Thursday, 2 September 2010

म स्वार्थी बुद्दु !!!

हरि मानन्धर "विवश"
अन्तरमनबाटै
आघात परेको क्षण
पीडा बोध गर्छु,
उनि केवल हेरिरहन्छिन्,
म उनिलाई हेर्दै टोलाईरहन्छु,
सायद
दुबैलाई आघातको पीडाले सताईरहेछ ।

कुनै शुन्य समयमा
म उनको भावविव्हल अनुहार पढेर,
गीत, गजल वा कविता कोर्न तैयार हुन्छु,
तर,
किन?, किन....... मलाई?
उनकै मौनतामा हराउन मन लाग्छ,
गीत, गजल वा कविता होइन,
आत्मा अपमानको बोध हुन थाल्छ,
त्यसैले,
उनकै अपमानमा
आफुलाई विलय गराउन मन लाग्छ ।

खै किन? आज,
श्रद्धाको तर्पण जति चुहिन्छ,
उति नै मन बोझिलो हुन्छ,
अतितका स्मरणहरू
मानसपटलमा भूत बनेर सल्बलाउँछन्
साँच्चै म मा प्रेतात्मा चढेको छ,
उनि रूँदा म हाँस्छु
उनि हाँस्दा म रून्छु,
हो यतिबेला,
घोर अन्याय हुँदैछ,
अपमान हुँदैछन् आत्माहरूको,
असैह्य हुँदैछन् मनका पतिङ्गलहरू ।

बेला बेलामा
दृश्य उतार्छु उनि माथि,
टाउको झुकाएर विलौना गर्दैछिन,
सारा पीडाहरू पखाल्दैछिन सायद,
तर म,
तर म सहन सक्तिन,
र हाँसीदिन्छु मुसूक्क मुसुक्क.......

एक अदभूत सहास बटुलेर,
म उनिलाई सोध्ने प्रयास गर्छु
कारण ...... थुप्रै कारणहरू.....
तर,
अहँ, उनि उत्तर दिने मुडमै देख्दिन,
प्रतिउत्तरमा, आँशु झारीदिन्छिन,
बरर्र .........., बरर्र..........,

म जाबो डम्बेष्ट सेल्फिस,
उनको रूवाई नबुझेर,
घमण्डको पारो तताउँदै
रन्थनिन्छु .......
सन्किन्छु .........
सनक्क .........
सनक्क .............
उर्फ............???????

0 comments:

Post a Comment