Saturday, 29 January 2011

भन् भगवती !




- युवराज नयाँघरे 



आज चैँ चर्कियो कलह !

यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा ।
आँगन जोडिएको दुई घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको चुलो तताउने । तर यतिबेला लासको बाकस आएर बसेको छ आँगनमा ।

अनेक अड्कलबाजीका शब्दको पालोपहरो छ छ ।

भगवती र अमरावतीका कुरा सुनिरहेको छु म । सँधैको विपन्नता बिजोग र बेहालमा समयका पाङ्ग्रा गुडाए यिनले । गाउँमा मान्छेको हाहाकार भएर के-के ठानिरहेछन् यी सरल अनुहार !

अर्थ आँफै लगाइरहेछु म ।

“मलाई त छोरो गएदेखि खाएको अन्न नि माटै चबाए झैँ लागिरा छ ! धर्ती फाटेर आफू तल-तल गए झैँ भाकोभाकै छ ! भन् त भगवती तँलाई कस्तो हुन्छ “

कुरो एउटै छ ।

अर्थात् दुबैका छोराहरु पसिना खर्चेर धनको बिटो बोक्न गएका छन् । आशाको मसिनो ध्वनि वरपर जताततै तरङ्गित छ नै ।
अमरावती बोल्छे ।

“मैले रगतको फाल्साबाट बनाएकी हुँ । पानी खाँदा नि पिरोलिन्छु । अन्न निल्दा नि भुटभुटिन्छु । कुन रात कुन दिन सारा घर रित्तै !

भगवतीको उत्तर सुन्छु ।

मरेको लास भगवतीको छोराको सँगी थियो । बाकसमा कोचिएर आएको मुर्दा अमरावतीको छोराको दौँतरी थियो ।
समयका कुइनेटामा प्रश्नका गजबार अब भटाभट देखापरे । सुरक्षित को होला को सद्दे आउला अथवा सबल अनुहारले यो आँगनमा खित्का छोड्न सक्ला

म एउटा कुनाबाट ती दुई विधवाका कुरा सुनिरहेको छु ।

आँखा त छोपुँला तर रगतपच्छे सभ्यताको दृश्य कसरी बिस्रनु ! कान त थुनुँला तर आँसुका आहालका सुँकसँ”काइ कसरी भुल्नु ! ओठ त चूप लगाउँला तर आपट्टे भक्काना कसरी थाम्नु !

“भन् भगवती ! कत्ति हैरानी खपिरहेकी छस् तैँले मेरा घरका बस्तुभाउ सार्ने मान्छे मैले कतैबाट नि पाइनँ । घाँस कुँडे र सोत्तर नभएपछि पशुले नि हाम्रा लागि मनुष्यत्वको दर्जाबाट तल झार्दो रहेछ । एकदमै तल ! मलाई यतिखेर भैँसीको किलो बनाइदिने एउटा तन्नेरीको खाँचो छ चरम-चरम ।”
अमरावतीको वेगवान बोली छ ।

हरेक अवस्थाले विध्वस्त लाग्छ बस्ती । पहिरो थेग्ने पाखुरा जँघार रोक्ने जोस र भल थाम्ने आँट नभएको दृश्यमा उभिएको छु म ।

“मलाई समस्याले जति थिचेको छ । उम्किन मिल्ने सुझावको कुनै एउटा स्वर सुन्न सक्दिनँ म । मैले मेरो भविष्यका हरेक मानाचामल पठाएँ । अब पर्खेर बस्नुको विकल्प छँदै छैन !”
भगवतीको सोझो आवाज सुन्छु ।

गाउँबाट छानिएर गएको पुस्तासँग समयको कुनै व्यवधान ओर्लिएको छैन किञ्चित । जे विपत्ति जे असहज र जे चौपट भोग्नु पर् यो-बस्तीका सबै खाले ह्दयले स्वीकार्नै पर्यो ।

मानिस हुँदाको मूल्य कति-कति !

यो बेला यी सबै अकाल वा खेदशून्य कथा सबै बार्दलीले बोलिरहेकै छन् । यतिखेर चकमन्नतामा मानिसविहीन बुइँगल देखिइरहेकै लाग्छन् ।

“चाडपर्वले आँखा तर्छन् । कसका निम्ति पकाउनु कसलाई भनेर पर्खनु अथवा टपरी बोहोता वा दुनामा परिकारको भाग लगाएर पर्वको अर्थ खोज्नु भो मलाई भताभुङ्ग हुँदै गइरहेको संसार चाँडै सकिए हुन्थ्यो भन्ने लाग्न थालिरा”छ ।”
अमरावतीलाई सुनाई भगवतीले ।

नबोली भएकै छैन दुबैलाई । आखिर सुन्ने र सुनाउने समाजको सबभन्दा शक्तिशाली रुप यिनै दुई अनुहार हुन्-हजार थप्पड खाएका मुजे गाला र भास्सिइरहेका आँखा र उठिरहेको च्युँडोसहितका वृद्धा विधवाहरु ।
कठोरतालाई पाए पगाल्नु हुन्थ्यो !

“भन् त भगवती ! तेरो छोराले कसको मात्र भाषण सुनेन कसको नारा लाएन कति हण्डर खाएर कहाँ-कहाँ टाढाका बग्गीखाना र जेलखानामा थुनिनु पर् यो । कुन्दाको कुटाइ र बाघेझप्पुको झम्टाइले कति दिन आलसतालस भयो तेरो छोरो ! तैपनि त्यसले कतै भुइँ कोरेर थाकेन !”

भगवतीको छोराले गाउँमा नयाँ समाजको मौसम छर् यो । बल्ल जीवन-जीवनजस्तो ढुकढुकी-ढुकढुकीजस्तो र दृष्टि-दृष्टिजस्तो भएर गतिशील भएको ठानेथे सबैले ।

विस्थापित एक पटक फेरि भयो त्यो नयाँ सोच ।

“हो खेतमा खेती गरौँ । आँगनमा कुरा रोपौँ । बारीमा तरकारी छरौँ । मेरा छोराले लगाएको नारा यति थियो । मात्र यति थियो । अमङ्गल कुरा थिएन त्यो !”

म भगवतीका कुरा सुन्छु । म अमरावतीका आवाज सुनिरहेको छु । यी वृ¢ा आमाहरुका निष्कपट बोलीमा शक्तिशाली दर्शनका केस्रा-केस्रा ओर्लिएको अनुभूत गरिरहेको छु ।

ताँतीमा मिसिएथे दुई किशोरहरु !

सम्भाव्य परिणामले पार्ने वृतान्त यतिखेर भेटिन्छ । बितिरहेको कालखण्डमा नापजोख भइरहेको चरित्रले चनाखा आँखा लगााएको पाइरहेको छु म ।

“भन् त भगवती तेरो छोराले कसको मात्रै आदेश सुनेन होला “
“भन् त अमरावती तेरो छोराले कसको मात्रै उर्दी दिमागमा घुसाएन होला “
दुबैका प्रश्न छन् दुबैलाई ।

म यी उही स्थिति र उही अवस्थामा सास फेरिरहेका बस्तीका सबभन्दा उँचो मानवीय अनुहारलाई पढिरहेको छु । अनुहारले भनेका छन्-” हाम्रा निम्ति त्यही कृतज्ञता हो दिनु र फेरि पनि दिनु !”
यो अर्थ यसरी पनि लाग्न सक्छ-”सन्तानका सबै खुशी उल्लास श्रम र पसिना दिनु !”

मानिस भएर बाँच्ने चाहनाको अपेक्षा गरिनु कृतघ्नताको गाढा टीको टाँस्नु थियो निधारमा । मैले पुछ्रने प्रयत्न नगरेको होइन-तर शक्ति सामथ्र्य र तेज थिएन कसैसँग ।

मानिसहरुको धारणा छ-तेल थपेकै भरमा दियोको प्रकाश झन् उल्लसित भएर बल्छ । तर भगवती तथा अमरावतीको आफ्नो गच्छेअनुसारको तर्क हेर्दा लाग्ने गर्छ-हावाको चापले पनि ह्वारह्वारी बल्ने गर्छ बत्ती ।
एउटा आँगनमा दुबै उभिएका छन् । सामान्य समाजमा पार्ने स्थितिले स्पर्श गरेको छ छ ।
शरीरको रगतमा कति क्रोध छ अथवा कति पश्चाताप छ अनुहारका मुजा छोएर अड्कलसम्म गर्ने हो ।

अमरावती र भगवतीको वर्तमान त्यस्तै छ ।

“धर्तीजस्तो चोट हाम्ले मात्रै भोग्नु पर्ने । के मात्रै सहेनौँ हामीले । भातका डल्लामा आँसुको झोलले भिजाएकै हो । घुटुक्क पिउँदै सुरुप्प पार्दै र सान्त्वनाका हिँक्का स्वीकारेकै हो नि ! भन् त भगवती !”

अमरावतीका बोली सुन्छु अत्यासले अँगालिएको ।

बिस्तारै बजारजस्तो आकार बन्यो त्यो रुवाबासीमा । मानिस नभएका होइनन्-जिउँदो मान्छे दगुराउने थुप्रै थिए । तर यतिखेर मरेको मानिस थन्काउने कोही देखापरेका छैनन् ।

एकले अर्कालाई हेर्ने पुरानै रोग छ । त्यो रोगलाई सबै दिइरहेछन् निरन्तरता । सारा गाउँ टोल र बस्ती त्यसबाट निरपेक्ष छैन । अँह छँदै छैन ।
अब कसरी भाग्छन् यी दुई आमाहरु !

भगवतीले भाग्ने कसरी अमरावतीले भाग्ने कसरी उही समाजलाई उस्तै भोजन पोषणले हेरविचार गरिदैँछ । अब कसरी रहनु उकुसमुकुसबाट बेखबर !

“सुन् भगवती ! हाम्रा छोराले बाटो नबनाएका होइनन् । कुलो पैनीका फोहोर नहटाएका होइनन् । झार उखेलेर उबडखाबड सम्म्याएर अनि लहरा पन्छाएर यो गोरेटो यति प्यारो नबनाएका होइनन् । तैपनि तिनका हातमा कुनै फूलको स्वागत कहिल्यै भएन । हुँदै भएन नि !”

अटुट थाहा पाइरहेको छु म वृद्धा आमाहरुका रोदन ।

हजार भँ”वरीमा परेका ह्दयको आगो साथको बोली छ स्वर छ र तर्कनाहरु छन् । अकाट्य विचारका पाङ्ग्रामा दगुरिइरहेछन् यी आमाहरु ।

“भन् भगवती भन् ! यो बस्तीमा एउटा छोराले दिने सबै पसिना हाम्रा छोराले दिएकै हुन् । बाँकी केही थिएन । एउटा माटोको डल्लोदेखि एउटा बिरुवाले पाउने स्याहार सम्भारसम्म हाम्रा छोराबाटै पाए । सुरक्षा स्नेह र साथ सँधै पाए !”
अमरावतीका कापिरहेका आवाज छन् । असुरक्षा अन्याय र आपतका तिखा सुइरामा थला परेका लाग्छन् ती आवाजहरु ।
आँगनमा चाङ छ वेदनाको ।

“सबै खोसे । अरुले त खोसे-खोसे आफ्नाले झन् क्यै नराखी खोसे । एक थोपो नराखी खोसे । हामीलाई सर्वाङ्ग पारेर थुते !”
अमरावतीको आवेग छ अनवरत ।

मानिसलाई अभाव बोध त्यतिखेर हुन्छ-सबैतिर समाप्तिको सूचना आउँछ जब ।
भगवती र अमरावती त्यही अवस्थाका केही अनुहार हुन् । त्यस पर अरु कुनै चरित्र वा भूमिका तिनले पाउँदैनन् । किञ्चित् पाउँदैनन् ।

आफ्नै छातीका कौलासा सुनाउँछन् ती ।

“मेरा घरको गारोमा बर्खाको भेल पसेको-पसेकै छ । मैले जतिसुकै माटो ढुङ्गा र बालुवाको थुप्रो राखे पनि बग्न छोडेको छैन त्यो पेटी । अब माटो नहालेको कुरामा भन्दा राख्ने पद्दतिबारे ठीक नभएको तर्कले घेरिएको छु म । तन्नेरीका हातले राखेजस्तो माटो हामी बूढीहरुका कामले कसरी पूर्णता पाउने “
एउटा गहन कुरा आयो ।

सिङ्गो जीवनले जानेको तर्क । सारा उमेरले पहिल्याएको विचार । पुरै समयले पर्गेलेको िस¢ान्त ।
बनिसकेको बाटोमा हिँड्नेहरुले बाटोबारै लगाउँछन् अनेक खोट । तर तिनले फर्केर कुनै एउटा ढुङ्गो सडकको कुनै पिँधमा कहिल्यै राख्तैनन् । आँगनमा इनारको पानी खाएर दोष देखाउने मान्छेको कुनै कमी छैन हाम्रो वरपर । तर ओखती सम्भार वा परीक्षणका निम्ति हतपत मनले ताउरमाउर गरेको देखिन्न ।

आँगनको बाकस कसले उठाउने
अलिक उमेर वा शक्ति बोक्ने तिनै विधवा आमाहरु हुन् । ती झनै भित्री अन्तष्करणदेखि नै थला परेका छन् गलेका छन् र खुम्चेका छन् । नहारे पनि पराजयको बादल र चट्याङ छन् तिनमा । जिते पनि विजयको बोली तिनको वरपर आउन सकेको छैन ।

“भन् भगवती ! सरम लाग्नुपर्ने होइन । निल्न नसक्ने कुरा किन खानु हाम्रा छोराको हरेक थोक खाएर पनि पुगेन यिनलाई । अब के बाँकी छ यिनले खाने “

आकुलतामा मान्छे न्याय वा निसाफका कुरा गरिरहँदैन । आफ्नै अदालतमा प्रमाणका अनेक अर्थ बोलिरहेको हुन्छ ।
यु¢ले थाकेको छ मन र शरीर ।

सिङ्गो बस्तीमा जब थामियो यु¢को अग्निप्रलय । अनि सुरु भयो आफनै खोजखबर र अर्थहरुको बेलिबिस्तार । धेरै कुरा गुमेपछि अब के बच्न सक्छ

यही एउटा तर्कले सबैलाई उछिनेको छ निरन्तर !

हामी कुनै बेला बिजोगमा पर्न सक्छौँ । कुनै दिन बाँकी रहेन-नकल्पेको नरोएको र नटोल्हाएको।
विधवा भगवतीको कलेँटी परेका ओठको आवेग सुनिरहेको छु म ।

आँगनमा मसिना केटाकेटी छन् । भविष्यहीन पाइलामा डोर्रिएका किशोरी छन् झन् बेस्मारी । धेरै र झन् धेरै छन् वृ¢ र वृ¢ाहरु । त्योभन्दा बढी देखिरहेछु म विधवाहरु ।

हारेर अनि दबिएका थुप्रै विधवाले सेतो कपडामा बेहेर अरुका आँखाबाट केही साथ खोजेजस्तो लाग्छ । किनभने सिङ्गो जीवनको बोझ तिनका थाप्लामा बसिरहेछ ढसमस्स ।

लासको बाकस छँदैछ ।

कुनैबेला दिनहुँ आउँथे यस्ता बाकसहरु । बस्तीमा त्यतिखेरैदेखि अभाव हुन थालेको हो-बाकस बोक्ने चिन्ने र थन्काउनेको । अर्थात् युवा ज्यानको ।

युवाले पटक-पटक नङ्ग्रा गाढेर सबै विध्वस्त पारिएको परिवेशमा बोल्नेहरु गलिसकेका छन् मज्जैले । जडता कठोरता र संवेदनहीनताको कम्पन छ जताततै । यस्तो बेलामा बोल्ने को

बाकसको लास बोल्यो-भन् भगवती भन् ! पाखण्डीहरुलाई अझै भन् !
yrnayaghare@gmail.com

0 comments:

Post a Comment