Sunday, 20 March 2011

लिगलिगकोटमा कविता


प्रायः सहरका साहित्यिक समारोहहरूमा भेटिने कलमजीवी शनिबार भने लिगलिगकोटमा देखा परे । राजधानी, चितवन, पोखरा, गोरखालगायतका राष्ट्रिय तथा स्थानीय साहित्यकारले घलेहरू दौडेर राजा हुने परम्परा बोकेको स्थानमा सिर्जना प्रस्तुत गरे ।

नारायणप्रसाद देवकोटा जेल चलान भएका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई छेड हान्नमा रमाइरहेका थिए ।

महल तिमीले ठड्याएथ्यौ

किन धेरै खायौ ?

त्यसैले हो तिमी आज

खोरतिर गयौ...

देवकोटाले गोरखाकै अर्का नेता माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको अन्तर्पार्टी दुखेसो कहन भ्याए ः

बोर्ड फस्ट भा'छ एउटै नेता

आज हाम्रो देशमा

न्याकिरा' छन् आज उसलाई पाखण्डीको वेशमा...

देवकोटाले ताली पाए । यो ऐतिहासिक थलामा रचना वाचन गर्नेमा तीन दर्जनभन्दा बढी साहित्यकारहरू थिए । ललितपुरका गोपाल सञ्जेलले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई स्मरण गरे । साहित्य सञ्जाल नेपाल र लिगलिग साहित्य समाजद्वारा आयोजित माया-प्रेमका सिर्जना समेत सुनिए । साहित्यकार सरुभक्तले स्थानीय साहित्यप्रेमीको स्वागत, सत्कार र रहनसन सम्झाउने सिर्जना प्रस्तुत गरे । विनय कसजुले देशमा दैनिक जातीय रूपमा उठ्ने मुद्दालाई व्यंग्य गर्दै लघुकथा सुनाए । उनले सडकका घाइतेलाई जातीय एम्बुलेन्स होइन, नेपाली एम्बुलेन्स आवश्यक परेको औंल्याए ।

कवितामा वैदेशिक हस्तक्षेपका कुरा पनि उठे । जस्तो, बालकृष्ण थपलियाले सुनाए ः

हामीहरू घर बनाउने

सल्लाह गरिरहँदा

छिमेकीहरू पनि चासो राख्छन्

हाम्रो सुन्दर घर बनाउन

देखाउँछन् थरिथरिका नक्साहरू

कोही दक्ष्ािणका, कोही उत्तरका

कोही समुद्रवारिका,

कोही पारिका...

सिर्जना वाचन गर्नेहरूमा युवराज नयाँघरे, नरनाथ लुइँटेल, राजनविक्रम थापा, टंक उप्रेती, दीपक समीपलगायत समेत थिए ।

पालुङटारबाट निस्केको साहित्यिक यात्रा आँपपीपल, हार्मी, खोप्लाङ हुँदै गोरखा सदरमुकाम आएर आइतबारै टुंगिएको छ । साहित्यमार्फत पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले घले राजाहरू दौडने स्थान चेपेघाटबाट साहित्य यात्रा सुरु गरिएको आयोजकले जनाए । source:ekantipur

0 comments:

Post a Comment