मरूभूमिमा अवस्थित
प्रचण्ड गर्मीसँगै
बालुवाको तापक्रम सहँदै
शीतलताको आभास गराउने
मेरै छातीमा उम्रिएको एक क्याक्टस,
घामको तापक्रममा
बालुवाका रापहरू सहँदै
कहिले बालुवाका पुञ्जहरूमा पुरिएर
आफ्नो निरन्तर दुःखहरूमा पनि
सधै धैर्यताका साथ
पिडाहरू खेपिरहेकि छु
खै त तिमीहरूले मेरो कथा लेखेका?
खै त तिमीहरूले मेरा पिडाहरू देखेका?
तै पनि म बाँचिरहेछु यहाँ
तिम्रो भन्दा सफल जीवन .....
तिमीलाइ थाहा छ?
कैयन जीवनहरू
मेरै शीतल छाँयाहरूमा
मन्त्रमुग्ध झुलिरहन्छन्
म सँग भएका अलिकति रसहरूमा
विस्मात खुशीले रमाइरहन्छन्
मसँग भएका नङ्ग्राहरू भन्दा
मसँग भएका सुमधुर सम्बन्धमा
आकर्षित भैरहन्छन्
नलुकाई भन.....
तिमी पनि रमाएकि छौ
मेरा सुकोमल आँगनमा
फुलेका फूलहरूमा मोहित भएकि छौ
मेरा रसिला फलहरूमा लालायित भएकि छौ
तर तिमी
उर्वरभूमिमा उंकुराएकि तिमी
मल र जलले सिञ्चित तिमी
खुल्ला आकाशमा
हावाहरूसँग बहेली खैल्दै
हुर्के बढेकि तिमी,
हरेक मौसमहरूमा
आफ्नो स्वार्थ मात्र हेरिरहेकि तिमी
कमिला र भुसुनालाई पनि
याद गर्न सकेकि छौ अहिलेसम्म?
अहँ
कदापि गरेकि छैनौ
र गर्दिनौ पनि
किनकी तिमी
मलजलमा रमाएर
आफ्नै स्वार्थका लागि मात्र
बाँच्न जानेकि छौ,
साना विरूवाहरूलाई मासेर
सिर्फ आफु मात्रै हुर्कन र बढ्ने
तिम्रो पैत्रिक गुण हो,
त्यसैले त म
तिमी भन्दा हजारौं गुणा
पवित्र, सुन्दर र सहृदयी भएकि छु
तिमीलाई हेरेर अघाएको मनहरू
म सम्म आइपुग्दा
सँसार विर्सिएर
केहि पलहरू म मै विलिन हुन्छन्
र भन्छन्
खडेरिमा तिर्खाएकाहरू
मरूभूमिका क्याक्टसहरूलाई हेर
बर्षौंदेखि पनि
आँधीबेरी र सुख्ख हावा हुरी सहेर पनि
आज उस्तै उत्तेजित छन्
नजरका सम्भोगहरूले
मख्ख पार्दैछन्
र त भन्न मन लाग्छ
धिक्कार छ तिम्रो लाछी जिन्दगी
तिमीले कस्का लागि
के नै गर्न सकेकि छौ र ?
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा
Monday, 2 August 2010
हेर..... ! मरूभूमि र क्याक्टस !
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment