Sunday, 24 October 2010

साच्चैको आमा


सीता बराल
लिसवन, पोर्चुगल



या देवी सर्वभुतेसु, मातृरुपेण सस्थीता,
नम तसै नम तसै नम तसै नमो नमः

पण्डीत बाजेले दुर्गा पाठ गरिरहेका थिए । नजिकै पण्डीतनी बजै हातमा फुलअक्षता लिएर पाठ सुनिरहेकी थिइन । नातिनी भुन्टी हजुरआमाको काखमा बस्दै थालबाट फुललिएर नमस्कार गर्दै मनमनै केही गुनगुनाउदै बसीन । पण्डीत बाजेले पुजापाठ सकेर घिरौलालाई खसीको रुप बनाई बली दिए । भुन्टीले हेरिरहेकी थिइन । हातमा भएको फूलअक्षता देवीलाई चढाइन् र बाबा पल्टीरहेको खाटमा गएर काखमा बसीन । बाबा आज अर्को आमालाई हेर्न जाने भन्नुभएको होइन, छिटो जाउ न भन्दै हात समातेर तानिन । प्रदिपलाई आज साह्रै नरमाईलो अनुभव भइरहेको थियो । उनकी प्यारी सानी परदेश लागेर रमाईलो संग दशै मनाउन नपाएको पाँचौ पटक भईसक्यो । पहिले पहिलेका दशैहरु कसरी गए पत्तै भएन । यसपालि प्रदिपलाई सानु आउछिन र संगै दशैं मनाउने ठूलो आस थियो । विशेष कारणले सानु आउन पाइनन । छोरीको कुरा काटन नसकी मन लागी नलागी उठेर भुन्टीको हात समातेर बाहिर निस्कीए । साइवर नपुग्दै बाटोमा नै सानीको फोन आयो । आज सानीलाई पनि घरको सारै सम्झना आएर साइवरमा बसेर आनन्द संग देखादेख गर्दै कुरा गर्ने भनेर फोन गरेकी रहिछन् । साइवर पुग्ने बेलासम्म एकछिन भुन्टीसंग कुरा गर्न चाहिन । प्रदिपले फोन भुन्टीलाई दिए । आमा अस्तिको जन्मदिन पछि त म कति ठूली भएकी छु नि, बाबालाई सोध्नु त, है बाबा भन्दै बाबा तिर हेरेर टाउको हल्लाइन । अनि नि आमा म सधै हजुरबा हजुरआमा संग बसेर भगवानको पुजा गर्छु, रिता मिसले भन्नुभएको दशैमा भगवानको पुजा गरेर मनमनै केही माग्यो भने भगवानले पुरा गरिदिनुहुन्छ रे, मैले के पो मागेकी छु हजुरलाई थाहा छ==== सानी छोरीको लतपते तोतेबोली सुनिरहन्छिन ।

साचै नै भुन्टी स्कूल गए देखि धेरै बुझ्ने भएकी रहीछन् । कुराहरु पनि कति धेरै जानेकी । बाबा तिमीले भगवान संग के माग्यौ भनन । सानुले भुन्टीसंग सोधिन । कसैलाई पनि भन्नुहुदैन रे म हजुरलाई भन्छु है....मैले भगवान संग सधै मेरो आमा छिटै घर पठाइदिनु भनेकी छु । अब हजुरको काम छिटै पुरा भएर आउन पाउनु हुन्छ है बाबा ... फेरि प्रदिप तिर हेर्दै बोलिन । प्रदिप केही नबोली टाउको मात्र हल्लाए । आमा यति ठूलो चाडमा त्यहा हजुर मात्र एक्लै हुनुहुन्छ है... भुन्टीले मायालु स्वरले बोलीन । होइन नि छोरी यहा मेरा धेरै साथीहरु छन् । मैले यहा पनि चाडपर्व मनाउछु । होइन होला, ढाटनु हुन्छ , हजुरका कति धेरै साथीले मसंग तिम्रो आमा खोइ भन्दै सोध्छन् । भुन्टीले भनिन । छोरी आज त तिमी र म कम्प्युटरमा हेर्दै कुरा गर्ने है । तिमी कति ठूली भइछ्यौ देख्न पाउने भए । फोनमा जस्तै धेरै कुरा गर्नुपर्छ नि है भुन्टीले हुन्छ भन्दै फोन राखीन । यतिबेला सम्म साइवर पनि आईपुग्यो । प्रदिप कम्प्युटर खोलेर क्यामरा मिलाउन तिर लागे । सानी अगी नै तयार भएर बसेकी रहिछन् ।

केटाकेटी भनेपछि हुरुक्क हुने सानी आफ्ना आन्तरिक बाध्यताले भुन्टी बर्षकी हुन नपाउदै छाडेर हिडेकी थिइन । भुन्टीलाई आमाको वास्तविक माया कस्तो हुन्छ भन्ने अनुभव थिएन तर सानीलाई भने हरेक क्षणमा आफ्नो मुटुको टुक्रा भुन्टीलाई छाडेर आउनु पर्दाको पिडाले सताइरहन्थ्यो । जन्म दिने आमा बन्ने भाग्य पाइन तर काखमा राखेर हुर्काउन पाइनन न उसका बाल चन्चलपन देख्न पाइन, न मिठो तोतेबोली सुन्दै सुमसुमाउन पाइन । जीन्दगीमा कुनैपनि कुराहरु सोचेजस्तै क्रमबद्ध तरिकाले नहुने रहेछन् । विधिको विधान, भाग्यको चक्कर जान्न नसकिने रहेछ । भुन्टीका चाहना र बालचन्चल पन उनले प्रदिप बाट थाहा पाउनु पर्छ । भुन्टी स्कूल जान थालेपछि आमाका धेरै कुरा गर्छिन रे , घरको भित्तामा रहेको मोनालिसाको फोटो झिकेर आमाको फोटो राख्न लगाइछन् त्यसपछि त जो आएपनि आफ्नो कोठामा लगेर फोटो देखाउने गर्छिन रे ==

एकपटक कम्प्युटरमा बस्ने दिनमा राम्रोसंग देखादेख गर्न नपाउदै लोडसेडींले गर्दा छोरीसंग बोल्न पाइनन् तर भुन्टीले बाबा संग त्यो को हो नि भनेर सोध्दा तिम्रो आमा हो भन्ने वित्तिकै इन्टरनेट काटियो । पछि भुन्टी स्कूल जाने, यता सानी कामको व्यस्तताले गर्दा लामो समयसम्म भेट हुन सकेको थिएन । त्यसपछि त भुन्टीले जहिले पनि मेरो दुइटा आमा हुनुहुन्छ, एउटा भित्तामा एउटा टि.भी मा भन्ने गर्छिन रे । आज त छोरीसंग धेरै बेर बोल्ने हो भन्ने सम्झदै सानी कम्प्युटरमा बसीन । दुवैतिरको इन्टरनेट राम्रो चल्ने वित्तिकै सानीले छोरीसंग कुरा गर्न चाहिन । भुन्टी भने केही नबोली कम्प्यूटरमा आमालाई देखेर हेरि रहिन । छोरी सन्चै छौं..टीका को को संग लगायौं....अहिले सम्म कति पैसा जम्मा गर्यौ त..

भुन्टीले बाबा तिर हेर्दै सोधिन..
बाबा यो मेरो साच्चैको आमा हो र ...


भुन्टीले बोलेको सानीले सुनिरहेकी थिइन् । फोनमा त्यति लामो र मीठो कुरा गर्ने छोरीले आफूलाई साच्चैको आमा हो र भनेको कुराले उनको मनमा ठूलो चोट पर्यो । प्रदिपले यो कुरा सानीले नसुनोस भनेर कुरा अन्ततिर मोडदै थिए ।

भुन्टीले आमातिर हेर्दै भनिन
हजुर मेरो साच्चैको आमा हो भने अलिकति यता आउनु न.. म एकैछिन काखमा बस्छु नि....।


सानीको मुटुमा भक्कानो परेर आयो, धैर्यताको सिमाना नाघ्यो । कम्प्यूटरको की बोर्डमा टाउको राखेर घुक्क घुक्क रुन थालिन । मोवाइलमा कसैको एस.एम.एस आयो । दिदी टिका लगाउने समय भइसक्यो, छिटो आउनु.... टाउको उठाएर हेर्दा भुन्टी र प्रदिप हिडिसकेका रहेछन् । परदेशीहरुको लागी यी चाडहरु नआएपनि हुने नि भन्ने सोच्दै मन भरि पिडा र आँखा भरि आँसु लिएर कोठा तिर लागिन ।

0 comments:

Post a Comment