Sunday, 26 September 2010

आमालाई पत्र




आदरणीय आमा
साष्टङ्ग दण्डवत !

आमा यो पत्र कोर्ने दिन सम्ममा हजुरको आर्शीबाद कुलदेवताको कृपाले अनि सानीकेा प्रार्थनाले गर्दा कुशल मंगल छु । अनि हजुरहरु पनि कुशलै हुनुहुन्छ भन्ने थाहा पाएँ पारी गाउँको हर्के वाट ।

साँच्ची आमा मैले गाउँ छाडे पछि त हर्के नरे धने सबै विदेश लागेछन् नि हगि ! खै किन आएका होलान् कुन्नी, आफु त काजीको रातो दिनको कचकच अनि दलालको फन्दा परेर फँसियो । नव युवाहरु गाउँको विकास र उन्नतीमा जुट्नु पर्ने वेलाका युवाहरु किन विदेशीएका होलान्? हुन त आमा म पनि कहाँ रहरले विदेशीएको हो र? आमा काजीको कचकच सहन नसकेर पो । म सानै छँदामा वुबाले काजीसंग लिनुभएको दुई हजारको साँवा व्याज स्याज लगाएर काजीले बिस हजार पुराएर घर कब्जा गर्न खोज्दा बाध्यतामा परेर पढ्दा पढ्दै बिचैमा छाडेर बिदेशिनु पर् यो । अनि दाजुहरुको रातो दिनको झगडा सहनु पनि कसरी दुई भाई बिचको झगडा हामी कति सहेर बस्नु । तैपनि हजुर त चुप रहनु भएको छ । कुन बेला कुन छोराको मरण हुने हो कुन छोरीको सिउँदो पुछिने हो थाहा छैन । आमा दाजुहरुलाई सम्झाउनुस् न, नत्र जोडतोड संग लड्ने छन् । उनीहरुको लडाँईको कुनै औचित्य छैन र हुँदैन पनि…

आमा काजीको ऋण चुक्ता गर्ने पैसा जम्मा भयॊ र दाजुहरु शान्त भए भने आउँदो दशैंको टिका थाप्न आउनेछु । अनि आमा हजुरलाई पनि आनन्द होला सबै भाई जम्मा भइ मेलमिलाप भएकोमा हगि ! आमा मेरो बारेमा कुनै चिन्ता नलिनु होला । हवस् त पत्र बाट बिदा चाहन्छु ।



हजुरको परदेशी छोरा
बसन्त थापा "जीवन"
अबुधावी, युएई

0 comments:

Post a Comment