
कृष्णपक्ष, इजरायल
केटाकेटीले साह्रै जिद्दी गरेपछि बखतेले कान्छो छोराको जन्मदिन मनायो । भुराभुरी जम्मा भई पटाका पड्काए, पटकाको आवाजले छिमेकीको सातोपुत्लो मात्र गएन, सुंगुरको खोरको छानो पनि अलिकति सल्कियो । दिन बिग्रेको रैछ, विष्फोटक पदार्थ पड्कार्इ छिमेकीको घरमा आगो सल्काएको आरोपमा उ पक्राउ पर्यो ।
साघुरो कोठा, भित्ताबाट पानीको मूल फुट्ला जस्तो चिस्यान । त्यसमाथि ज्वरो पनि थपियो । हे भगवान, के दशा आइलाग्यो ! बखतेका आँखा रसिला भए, कतै केही भयो भने ...सोच्दा सोच्दै केही नमिठो तर्कनाले उ डरायो पनि, हातगोडा काँपे जस्ता भए ।
खाना आयो, तरकारीमा भएको पिरोले उसका कानबाट धुँवा छुटे,एक गाँस पनि निल्न सकेन । "हजुर मलाइ ज्वरो आएको छ अलिकति दुध.., " "तेरो ससुराली सम्झेको छस कि के हो थानालाई हँ ?" उसको बोली बिचमै काटेर एउटा पुलिसले थर्कायो ।
त्यसै दिन गोली चलाएको आरोपमा पूर्व युवराज पनि पक्राउ परेका थिए, अतिथि भवनमा विशेष व्यवस्था सहित विशेष व्यक्तिहरु द्वारा उनको सत्कार गरिएको थियो । एकजना बोलेको सुनियो - "यहाँ सुकला हुँदा सरकारको गाथमा आराम नहोला जस्तो छ, एकछिन पछि म नै रिसोर्टमा पुर्याउन जाउँला नि ।"
"ए हे गाँठे, अब त कानूनका नजरमा के राजा के प्रजा .. सबै नागरिक समान पो भएछौं त ।" गणतन्त्रको असली रुप देख्न पाएकोमा साह्रै खुसि भयो उ । यही खुसीको झोंकमा केही बर्बरायो पनि ।
यद्यपि उसको ज्वरो भने बढ्दै गई रहेको थियो ।
0 comments:
Post a Comment