Sunday, 1 August 2010

वेवारिसे चिट्ठी






२०६५ साल फागुन २२ गतेको कुरा हो, नीता र म काम विशेषले छुट्टी मिलाएर तेल अभिव गएका थियौँ । सबै काम सके पछि हामी हार्चियोन रोड बाट लिभिन्स्की पार्कको बिचको बाटो हुँदै नेपाल फोन गर्ने कार्ड किन्न भनी मणि दाइको पसलतिर लाग्दै थियौँ । नीताको घर पाल्पाको पनि निकै बिकट गाउँमा भएकोले उस्ले ३ बर्ष अघि जस्तो रूपमा छोडेका आफ्ना मुटुका टुक्रा छोराछोरीहरूलार्इ देख्न त परै जओस, बोल्नसम्म पनि दुर्इ पटक मात्र पाएको दुखेसो पोख्दा निकै खल्लो लाग्यो । म आफूलार्इ निकै भाग्यमानी ठान्दै थिएँ ।किनकि मेरो घरमा नेटको सुविधा भएर बत्ती भएको बेला छोरालार्इ आफ्नो मनमा उर्लिएर आएको मातृत्व परैबाट भएपनि पोख्न पाएकी छु ।



हामी नेपाली जहाँ रहे पनि, जति नै बिदेशी सुबिधा भोगे, पनि त्यो पराइ लाग्ने र आफ्नो देशको पिडाले जति बेलै सताउन नछोड्ने रहेछ। हरेक सरसुविधा देख्दा ‘हाम्रो देशमा पनि यस्तो भए !’ भन्ने भावना आइहाल्ने । अनि आफूलार्इ बाध्यताबस बिदेसिनु परेकाले निकै अभागी ठान्न पुगिने । यस्तै दुखेसाहरू एक अर्कामा पोख्दै हिड्दै थियौँ अचानक मेरा आँखा नजिकैको हरियो घाँसमाथि बेबारिसे पल्टिरहेको एउटा सफा,पहेलो रंगको खाम तिर पर्यो । नीताकै कुरामा ध्यान दिदै म टक्क अडिएँ । मेरा आँखाको ध्यान भने त्यो खाम तिर गयो । म अडिए पछि नीताले मलार्इ हेरी। उस्ले मेरो ध्यान तिर हेरी । म के गरैाँ के न गरैाँ दोधारमै थिएँ ।नीताले अघि सरेर त्यो खाम टिपेर पल्टाउँदै भनी, “हेर कस्ले चिठी पठाउन ठीक्क पारेर नाम सम्म लेख्न नभ्याइ यहाँ खसालेछ। कस्को होला ? नाम भएत जसरी नि खोजेर दिनु हुन्थ्यो तर छैन ।खोलेर हेरैाँ ल ! भित्र कसैको नाम छ कि।'' उ एक्लै बोलीरही ।



मैले भने, ''हैन, नखोल् । यही छोड्दे ।कस्को के हो ।'' उस्ले मानिन ।



''नाम भएको भए पो खोल्न अफ्ठ्यारो त । नामै छैन । खोल्न ।'' मेरो हातमा थमाइ दिर्इ ।



हामी नजिकैको चैातारीमा बसेर खोल्ने निधो गर्यो ।बरू भित्र कसैको नाम ठेगाना भए। दिने बिचार गरेर खोल्ने निधो गरेर चैातारोमा बस्यो ।मैले त्यो निकै पाना भएको चिठी सुरू गरे ।


‘’प्रिय देव ,

तिम्रो पत्रको उत्तरमा आज म मेरो वास्तविक जिन्दगीको तितो तर सत्य कथा तिमीलार्इ मात्र तिमीलार्इ सुनाउँदै छु ।तिमीलार्इ कति पीडा हुँदो होला मेरो जीवन कहानी सुनेपछि म अन्दाज गर्छु ।’’




नीताले निकै चासो लिदै भनी, “अहो कसैको प्रेम पत्र पो जस्तो छ है।“



हामी हास्यौं, मुहारमा एक किसिमको भाबुकता, कैातुहलका साथमा ।




‘’देव, तिमीले सोधेका थियौँ, “किन तिमी एक्कासी विदेश गएकी? तिम्रो पारिवारिक स्थिति पनि त त्यस किसिमको नाजुक थिएन भन्ने कुरा हाम्रो साथी गीताबाट थाहा पाएँ। तिम्रो श्रीमान पनि पढेलेखेको । तिमी पनि त काम गर्थ्यौ रे । अचानक किन यति ठूलो निर्णय लियौ?” आज म तिम्रा सबै प्रश्नको उत्तर दिँदैछु । मेरो वैवाहिक जीवनको कहानी जुन आजसम्म मैले आफैमा सिमित राखेर अरूका सामु हाँसेरै हिडेकी थिएँ। परिवारमा म एक सुखी पत्नी, बुहारी थिएँ । अझै पनि म छु । तर मेरो आत्माको घाउ कस्लार्इ थाहा ?’’




म रोकिएँ । नीतालार्इ हेरेँ । उ भावुक भएर मेरो मुखमा हेरी रहेकी रहिछे। म पढ्दै गएँ ।


‘’देव, मैले तिमीमाथी अन्याय गरें । हाम्रो मायामाथि अन्याय गरें । तर त्यो मेरो बाध्यता थियो । जातीय सामाजिक बन्धन तोड्ने तिम्रो हिम्मतमा साथ दिएकै हुँ मैले, दिन चाहेकै हुँ । तर मेरा बा र आमाले जुन धर्मसंकटमा पारिदिनुभयो त्यो चाही तोड्न सकिनँ । हाम्रो योजना थाहा पाएपछि बाले पासो लागेर मर्छु भन्नुभयो । बाको त्यो वाक्यले मलार्इ त्यो दिन मर्नु न बाँच्नु बनायो । आमा त डाको छोडेर रून थाल्नु भयो र भन्नु भयो, “तेरो कारणले बाले केही गर्नु भयो भने म जीवन भर तेरो मुख हेर्दिन ।“ अब भन देव मैले त्यो बेला गरेको निर्णयलार्इ तिमी धोका भन्न सक्छौ? मैले मेरो जन्म दिने बाआमालार्इ त्यो रूपमा पुर्याएर मेरो प्रेमलार्इ मात्र महत्व दिन सकिँन देव।



तर म कति भाग्यमानी, मैले तिम्रो क्षमा पाएँ, तिम्रो माया निरन्तर पाएँ । तिमीले तिम्रो वचन राख्यौ । तिमी भन्ने गर्थ्यौ मेरो बिहे अर्कैसंग भए पनि तिमी मलाई माया गरिरहनेछौ । मप्रतिको तिम्रो चासो, बेलाबेलाको सोधपुछ (हाम्रो साथी गीता मलाई तिमीले सोधेको सबै कुरा बताउँछे) आदि सबैलाई मैले तिम्रो मायाको वचन नतोडिएको रूपमा लिएकी छु । म गलत छुइन हगि ? कि छु ?


तर अब समाजको अघि हामी पराइ । हामीले एक हर्का प्रति चासो राख्न पनि नपाउने गरिका पराइ । तर उनीहरूलार्इ के थाहा हाम्रो आन्तरिक दुनिया एउटै छ, हाम्रो आत्मा एउटै छ । होइन त ?



देव, हेरन म कता पो बहकिन थालेछु । म तिम्रो प्रश्नको उत्तर दिन खोज्दै थिएँ । हो देव, तिमीले सुनेको कुरा सही हो । मेरो पति पढेलेखेको विद्वान मान्छे , एक भलाद्मी पुरूष । समाजको अगाडि हाम्रो जोडी भगवानले नै मिलाइ दिएका थिए। उस्लार्इ म प्रतिको कर्तब्य सबै थाहा छ। मैले पनि त मेरो आत्मालार्इ दबाएर भए पनि मेरो पति स्वीकारेकी हुँ ।मैले मेरो पत्नी धर्म निभाउन कहिल्यै कुनै ठाउँमा चुकिन । बिहेको लगन सँगै मेरो आत्मालार्इ बिर्सिने कोशिश गरेँ। सफल भएँ या भइन त्यो मलार्इ थाहा भएन ।मेरो आत्मालार्इ नै थाहा छ। त्यो घरको प्रबेश सँगै मैले कुशल पत्नी र कुशल बुहारीको भुमिका निभाउन थालेँ ।मेरो पतिको मुहारमा खुशी ल्याउन मैले आफ्नो तर्फबाट कुनै कुरामा चुकिँन भन्ने कुरा उसको व्यवहारबाट थाहा हुन्थ्यो ।



समय बित्दै जान थाल्यो यसै गरी ।मेरो पति एक आदर्श ब्यक्ति सबैका सामु । तर देव, मेरो सामु ऊ किन फिका पर्यो ?किन उस्को ब्यवहारमा म खुशी हुन सकिंन? या उस्ले मेरो भावना किन बुझ्न सकेन?किन ? ऊ मलार्इ धेरै माया पनि त गर्छ,विस्वास गर्छ ।मेरा हरेक आवश्यकता पुरा गर्न खोज्छ तर के उस्ले पुरा गर्यो ?मलार्इ खुशी देख्न चाहन्छ । तर मेरो गुनासो के हो भने उस्का आँखाले मलार्इ सधै त्यत्तिकै खुशी देख्छ । उ मेरो आवश्यकता बुझ्दैन । उ केही सोध्दैन । उसले सोध्नै जानेको छैन । देव ,मैले ऊबाट ठुलो ठुलो कुराको आश गरेको होइन । तर हेरन दिन भरि थाकेर आउँदा उसले कहिल्यै के भयो आज? किन अनुहार अध्यारो छ ? बिसन्चो भयो कि ? किन सोधेन यस्ता प्रश्न ? मेरा सानातिना अ।वस्यकता पनि उस्ले किन बुझ्न सकेन ?या किन चासो राखेन? ,एक दिन को कुरा हो ।म टाउको दुखेर अफिस नगइ घरमै सुतेँ ? ऊ आयो। सुतेको देखेर के भयो ?किन सुतेको? सम्म सोधेन ,मेरो छेउमा बसेर एक शब्द सोधेको भए म निको भइहाल्थेनि। मैले चाहेकै त्यति थियो। मेरो दुखेको मनमा उसका शब्दहरू मल्हम बनून ।मेरो दुखेको टाउकोमा उसको हातको स्पर्शले छिनमै निको पारोस् ।मेरो थाकेको शरिर उसका मायालु सामिप्यले एकै क्षणमा निको पारोस् ।मैले के ऊ बाट नहुने कुरा आश गरेँ देव! मेरो मुहार हसाँउन उस्ले के त्यति गर्न नसक्ने हो त?किन ? किन यति सानो कुरा बुझेन उसले । यस्तो क्रम चलिरह्रयो. म सके सम्म सहदै गएँ ।म भित्र भित्रै रोइ रहेका बेला पनि ऊ मलाई सामान्य देख्थ्यो, मलाई हाँसिरहेको देख्थ्यो, र ऊ हाँसिरहेको हुन्थ्यो ।मेरो मुहार कालो हुँदा सम्म उस्ले मेरो पिडा बुझेन । यी सब कुराले मलाई बिस्तारै बिस्तारै, मैले नचाहदा नचाहदै पनि, मलाई तिम्रो सम्झनामा, हाम्रो अतितमा पुर्याउन थाल्यो । म टुट्न थालिसकेकी थिएँ । तर मेरो पतिले मलार्इ नियाल्नै सकेन । मेरो अध्यारो मुहार त उज्यालो देख्ने मेरो पतिले मेरो भावना कसरी बुझोस् !


उ मलाई माया नगर्ने होइन । उसले मलाई गरगहना, लत्ताकपडा, हरेक कुराको थुप्रो लगाइदिएको छ । तर ती बेला न कुबेलाका उपहारले मलाई किन किन आनन्द दिदैनन् । मलाई त मेरो खास दिन, मेरो खास चाहना, मेरो खास मुड बुझ्ने, सोध्ने, मनाउने मान्छे चाहिन्छ । तिमी जस्तो । माफ गर म बहकिएँ । तर हो के । म चाहन्छु ऊ मलाई बुझोस्, मैले नभनीकन । तर ऊ बुझ्दैन । म मुख खोल्न सक्दिन । म मुख खोल्नै सक्दिन । कहिलेकाही त मुख खोलेर हेरूँ जस्तो लाग्छ, तर आफूलाई त्यस अवस्थामा ल्याउनै सक्दिनँ । म आफैले मेरो ईच्छा उसलाई बुझाउने कुरा सोच्दा पनि मेरो नौनारी गलेर आउँछ । मेरो शक्ति नै हराउँछ । मेरो केही हराए जस्तो, मेरो केही घटेजस्तो, मेरो केही गुमे जस्तो, मेरो केही लुटिए जस्तो हुन्छ । किन यस्तो हुन्छ, मलाई केही थाहा छैन । मामूली कुरा भएर मुख खोल्न नसकेको हुँ कि, मैले मुख नखोलेर मामूली कुरा पनि यति ठूलो हुन गएको हो कि, मलाई केही थाहा छैन ।
एकदिन साहस गरेर भनौं कि के, नौनारी गल्न खोज्दाखोज्दै पनि मैले ‘मेरो जन्मदिन भोली हो’ भनेर भनेकी थिएँ । तर त्यो मेरो लागि ठूलो दुर्भाग्य साबित भयो । मैले त्यति भनिसकेपछि त उसले मेरो जन्मदिन मनाउँछ, मेरो निम्ति उपहार ल्याउँछ भन्ने मेरो विश्वास चकनाचुर भयो । साँझदेखि नै भोलीको दिन मेरो निम्ति नयाँ दिन हुनेछ भन्ने मेरो आसा पुरा भएन । मेरो जन्मदिनको बिहान मप्रति उसको बेवास्तालाई मैले 'सर्प्राईज' होला भनेर धैर्यतापूर्वक कुरें । दिनभरी, साँझ, रातीसम्म पनि मेरो उत्सुकता, अधैर्यता, आसा उसका सधैं झै को सामान्य दिनचर्याले बगाएर लग्यो । म मेरो संकेत उसले नबुझेको रिसमा, अपमानमा, मणी हराएको सर्पजस्तो, मूल्य नभएको व्यक्तिजस्तो रित्तोपन लिएर सुतें ।

मेरो रित्तो जीवन सुत्यो । र बिउँझ्यो मेरो भरिपूर्ण अतित । तर म गर्न नै के सक्थें र ।


मेरो मनमा अब ऊसँग बस्नु भन्दा टाढा कतै जान पाए हुन्थ्यो । यस्तै विचार आउन थाल्यो । तर म ऊसँग छुटिन पनि त सक्दिनथेँ, किनकि ऊ मलार्इ माया गर्छ, उसको बिचारमा । समाजमा हामी होनहार जोडी । मैले पनि त कहिल्यै गुनासो गरिनँ, मुख खोलिन, मलार्इ यो कुरा मन परेन भनेर। बरू भित्र भित्रै टुटेँ म ।मेरो अतितले पनि मलार्इ अब टुट्नमा ठूलो सहयोग पुर्याउन थाल्यो । म जति जति पतिका सामु पर्न थालेँ उति उति मेरो मनमा एक किसिमहो उथलपुथल आउन थाल्यो । ऊबाट म टाढिन थालेँ तर पनि उस्ले बुझेन । हद भयो मलार्इ अब। एक रत्ति पनि त्यो घरमा बस्न मन लागेन ।''



मैले नीतालार्इ हेरे । उसका अखा भरिएका थिएँ । मलार्इ पनि चिठी अगाडि बढाउन निकै गाह्रो पर्दै पनि फेरि सुरू गरेँ ।




''मेरी साथी रन्जिताले मलार्इ एक दिन इजरायलबाट फोन गरी ।हुन त उस्ले पहिले पनि गरिरहन्थी ।त्यो दिन किन किन मैले इजरायलको बारेमा चासो राखेँ । उसको “ज्यादै राम्रो छ, सबै कुरामा हामी महिला अति नै सुरक्षित हुन्छ ।यहाँ काम पनि केयरगिभरको हो ?एक जनालार्इ मात्र हेर्नु हो हाम्रो काम ।नारी प्रधान देश भएकाले यहाँ हामीलार्इ कुनै कुराको चिन्ता लिनु पर्ने हुँदैन ।पैसा पनि राम्रो छ ।“ आदि बर्णनले म चुपचाप भएँ तर मेरो मुहार केही उज्यालो भएको पनि महसुस गरेँ । अब मैले पतिबाट छुटिन कुनै तमासा गर्नु परेन ।उस्को चित्त दुखाउनु पनि परेन । उसबाट म टाढा हुन लागेको महसुस गराउनु पनि परेन र मलार्इ पनि केही बर्ष भए पनि बरू एक्लै शान्ति मिल्ने छ भन्ने ठानें । मैले उसलार्इ राम्ररी सम्झाएँ । मेरो अफिसको खटाइ, दु:ख, थोरै पैसा, दुइ जनाको कमाइ भेला पार्दा खानलार्इ त दु:ख नभए पनि भविष्यका लागि पनि केही गर्नु पर्छ - यसरी राम्ररी निकै दिन सम्झाए पछि सल्लाहमै म यहाँ आएँ ।



घर छोडे पछि सबै मेरा समस्या समाधान होलान् भन्ने त मेरो भ्रम मात्र रहेछ । मैले चाहेको शान्ति अनुभव गर्न सकेकी छुइन । सबैकुरा मसंगै टाँस्सिएर बसेको जस्तो लाग्छ । म के गरौं ? यो कुराले मलार्इ धेरै सताउँछ । यतै बाट अन्तै कुनै मुलुक छिरैाँ कि जस्तो पनि लाग्छ तर जहाँ गए पनि मेरो रित्तोपन मसंगै आउनेछ । म जहाँ गए पनि, तिमी र म भेट्ने ढल्के वर सँगैको चैातारी, तिम्रा सानासाना र प्यारा उपहारहरू, मैले केही नबोली मलाई बुझ्ने तिम्रो मन, कहीं पाउने छुइन । घर फर्केर जाउँ, उही निस्सासिँदो जीन्दगी, उही शुन्यता । म दोधारमा छु देव । अब तिमी नै भन म के गरैाँ । हामी यो जन्ममा एक हुन नसके नि एक आत्मीय साथी, दु:खसुखको साथी त भएकैछौ नि । म तिम्रै सल्लाहको प्रतिक्षामा रहने छु है ।



उही रानु” ,




हामीलार्इ चिठी सुरू गर्दा रमाइलो लागेको थियो तर अन्त्यमा आइ पुग्दा दुबै जना निकै भावुक भयौँ । नीताले चिठी तानेर पल्टाउन थाली कतै पनि ठेगाना लेखिएको थिएन। अब के गर्ने के नगर्ने हुँदै मैले चिठी फेरि खाममै राखेर हातमै सबैले देख्ने गरि बोकेँ ता कि कसैले मेरो हो भनोस् र दिउँ तर त्यो दिन तेलभिव ताखाना मार्काजित नजिकैका धेरै ठाउँ घुम्दा पनि कसैले यो मेरो भनेन । दु:ख लाग्यो ।


उमा सुवेदी
२०६७ असार ७, इजरायल

0 comments:

Post a Comment