Monday, 26 July 2010
नेपालको संघीयता र अन्योलता
हाम्रो देश नेपाल संघीय गणतन्त्र घोषित भैसकेको परिस्थितिमा अझ पनि यही विषयमा संविधानविद सभासदहरू एक मतैक्य हुन सकिरहेका छैनन् । हाम्रो देश संघीय रुपमा विभाजन गर्दा कुन रुपले र कहाँ कसरी गर्ने भन्ने कुराहरू राजनीतिक पार्टीहरू एक हुन सकिरहेका छैनन् । यो राजनीतिक जमातमा संघीय गणतन्त्र गर्न हुन्न, नेपाल सानो देश, त्यो माथि जातीय बिखन्डन तर्फ जान्छ भन्ने समुह पनि सक्रिय छन् । नेपालमा राजतन्त्रको विरुद्द लाग्नेहरू पहिलेदेखि नै गणतन्त्र र संघीयता कुरा गरेको सर्वबिदितै छ । आखिर राजा हटाउनलाई मात्र संघीय गणतन्त्रको नारा लिएर राजनीतिक पार्टीहरू मिलेका हुन् त त्यो बेला ? हरेक राजनीतिक पार्टीहरू आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि भनेर मिलेर यो विकराल समस्यालाई चाडोभन्दा चाडो समाधान गर्नु पर्ने स्थिति छ । संक्रमण कालिन अबस्थामा राजनीतिक पार्टीहरू मिलेर जानु नै राम्रो देखिन्छ । अन्यथा यो समस्या ले धेरै ठुलो रुपमा बढेर जानेछ । एक अर्कामा अर्कालाई घुडा टेकाएर आफ्नो कुरा मात्र मनाउने अनि लाद्न खोज्नु जनताको भावना कुल्चनु जस्तै हो ।
आजभन्दा २३५ बर्ष अघि अमेरिकामा, अनि २०० बर्ष अघि स्वीजरल्याण्ड संघीय व्यवस्था लागु भएको हो । भारतमा ब्रिटिशले छोडेपछि भारतीय नेताहरू गान्धी, जवाहरलाल नेहरू मिलेर संघीय गणराज्य बनाए । अहिलेसम्म संघीय राष्ट्रहरू संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान, स्पेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला, अस्ट्रेलिया, ब्राजिल, इथोपिया, क्यानाडा, जर्मनी, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना इत्यादि अनेकौं देशहरू छन् । संघीय राज्यहरू ठुला देश मात्र नभएर सेन्ट किट्स र नेभिस जस्ता ४०-५० हजार मात्र जनसंख्या हुने पनि छन् । संघीय राज्य निर्माण कसरी गर्ने सवालमा आफ्नो आफ्नो देशमा फरक धारले बनेका उदाहरणहरू पाईएका छन् । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरू क्षेत्रीय आधारमा संघीय बनाउन चाहँदा चाहँदै पनि भाषिक तथा क्षेत्रको आधारमा संघीयतामा जान बाध्य भए ।
संघीय राज्य निर्माण बिभिन्न किसिमले बन्ने गरे तापनि दुई तरिकाबाट बनेको देखिएको छ। बिभिन्न स्वतन्त्र राज्यहरूले आपसमा सम्झौता, सन्धि गरेर संघीयता निर्माण गर्छन, यसलाई Coming Together भन्ने गरिन्छ ।
अमेरिका, अस्ट्रेलिया, स्वीजरल्याण्ड यसरी नै बनेका हुन् । सन् १७७६ मा अमेरिकामा १३ वटा राज्य मिलेर ब्रिटिश उपनिवेस विरुद्द युद्द गरी स्वतन्त्रता प्राप्त गरे । अनि १३ राज्यहरूले साझा सुरक्षाको लागि महासंघ व्यवस्था गरी बसे, पछि सन् १७८७ मा त्यहीं महासंघको बिकशित रुप नै अहिलेको संघीय अमेरिका हो । स्वीजरल्याण्ड पनि साना साना क्यानटोनहरू मिलेर बनेको हो । संघीय राज्य बन्ने दोस्रो तरिका धेरै राज्यलाई सँगै मिलाएर राख्ने हो, यसलाई Ho।ding Together भनिन्छ । भारत, स्पेन, अस्ट्रिया, बेल्जियम यही Holding Together बिधिबाट संघीयता बनेका हुन् ।
संघीय राज्यमा केन्द्रीय सरकार र राज्य सरकार हुन्छ । बिभिन्न देशमा फरक फरक नामले सम्बोधन गर्ने गरिएको छ । अमेरिका, अस्ट्रेलिया, भारतमा State, क्यानाडामा Province, स्वीजरल्याण्डमा lander, बेल्जियममा Reigon, संयुक्त अरब एमिरटेसमा Emirates भनिन्छ । संघीय देशहरूमा केन्द्रीय र राज्य सरकारको अलग अलग संविधान हुन्छ । अमेरिका, क्यानाडा, स्वीजरल्याण्ड, रुस, अस्ट्रेलिया, दक्षिण अफ्रिकामा केन्द्रीय र राज्य प्रान्तको बेग्लै संविधान छ । तर भारत, स्पेन, मलेसिया, पाकिस्तान, बेल्जियममा केन्द्रीय संविधान नै प्रान्तको संविधान समावेस गरिएको छ । केहि संघीय देशहरूमा केन्द्रीय सरकारले बढी हस्तक्षेप गर्छ । भारत, पाकिस्तान, मलेसिया अर्ध संघात्मक देश हुन् ।
स्वायत्त संघीय राज्यहरूमा विशेष अधिकार दिएको हुन्छ, केन्द्र सरकारले राज्य सरकार भंग गर्न सक्दैन । केन्द्रीय सरकारले आवश्यक क्षेत्रमा मात्र हस्तक्षेप गर्ने गर्छ । केहि देशमा त्यहाँका आदिबासी जनतालाई सहुलियत दिन तथा खुशी बनाउन राजनीतिक संरक्षण दिएको हुन्छ । क्यानाडाको क्युबेक राज्य एक उदाहरण हो, त्यहाँ फ्रेन्च भाषीहरूको आफ्नै विदेश नीति छ । संघीय देश भित्र विशिष्ट इतिहाँस बोक्ने भू-भाग राज्यलाई विशिष्ट अधिकार दिएर फुट बिभाजनबाट रोक्न असमान संघीयवाद लागु गरेको पाइन्छ ।
नेपालको संघीय शासकीय प्रणाली स्वरूप कस्तो हुनेछ ? अमेरिका जस्तो कार्यकारी राष्ट्रपति प्रणाली वा भारतको जस्तो संसदीय कार्यकारी प्रधानमन्त्री ? अलंकारिक राष्ट्रपति संसदबाट चुन्ने नजिर बसी सकेको अवस्थामा अब कार्यकारी प्रधानमन्त्री सिधै चुनाव जनताबाट कि संसदबाट कसरी चुन्ने सवालमा अझ पनि राजीनितिक पार्टीहरू एक मत छैनन् । साथै संघीय राज्यको मुख्यमन्त्री जनताले कि संसदबाट चुन्ने ?
संघीय राष्ट्रहरूमा अदालतको महत्वपूर्ण भूमिका छ । अमेरिका, स्वीजरल्याण्डमा अदालतहरू स्वायत्त छन् । तर भारतमा अदालत एकात्मक छ, राज्य सरकारमा चित्त नबुझेको भारतको सर्वोच्च अदालतमा निवेदन दिन सकिन्छ । यहाँ नेपालमा हरेक जातिले स्वायत्त राज्य, स्वायत्त अदालत माग गरी रहेका छन् । हरेक राज्यले प्राकृतिक स्रोत साधनलाई आफ्नै योजना अनुरुप भोग चलन हुनुपर्छ, यसमा केन्द्रीय सरकारले हस्तक्षेप गर्न नमिल्ने कुरा उठाई रहेका छन् ।
राजा पृथ्वी नारायण शाहको एकीकरण पछि नेपालको इतिहासमा खस पर्वतेहरू मात्र शासकको रुपमा उदाएपछि सिङ्गो मुलुक एकै जाति,एकै भाषीले मात्र हाली मुहाली भएको कारण अहिलेको यो संघीयताको कुरा आएको हो । विशेष गरी धेरै जाति अनि बहुभाषी भएको राष्ट्रमा सत्ता साझेदारी समन्वय गराउन संघीय राज्य प्रणाली लागु गरिएको देखिन्छ । उदाहरणको रुपमा भारतमा केन्द्रीय सरकार गान्धी खलकको पकड भए पनि अरु राज्यमा त्यहींका रैथाने स्थानीयले मुख्यमन्त्री भई सरकार चलाएका छन् । जस्तो सिक्किममा पवन चामलिंग, सन्चमान सुब्बा, नर बहादुर भण्डारी छन् । बिहारमा यादवहरू, बङ्गालमा बंगालीहरू, नागाल्याण्डमा नागाहरू मुख्यमन्त्री छन् । यी सबै जातीयता र भाषिक क्षेत्रलाई मनन गरी निर्धारण गरिएको देखिन्छ । नेपालमा खस पर्वते मात्र प्रधानमन्त्री किन हुन्छन, अरु जातिका कोही लायक छैनन् ? पंचायत कालमा १४ अंचल बनाएर १४ जना अन्चालाधिस नियुक्ति गर्दा सिधै राजाबाट मनोनित हुन्थे । अन्चालाधिस त्यो अंचलको नहुन नपर्न पनि सक्थ्यो । र ऊ त्यो अंचलको आदिवासी, रैथाने नभएको सप्रमाणहरू छन् । यही वितृष्णा अनि राजनीतिक उथल पुथलका कारण हरेक आदिवासी जनजाती अहिले स्वायत्त संघीय राज्यमा मोडिएका छन् । ता कि भोलि स्वायत्त संघीयता भएपछि खम्बुवान, लिम्बुवान, तमुवान, शेर्पा, खसान, मधेसी, मगरात, नेवा, ताम्सालिंग राज्यमा आदिवासी जनता सत्तामा पुग्न सक्छन । संघीय राज्यको विकेन्द्रीकरणले देश बिकाश निर्माणमा द्रुत गति लिन्छ । र "आफ्नो गाउँ आफै बनाअौं", जस्तै आफ्नो राज्य आफै बनाअौं अनि सत्ताको हकदार आफै बनाअौं" यो नै अहिलेको संघीय राज्य माग्नेहरूको आवाज हो ।
अन्तमा, समग्रमा संघीयता कुनै नराम्रो प्रोपोगान्डा होइन । आशा छ, संघीयताले देशलाई जातीय बिखन्डन तर्फ लाने छैन । यसलाई राम्ररी मलजल गरी मिलाएर सामुहिक रुपमा एउटा निचोडका साथ समस्याको समाधान तर्फ हाम्रा देश नेपालका राजनीतिक दल अनि नेताहरू लागेमा, अवस्य हाम्रो संघीयता अमेरिका, स्वीजरल्याण्ड, क्यानाडा जस्तो त नभनौ तर हाम्रो आफ्नै मौलिकपनको सबै जनजाति आदिवासीलाई समेटेर अझ विशिष्ट किसिमको संघीय गणतन्त्र प्रादुर्भाव गर्न सकिन्छ ।
*** "छलफल र बहसको लागि खुला" ***
यो लेखको आशय नेपाल संघीयतामा जाने घोषणा गरी सकेको परिप्रेक्ष्यमा अब कसरी संघीयतामा जाने भनेर बहसको लागि .....यहाँहरू समक्ष प्रस्तुत गरेको हो । तपाईहरू कमेन्ट गर्न डराउनु पर्दैन, कसैले संघीयता विरोधी वा संघीयता समर्थक भन्दैमा आफ्नो मनमा लागेको कुरा लुकाउनु हुदैन, प्रजातन्त्रमा वाक स्वतन्त्रता हुन्छ ।
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम articles, लेखरचना .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment