Friday, 25 March 2011

कफिनमा बुकीफूल



कफिनमा बुकीफूल
जून तामाङ



सधैँझै आज पनि ऐनाको अगाडि उभिएर आफ्नो सम्पूर्ण शरीरलाई नियालीरहेकी छु । कति सुन्दर र निश्चल थिए यी आँखा जसमा अनेकौ सपना सजाएकी थिएँ । कति तृप्त थिए यी ओठ जसमा लाखौं शब्द अल्झाएकी थिएँ । कति विशाल थियो मेरो मन जसमा एउटा सिङ्गो संसार कल्पिएकी थिएँ । तर अनायासै म शून्यमा परिणत भएँ । समयको नियतिले मेरो सम्पूर्णता बलात्कार ग¥यो । आज शून्य छन् यी आँखा, मौनताले रङ्गिएका छन् यी ओठ अनि मन पूर्णतः रिक्तिएको छु । न केही फूलाउन सक्छु न केही फल्न नै सक्छ !

ऐनाको अगाडि आफूलाई उभ्याएर आँखाहरूमा गाजल भर्दै थिएँ । मन एकदम चञ्चल थियो । अनायासै ढक–ढक गरेर कम्पित भइरहेको थियो । ओठमा रहेको मन्द मुस्कानलाई कैद गर्न क्यामेराले फोटो खिचेँ । अकस्मात्, मोबाइल बजेर मेरो शून्यतालाई विचलन गरिदिन्छ । अनि बज्न थाल्छ मेरै प्रिय धून– “मैनै किया है तुम्से सच्चा प्यार ।” फोनमा आभाषको स्वर सुनिन्छ–

“के गर्दै छ्यौ जिया ?”
“तपाईलाई सम्झदैँ छु ।”
“ए, अनि भेट्ने हैन ?”
“हुन्छ भेटौं न”
“भोली साँझ आऊ न उही सधैँ भेट्ने ठाउँमा । तिमीसँग धेरै कुरा गर्नु छ ।”

आभाष ‘सि यू टमरो’ भन्दै आफ्नो फोन काट्छ । भोलि सन्ध्याकालीन समयमा भेट्ने वाचाका साथ कलआउट गदै म विछ्यौनामा पल्टिन्छु । धड्कनको वेग तीव्र गतिमा बढ्न थाल्छ । मन एकदमै बैचन हुन्छ । कहिले भोलि हुन्छ र उसको अँगालोमा हराउन पाउँछु भन्ने झिनो आशाका साथ म आफैभित्र हराएर कुनै कल्पनाको संसारमा डूबुल्की मार्न पुग्छु ।

आजकल मलाई आभाष विनाका एकपल पनि काट्न गाह्रो हुन्छ । म ऊसँग समर्पित भइसकेकी छु । जसको पखाईमा वर्षाै बिताएकी थिएँ । उसँग मेरो बाल्यकाल अनि पाठशालाका तमाम समय बितेका थिए । यसो सोच्छु त्यो जीवनकै सुन्दर पल थियो । आभाषलाई म सपनामा पनि बिर्सन सक्दिन । जसले दिनप्रतिदिन अस्तित्व गुमाइरहेकी मलाई एउटा नयाँ परिचय दिएको थियो । मेरा पाइलाअघि उसले आफ्नो हात राखिदिएको थियो जसलाई टेकेर मैले संसार भ्रमण गरेकी थिएँ । साँच्चै आभाष मेरो जिन्दगी हो, मेरो जीउने साहारा पनि उही हो । ऊ विनाको जीवन त म कल्पना पनि गर्न सक्दिनँ । उही मेरो कल्पनाको राजकुमार । उही हो मेरो अस्मीताको रक्षक अनि कौमार्यको भोक्ता पनि । जसलाई मैले गाजल बनाएर आँखामा सजाएकी छु । उसले मेरो मुटुमाझ राज गरेको छ । म ऊबाटै नै परिचालित छु । बाल्यकालदेखिको हाम्रो पवित्र मित्रतालाई हामीले प्रेममा रूपान्तरण गरेका थियौ । जसको उपभोग अविभाज्य रूपमा गर्दै आइरहेका छौं ।

रात छिपिदै थियो । एकान्त कोठामा जूनको प्रकाश पनि मुस्काइरहेको प्रतीत हुन्थ्यो । म बिछ्यौनामा पल्टिएर शान्त गगनलाई नियाली रहेकी थिएँ । जसलाई शशी र अनगिन्ती नक्षत्रहरूले आनन्दमय तुल्याइरहेको महसुस गर्छु । कस्तो अद्भूत आशक्ति होला यस्तो । लाग्छ, ती चम्किला नक्षत्रहरूले मलाई नै चिहाइरहेका छन् । मेरै निम्ति हाँसीरहेका छन् । ती ताराहरूमा म आभाषलाई खोजिरहेकी छु । कतै उसले पनि मलाई एकटकले हेर्दै पो छ कि ?

अनायासै क्रमभङ्ग हुन्छ । मोबाइलमा म्यासेजको रिङ्ग बज्छ । जसमा आभासका यी प्रिय शब्दहरू पढ्छु– “हेई, बेबी ! आइम् मिसिङ्ग यू । आई रियल्ली मिस यू । आइल् लभ यू अल लङ लाइफ....” म मोबाइलमा लेखिएका अक्षरलाई चुम्छु । भोलिको असीम भेटघाटलाई आँखामा सजाउँदै म निद्रादेवीको शरणमा पुग्छु ।

बिहानदेखि नै म एकदम हतारिएकी थिएँ । साँझ ५ बजे प्रतीक्षामा पटक–पटक भित्ते घडीमा नजर अल्झिएको थियो । एक दिन बिताउन पनि वर्षौ बिताएझैँ भान हुन्छ । समयको वेग र घडीको सुई एकदम सुस्त गतिमा दोडिएझैँ लाग्छ । सूर्य क्षितिजपारी नपुग्दै पुनः एक पटक ऐना अगाडि उभिएर आफूलाई सक्दो सिँगारिएकी थिएँ । ऐनामा आफूलाई सजाउँदा एकदमै काउकुती लाग्दै थियो । पुरूषविना नारी सौन्दर्य अधुरै रहन्छ । मात्र आभाषको लागि म आफूलाई सजाउँदै थिएँ ।

फक्रदै गरेको हाम्रो प्रेमलाई फुलाउनका लागि, तिमी र मबाट हामी हुनका लागि म आभाषको प्रतीक्षामा थिएँ । दिनले रातलाई स्वागत नगर्दै, सूर्यले आफ्नो स्थान चन्द्रमालाई नदिदै र जूनेली रातले पाइला नटेक्दै म तोकिएको समयमा सोही ठाउँमा पुगेँ । मनमा अनेकन खुलदुलीहरू मच्चिरहेका थिएँ ।

तर आभाषबाट विलम्ब हुदै थियो । म आभाषको पर्खाईमा बसिरहेकी थिएँ । बेला–बेलामा मन्द हावाले मेरो शरीरलाई स्पर्श गर्दैै थियो । त्यो स्पर्शले आभाषको महसुस हुने गर्थो । हावाका सुसेलीवृक्षले ब्यूझाउँदा म यथार्थमा उत्रिने गर्दथेँ । म भयभीत भइरहेकी थिएँ । मेरा आशाका सम्पूर्ण तारहरू चुडिन थाले । अनेकौ डर र शंकाले म कुडिदै गयो । जति साँझ बढ्दै जान्छ त्यति नै मेरो मन अन्धकारले छोप्दै गयो । मुटु भारी भएर आयो । मन छिया–छिया भएर पोल्न थाल्यो । आभाषलाई कैयौ चोटि सम्पर्क गर्दा पनि सम्पर्क भएन ।

अकस्मात् मोबाइलको रिङ बज्यो । म बैचनले हत्तपत्त फोन उठाउँछु–
“छोरी तँ कहाँ छेस् ?”
“किन र मम्मी ?”
“नानी, आभाषको बाइक एक्सीडेन्ट भएछ, लौ तँ झट्टै आइज ।”

‘हँ’ भन्ने शब्द मात्र उच्चारण गर्न सकेँ । म ती वाक्यांश सुनेर लट्टिएँ । कति खेर आफ्नो स्कुटर कुदाएँ । कति खेर ती रोडका घुम्तीहरू पार गरेँ । मलाई केही पत्तै भएन । म दौड्दै हस्पीटलको ‘इमरजेन्सी वार्ड’ मा पुग्छु । आभाषलाई सेतो कपडा बेरेर बेडमा राखिएको रहेछ । मैले उसलाई देख्न साथ आफूलाई सम्हाल्न सकिन्छ । म उसको अनुहारभरी अधाधुन्द चुम्बन गर्न थाले । मैले उसको वियोगमा आँसुका धाराहरू बगाएँ तर दैवलाई मेरो प्रेमको कुनै असर परेन । ऊ कस्तो निष्ठूरी रहेछ । मलाई एक्लै यो संसारमा छोडेर गयो ।

प्रेमको कोपिला फक्रर्न नपाउँदै ओइल्याएर गयो । जसले प्रेमको सुगन्ध छर्ने थियो । मेरो प्रेम सीमलको भुँवा जसरी उडिरह्यो । लाखौं मानिसको भीडमा आज म एक्लै भएकी छु । न त सपनाको झरीले रूझाउँछ, न त बसन्त ऋतुले नै ब्युझाउँछ । म खडेरी परेको याम जसरी उजाडिएकी छु ।

भान्साबाट मम्मीको आवाज सुनिन्छ–
“छोरी कति ढिला गरेकी ?”
“ठिक पर्दैछु मम्मी ।”
“छिटो आइज । अबेला भइसक्यो ।”

आज म आभाषको अन्त्येष्टीमा जाँदैछु । उनको शरीलाई कफिनमा सजाएर राखिएको होला । म उनको समाधिमा हाम्रो प्रेमको बुकी फुल चढाउनेछु । अलविदा–आभाष ।

जनता क्याम्पस, स्नातक

0 comments:

Post a Comment