- अशोक पार्थिव तामाङ
यहाँहरूलाइ पनि निम्तो छ होला ,
पण्डित बाजेहरूको यज्ञको लागी ।
यज्ञ धुमधाम् हुन्छरे !
यज्ञ घमासान हुन्छरे !
यज्ञ कि वार कि पार हुन्छरे !
यज्ञमा निमन्त्रणा कोसेली सुपारी बाँडिएको छैनहोला तँपाइलाइ
शायद् सुपारी फलेन होला यसपाली
वा सुपारी बिनाकै निम्तो गरिएको पनि हुनसक्छ ?
खैर केहि छैन
तर यज्ञमा सामेल हुन आउँदा
नबिर्सिनुस्
हातमा एउटा लाठो होस्
दुइ चार वटा गाडीका टायर बोक्नुस्
पुरानो टायर नभेटे कतै पनि
आफ्नै मोटरसाइकलको थोत्रे पाङग्रा खोल्नुस् ।
छ भने गुलेली बोक्नुस् ।
छैन भने बजारमा सस्तैमा पाइन्छ जोडजाम् गरीहाल्नुस् ।
इटाका टुक्राहरू घर वरीपरी थुप्रो थुप्रो पारेर राख्नुस् ।
किन भने,
यो पालीको यज्ञ अरू यज्ञ भन्दा पृथक गर्नुछ ।
यज्ञ धुमधामले गर्नुपर्छ ,
यज्ञ बाजा बजाएर गर्नुपर्छ ,
किन भने यो यज्ञ एतिहासिक हुँनेछ ।
सबैले सम्झिनेछन् ।
बजारका टुक्रा टुक्रा कवाडी सामान बाहिर निकाल्नुस् ,
किनभने यो यज्ञमा सबका सब काम लाग्नेछ।
किनभने यसलाइ शसक्त र एतिहासिक बनाउँनुछ रे !
यो यज्ञमा धेरै पण्डितहरू हुनेछन् ।
तँपाइहरूले होम् चढाउँदै जानुहुनेछ एक एक
इटा,गुलेली,धनुष,
लाठो के के हो के के ?
त्यसैले तँपाइहरूको स्वर यदि सानो र झिनो छ भने
अहिले देखि रियाज गर्नुस्
त्यसबेला सम्ममा ठुलो स्वरमा कराउने अभ्यास सफल भएको हुनेछ।
ज जसले जहाँ जहाँ बाट हुन्छ
त्यहि त्यहिंबाट कराउँनुस्
सक्नुहुन्छ
छेर निस्किन्जेल कराउँनुस् ।
किन भने
यति खेर नै कराउँने बेला हो जति कराए पनि
रत्नपार्क देखि सिंहदरवार सम्मका सडक छेउछेउका बारहरू
पक्ल्याक् पुक्लुक भत्काउनोस्
यहि हो भत्काउँने बेला जति भत्काए पनि।
दशरथ रँगशाला देखि अनामनगर सम्म
गोठाटार,स्युचाटार भए जति सबै टारै टारहरू
टुँडिखेल,लगनखेल देखि धुलिखेल सम्म
भए जति सबै सबै खेलहरू नछोड्नुस् ,
किन भने यसलाइ एतिहाँसिक बनाउँनु छ।
कान्तिपुर, भक्तपुर, किर्तिपुर भए जति सबै पुरै पुरहरू
भए जति सबै सडकहरू , गल्लीहरू
भए जति सबै बस्तीहरू ,
भए जति सबै खेतहरू ,
यो यज्ञमा लाग्नुपर्छ रे !
ए ! बाबै नि ,
भर्खर त
एउटा यज्ञ सिध्यिएको फेरी अर्को यज्ञ रे !
बाह्रैमास् यज्ञ गर्नुपर्ने यी पण्डितहरूलाइ।
कस्ता खालका यी पण्डितहरू ?
खै मैले त केही बुझ्नै सँकिन ।
कुन दशा ग्रह हटाउँन यस्तो यज्ञ डाकेका हुन् कुन्नि ?
मलाइ त यति छिटो छिटो यज्ञ लगाएको अचम्म लागीरहेछ।
किनभने
पण्डित बाजेको पो पेशा यज्ञ लायो दक्षिणा बटुल्यो,पेट पालिन्छ ।
म त किसानको छोरा
एक दिन खेतमा नगए
कुलो भत्किसक्छ,
खेतमा पानी नपुगेर धान फल्दैन
धान नफलेछि के खानु र ? बच्चा बच्चीलाइ के खुवाउँनु र ?
अनाज नभएछि चुल्हो बल्दैन ।
मेरो चुल्हो तताउँन तँपाइ कहिल्यै सघाउँनुहून्छ र ?
भो मत आउँदिन है
किन भने मेरो बाली सुक्छ एकदिन खेतमा नपुगे
तँपाईं तँपाईंहरु नै मिलेर
ग्रह दशा पन्छाउँन मिल्दैन र?
मकै बारीको बाँदरले खान्छ,
यो पाकेको मकै तँपाइको यज्ञमा सामेल हुन जाँदा
काम नगरी खाने बाँदरलाइ खुवाएर
मैले बर्ष दिन परिवार कसरी पाल्ने ?
तँपाइ रिसाए रिसाउँनुस् पण्डित बाजे !
म यो चोटीको यज्ञमा
आँउनसक्दिन।
थुप्रै यज्ञमा मैले साथ दिएको छु, तँपाइ ठुलो मान्छे भनेर ,
थुप्रै यज्ञमा मैले नारा घन्काको छु पुराणका श्लोकहरू
किनकि तँपाइले केहि गर्नुहून्छ भनेर
तर त्यति बेला पनि मेरो
बारीको मकै बाँदरले खायो
मेरो सानी छोरी पोहोरको अनिकालमा मरी
यसपाली पनि मकै बाँदरलाइ खुवाएर
बाँचेको एउटा छोरा पनि अनिकाललाइ खुवाउँन चाहन्न्।
अनिकाल त गरीवलाइ लाग्दोरहेछ
अनिकाल त हामीलाइ लाग्दोरहेछ
झाडापखाला पनि हामीलाइ मात्र लाग्दोरहेछ
तँपाइहरूलाइ त कहिलै केहि लाग्दैन रहेछ ।
त्यसैले यो अनिकाल नहेर्ने
झाडापखालालाइ दबाइ सहयोग नदिने पण्डित बाजेहरूको
महायज्ञ नै किन नहोस् म सामेल हुनेछैन
हो म पटक्कै हुनेछैन
तर
तँपाइहरूको आफ्नो खुशी
यज्ञमा चाहे सामेल हुनोस या नहुनोस्
तर म भने
पटक्कै सामेल हुनेछैन।
हो म पटक्कै सामेल हुनेछैन।
तपेश्वरी १ , उदयपुर
हालः इजरायल
Thursday, 1 October 2009
यज्ञ र पण्डित बाजे !!

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment