(कुमार कान्छाको दु:खद निधनमा वहाँकै नाममा समर्पित गजल)
आचार्य प्रभा
स्वरको धनी कुमार तिमी मरेर जाँदैनौ
गीतको नदी कहिल्यै पनि तरेर जाँदैनौ ।
संसार भर घन्कियो स्वर मिठास भरेर
संगीत बाग छाडेर तिमी झरेर जाँदैनौ ।
आवाज तिम्रो गुन्जी नै रन्छ दुनियाँ भरिमा
सम्झना मात्र यो धर्ती माझ छरेर जाँदैनौ ।
बिछोड पीडा असह्य भयो बल्झेर सम्झना
झुक्क्याइ तिम्ले सबैको मन चरेर जाँदैनौ ।
संगीत गीत जीवनको रीत बनायौ तिमीले
यसैको छाँया धुमिलो मैलो गरेर जाँदैनौ ।
आँखामा बस्यौ मुटुमा छायौ स्वरले सजेर
गहिरो घाउ मनमा तिम्ले भरेर जाँदैनौ ।
( रचना -१ /१७ /२०११ )

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment