फुर्के गोरुले आज दिनु सम्म दुःख दियो । ठाडो पुच्छर लगाएर कहिले जिम्मुवालको तलबारी कहिले थरिवाको घरवारी-घरवारी दगुरिरह्यो ।
"डाम्नाले आज विहान पानी खाएन… पुड्की कमिनीले फुर्केको ढाडमा लट्टी बजादैं गाली गरी-"त्यही भएर होला साढेंले दुख दिएको ।"
लश्करी पाठापाठीलाई दूध ख्वाउन घर तर्फ लम्की सकेकी थिई । बाटैमा थरिवाको मकैबारी देखेर मन थाम्न सकिन भित्र छिरी र मकैको सुइरो टिप्न थाली ।
थरिवा घर बारी बारवेर गरिरहेका रहेछन् । कडके - "हेर यस्तो खडेरीको मकै…भस्ककै पारिहाल्यो नि…कुन चाहींका साढें हुन हेर्न पनि नपर्नी ।" थरिवाको कोकोहोलो घन्कीएर डांडा पाखा थर्कियो । पुड्की कमीनीको हंसले ठाउं छाड्यो । "किरिया त पसेछ क्यारे" पुड्की कमिनि भुत्भुतिई ।
फुर्के दगुरिरहेको थियो । पछि पछि थिई पुडकी । तल भिर जाने ठाउं थिएन । सागुरों गल्छेडों फुर्के पछाडि फर्केर दर्गुन थाल्यो । पुडकी उत्तानो परेर लडी । कुल्चन चाहिं पाएन । टाउको बजारिएर दिउंसै तारा देखि पुडकिले । कुहिनोबाट रगत बगिरहेको …। जसोतसो उठेर धुलो झारे र्झैं गरि पुड्किले । मुख सुकेर आयो । पानी खाने मनसायले तल कुवातिर हेरि …। हरे… कोही रहेनछ कुवांमा । "हैन विष्ट जति सप्पैलाई बाधेंर लगेछन कि क्याहो दरौंदीतिर "
आफ्नै पाराले कराई पुडकी…॥
प्यास झन झन बढेर आयो । एक मनले सोची- "कोही छैनन आफैले कुवाको पानी झिकेर पो खाम कि कसैले देख्दैनन क्यारे !" फेरि अर्को मनले सोची- "कां हुन्थ्यो पोहोर काले दमैले यसै गर्दा विष्टहरुले धन्नै गाउंबाट निकालेका …। कुन्नि कति हो जरिवाना डाडें र छोडे । विचरा कालेले कुवां छोएको निहुमा छ महिना सम्म विष्टको ज्याला मजुरी गरेर तिर् यो ।"
थरिवा बाख्राको कान समातेर घिसादैं उतैतिर आईरहेका थिए । लश्करी फुस्रा आंखा पल्टाएर माथि माथि हेर्दै सकुन्जेल कराईरहेकी थिई । पुडकीलाई आपत पर् यो थरिवालाई पानी झिक्न लाउने विचार त्यसै पानी पानी भएर गयो । लश्करीले कति विर् याई कुन्नी कति तिराउने हुन थरिवाले । डरका मारे थरथरी काम्न थाली विचरी पुडकी ।
राजकुमार श्रेष्ठ
नेपाल चेम्वर अफ कमस्र कान्तिपथ काठमाडौं

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment