै बेबी केयरमा लैजादा रहेछन् र साँझ ५ बजे मात्र फर्काउने रएछन् । मेरो काम त दिनभरी एक्लै घरको सफासुघ्घर धोइपखाली गर्नु रहेछ। सबै आ-आफ्ना काममा लगेपछी म दिनभरी एक्लै घरमा हुन्थेँ। दिउसो दुई घण्टा रेस्ट बाहेक बाँकी समय लगातार गधाले झैँ काम गरिरहनुपर्थ्यो। ठग्न जान्दिनथेँ त्यसैले एक्लै हुँदा पनि छिन् भर नबसी लगातार घर घोट्तै सफा गरिरहन्थेँ। काम त म आँफै पनि खोजी खोजी ब्यस्त रहन चाहन्थेँ। हात खाली भयो कि त मन उडेर घरै पुग्थ्यो ,,रोइरहन मन लाग्थ्यो । बरु काममा रहँदा भुलिन्थ्यो। दिन त जसो तसो बित्थ्यो जब बिस्तारी दिन ढलेर रात पर्थ्यो,, लाग्थ्यो कसैले जबर्जस्ती घाँटी दबाउँदैछ। मलाई सानो स्टोर रुम जस्तो छुट्टै सुत्ने घर दिइएको थियो, राती भएपछी दिनभरिको गधा दलाइकोकाम ले थाकेको शरीर अनी घरको सम्झनाले सताउँदा एक्लै डाँको छोडेर रुन्थेँ । कैयन रात रुँदा रुँदै बिहानीमा बद्लियो त्यसको हिसाब किताब आशुले किनेका हरिया डलरमा कहिल्यै हुन सक्दैन। कहिल्यै पनि हुने छैन।
बिस्तारै घुलमिल हुँदै गएँ, रुने क्रम त घटेन तर यस्तै हो भन्ने चाँही लाग्दै गयो। दुई छोरा र एक छोरी अली ठुला थिए तिनिहरु कुन्निकता कता बस्थे तर हप्तान्तमा भने घरमा आउँथे। रमाइलो गर्थे। सबैका आ-आफ्ना गर्ल्फ्रेण्ड ब्वाइफ्रेण्ड थिए। सुरु सुरुमा म अचम्म मान्थेँ तर यो त तिनिहरुको संस्कार नै थियो। मैले पनि अचम्मलाई सामान्य मान्दै पचाइदिन थालेँ।

त्यस्तैमा एक हप्तान्तमा ति छोराछोरिले आ-आफ्न केही साथीहरु पनि लिएर आएछन्। थरिथरिका परिकार् बनाएर टेबुल घेरेर बसेपछी बिभिन्न बिषयका गफ चल्न थालयो। म स्वाभाबैले अलिक गफी मान्छे। यस्तोमा त म खुशीनै हुन्थेँ। गफकै क्रममा एउटा सिकटे गोरोकेटोले मेरो बारेमा सोध्यो। उसले नेपाल भन्ने देश छ भन्ने कुरा मान्दैमानेन। उसको बिचारमा नेपाल भनेको भारतको कुनै प्रान्त हो भन्ने रहेछ। मेरा इम्प्लोएर ले सम्झाउँदा पनि मान्दै मानेन । निक्कै नै चर्काचर्की जस्तै पर्योे उसलाई सम्झाउन कि नेपाल भनेको एक छुट्टै सार्बभौमसम्पन्न मुलुक हो भनेर। त्यसबेला मैले अनुमान गरेँ कि यती सामान्य गफगाफमा त देश हुनु र नहुनुको यथार्थले यती असर गर्छ भने, साँच्चै नै भूगोलमा आफ्नो देश नहुँदाको अवस्था कस्तो हुँदो हो ईतिहास देखी वर्तमान अनी भबिस्यको कित्ता कित्तामा!! त्यसबेला मैले निकै कसरत गरेर बुद्द-लुम्बिनी, सगरमाथाको कुरो पनि राखेँ ,खोइ त्यतिनै होला हाम्रो घमन्डको बहाना शायद ।
त्यसपछी फेरी कुरो आयो समुन्द्र को। मैले भने हाम्रोमा समुन्द्र छैन जो भुपरिवेष्ठित मुलुक हो र संसारमा अरु पनि छन् समुन्द्र नहुने मुलुकहरु। त्यहा जम्मा भएका थुप्रै केटाकेटिले समुन्द्र नभएको र नदेखेकोमा मलाई खिसी गरे। त्यो उनिहरुको केटौलेपन् हो भन्ने जान्दा जान्दै पनि मलाई झनक्क रिस उठ्यो र पड्किएं कि नेपाल भनेको विश्वमा जलस्रोतको ब्राजिल पछी दोस्रो धनी देश हो। हामी संसारको छानो हौँ ,हाम्रो माथिको टाकुरामा पानी उम्रन्छ ,,त्यही बग्दै बग्दै संसारको धुलो मैलो पखाल्दै होचा भुभागतिर आएर तिमीहरुकामा समुन्द्र बनेका हुन्। हाम्रा तिर जहिंतहीँ का सल्सली बगेका पानी अञ्जुलीले भरेर पिउन हुन्छ तर तिम्रा समुन्द्रको पानी के गर्नु घुटुक्क एक घुट्को निल्न सक्दैनौ! मैले एसो भन्दा चाँही तिनिहरु अली खिस्रिक्क परे तर म भने आँफै भित्रभित्रै पोलिँदै थिएँ ,,मलाई थाहा थियो मैले पनि बागमतीको पानी एक थोपो मुखमा हाल्न सक्दिन नि! खाने पानीको समस्यामा नेपाल कुन नम्बरमा आऊला!! रात भर भर प्लास्टिकको जर्किन लिएर धारोको टुटी हेरी बस्ने शहरबासी देखी माटोको घैला चित्रो डोकोमा बोकेर आधा दिनको बाटो खोल्चिमा पानी लिन पुग्ने ग्रामीण नेपाली जिन्दगीको टड्कारो एैना आफ्नै मुटु भित्र दबाएर म घमन्डले फुलिएँ उसबेला ,,शायद यो अधिक नेपालीको चर्या हुनु पर्छ यस्तै सवालमा बिदेशी हरु सँगको गफगाफमा।
दिन बित्दै थियो तर झन पछी झन धेरै कामको चापले म आत्तिन थालेँ। साबिक भन्दा ५०$ तलब कम्ती थियो मलाई तर काम भने पहिले तोकेको भन्दा फरक र त्यो पनि धेरै। नेपालमा गरीबि थियो, दु:ख थियो, निमेक गरिन्थ्यो तर त्यसरी मेसिनले झैँ कसैको डर त्रासमा उज्यालो भए देखी अंध्यारो हुँदा सम्म घोटिनुपरेको कहिल्यै थिएन। केही समय पछी मैले आफ्नो तलब साबिक नै पाउनुपर्ने कुरा राखेँ। त्यसदिन इम्प्लोएर बुढी निक्कै रन्कीइ मसँग। म पनि के कम र! मैले पनि सक्दो प्रतिपाद गरेँ, कि म यसरी घरको सफाइ गर्न भनेर आएकै होइन। मलाई नानी हेर्नु भनेको थियो तर तिमी मलाई घर घोटाउँछौ। निकै बेरको चर्काचर्की पछी मलाई साबीक तलब दिन राजी भै।
यसो गर्दागर्दै ५ महिना लग्भग बित्न लागिसकेछ । एक हप्तान्त छुट्टी मनाउन भनी साथीहरुकोमा तेल अभिब शहर जाने निधो गरेँ। गएँ पनि तर फर्किँदा अलिक ढिलो भयो। मैले काम गर्ने ठाउँ बाट उक्त शहर पुग्न ५ घण्टा आउन ५ घण्टा जान गरी बसमा मात्र जम्मा १० घण्टा लाग्थ्यो। २६ घण्टाको साप्ताहिक छुट्टी बिताएर फर्किँदा २७ घण्टा लागेकोमा एक घण्टा धेर भो भनेर बुढीले बबण्डर झिकी। सुरुमा मैले माफि मागेर आइन्दा त्यस्तो नहुने कुरो गरेँ तर बुढी त्यतिले शान्त भैन। काम बाट निकाल्दिन्छु, यहाँ काम गर्न चाहने धेरै छन्। पछी काम नपाउदा थाहा पाउलिस् जस्ता कुराले मलाई प्रहार गर्न थाली। सुरुमा त डर पनि लाग्यो। कतै काम बाट निकाली भने कता जानु, उता बाट आउँदा लागेको पैसो उठ्नै अझै कती बाँकी छ। अन्त काम पाइने हो कि होइन। निकै बेर चुप लागेर बसेँ। तर गरीब भएर पनि पैसा नचिनेको, खान नपाएर काम खोज्दै आएका हरु जस्ता लाञ्छाना लगाउन थाले पछी भने म भित्रको स्वाभिमान नेपाली मन ले मलाई चुप लाग्न दिएन। अनी मैले पनि भाषण दिन थालेँ। भनेँ," लौ तलाई म मन परिन भने अहिले नै जान्छु म काम छोडेर। म कुनै मुलुकबाट अपधस्त या बिल्लिबाठ भएर भाग्दै भाग्दै शरण लिन आइपुगेको शरणार्थी होइन। मैले यहाँ आउनको लागि पुरा सात हजार डलर बराबरको रकम तिरेको छु र कानुनसम्मत दर्ता भएर तेरो देशको सरकारले जिम्मा लिएर ल्याएको हो मलाई। तैँले काम दिए पनि नदिए पनि एजेन्सिले मलाई काम दिन वाध्य हुन्छ र पुरा ४ बर्ष ३ महिना तेरो देशमा ढुक्कले रहन पाउँछु। अवस्य पनि हातमुख जोर्ने समस्याले म यहाँ आएको हुँ किन कि हामी गरीब छौँ पैसामा तर हार्दिकता र मानवतामा होइन तँ जस्तो जो एक घण्टाको समयलाई लिएर यत्रो रँडाको झिक्छेस्। यहाँ आउनको लागि मैले पैसा जुटाउन धेरै कसरत गरेँ तर याद राख् मैले देश बेचेर आएको छैन। आवश्यकता परे फर्केर जाउँला ,जहाँ गरीबी सही तर मेरो देशले हार्दिकताभरी अंगालो हाल्नेछ!!" यती भने पछी तुरुन्तै मैले आफ्नो कुम्लो कुटुरो बाँधेर त्यो मेरो लग्भग ६ महिना बिताएको जागिरे ठाउँ बाट संधैको लागि बिदा लिएँ।
संघर्षका दिनहरु त अगाडि बिस्कुनै थियो। पछी अन्तै आँफै काम खोजेर गर्न थालेँ ,। जिन्दगी चल्दै छ। तर अहिले पनि घरि घरि सम्झनामा मेरो प्यारो नेपाल पुग्दा मात्रै होइन छुट्टीमा घर जाँदाको आफ्नो माटो माथि धुलै मैलै किन नहोस् निर्धक्क आफ्नो हो भन्ने आत्मियता गाँसिएको सडक,गोरेटा धुलौटे बाटाहरु दुई गोडाले नापेको बखतको स्वाभिमानी र आफ्नोपनको आत्माभिमान कहाँ पाइँदोरहेछ पैसा र सुबिधामा भनेर सोच्ने गर्छु। म ज्यादा बुझ्दिन राजनीति, अहिलेको चर्को बहसको बिषय संघियता वा बिबिध तन्त्रहरु। म यती मात्र जान्दछु हामी आम नेपाली सबैभन्दा पहिले नेपाली हौँ अनी मात्र अन्य बिषय आउँछन्। सबैको साझा सवाल पहिले नेपाल आमा ,नेपाली माटो र हाम्रो स्वाभिमानको हुनुपर्छ नत्र ,,मलाई डर छ कतै भोली कुनै समयमा हाम्रा सन्ततीले मैले त्यो दिन भने झैँ "मैले देश बेचेर आएको छैन!!म भागेर आएको शरणार्थी होइन!!" भनेर भन्न सक्लान् कि नसक्लान्,पाउलान् कि नपाउलान्।

0 comments:

Post a Comment