Sunday, 29 August 2010

पद्मश्री पुरस्कार सापकोटा र न्यौपानेलाई




खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान द्वारा प्रदान गरिने पद्मश्री साहित्य सम्मान २०६६ संयुक्तरुपमा श्री ध्रुव सापकोटाको अकल्पनीय उपन्यास तथा श्री अमर न्यौपानेको आख्यान 'पानीको घाम' लाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशी रु १५०,००१ रहेको छ ।

कथा र उपन्यास विधामा आफ्नो विशिष्ट शैली भएका ध्रुव सापकोटा नेपाली आख्यान साहित्यमा लामो इतिहास बोकेका स्थापित लेखक हुनुहुन्छ ।

सिक्किम, तिब्बत र नेपालको फराकिलो भूगोलमा फैलिँदै शरणार्थी समस्यामा जागरुक रहेर मानवीय अस्तित्वगत पीडालाई उहाँको अकल्पनीय उपन्यासले सुन्दर शैली र परिष्कृत भाषामा उजागर गरेको छ ।

त्यसैगरी अमर न्यौपानेको पानीको घाम नेपालगञ्जको साहित्यिक अध्ययन हो । नेपालगञ्जमा आधारित रहेर बृहत्तर राष्ट्रिय आकाङ्क्षामा प्रतिवद्ध हुँदै आख्यानले समसामयिक सार्थकता पाएकोछ । ताजा आञ्चलिक निरीक्षणको सहायता लिएर सृजना गरिएको यो कृति लेखनको प्रविधिमा प्रभावकारी हुनुका साथै अग्रगमनको मागलाई समेत पुरा गर्ने किसिमको छ । प्रायः निमुखा समुदायमा केन्द्रीत रहेर लेखिएको पानीको घाम नितान्त नौलो र मार्मिक छ ।

लेखकद्वयका दुवै कृति जीवन्त छन्, जीवनका उज्याला र अँध्यारा पक्ष समेटिएका छन्, सहित्यको सिर्जनात्मकतामा सचेत तथा सिर्जनाको स्वगत स्वच्छ स्वरुप स्थापित गर्न सफल छन् ।

वि सं २०६३ मा स्थापित पद्मश्री साहित्य सम्मान यस अघि दश गजामा उभिएर कृतिका लागि श्री गणेश रसिकलाई -२०६३), हिमवतखण्डका लागि श्री भानुभक्त पोखरेललाई (२०६४) तथा समय हराएको बेलाका लागि श्री कृष्ण बराललाई (२०६५) प्रदान गरिएको थियो ।

यस अधि मोफसलमा रही साहित्य साधन गर्ने स्रष्टालाई मात्र दिइने गरिएको पद्मश्री साहित्य सम्मानलाई यो वर्षदेखि मुलुकव्यापी गरिएको छ ।

0 comments:

Post a Comment