एनआरएन जसको पुरा अर्थ (Non Residential Nepalese) वा नेपाली, जो आफ्नो देशमा रहदैनन् भन्ने बुझिन्छ । शुरू शुरूमा एनआरएन निकै चर्चाकै विषयमा पाइएको थियो र अहिले पनि नभएको होइन । वास्तवमा के रहेछ एनआरएन भनेको भन्ने तिर सोच बनाएँ अनि हेरे विधानहरू पनि । यसको विधान नै अचम्मको बनाइएको रहेछ । अझ शुरूमा त मात्र ६ महिना देशबाट बाहिर बस्ने कुनै पनि नेपाली एनआरएनको सदस्य बन्न सक्ने लेखिएको थियो । पछि मात्र यसलाइ सुधार गरिएर २ बर्ष नेपालबाट बाहिर बस्ने नेपाली एनआरएनको सदस्य बन्न सकिने लेखिएको छ । तर यहाँ म ३ बर्षदेखि बाहिर छु र मसँग नेपालकै नागरिकता र पासपोर्ट पनि छ भने मलाई किन दोहोरो नागरिकता ? कि मैले यहि देशसँग नागरिकता माग्ने? सायद यसो होइन भने एउटा निश्चित नेपाली जस्ले नेपाली नागरिकता त्याग गरेर अर्को देशको हरियो कार्ड वा स्थायी बसोबास गर्नका लागि कार्ड लिएका छन्, तिनीहरूलाई मात्र एनआरएन सदस्य भनिए हुदैनथ्यो होला र? कि एनआरएनको नाममा राजनिति गर्न वा सँस्था खडा गरेर पद विभाजनका लागि सदस्यहरू नपुग्ने भएर हो? म किटानका साथ भन्छु वास्तवमा नै विदेशीहरूको पिआर लिएकाहरूलाई मात्र एनआरएन भनिने हो भने यस्ता धेरै राष्ट्रहरू जस्तो कोरिया, जापान, इजरायल, मलेशिया, दुवइ, कतार, बहराइन, वा अन्य वर्क परमिटमा मात्र नेपालीहरू गएर काम गर्ने राष्ट्रहरूमा एनआरएन नै हुदैनन् । अनि कसरी राजनिति गर्ने नेपालीहरूले एनआरएनको नाममा? आखिरी नेपाली जहाँ गए पनि राजनिति गर्न छाड्ने होइनन् । विदेशी राष्ट्रका मानिसहरूलाई कसरी देशको परिचय दिउँ भन्ने सोच हुन्छ तर नेपालीहरूलाई नेपालको विदेशमा बसेर नेपालको फोहोरो राजनिति र चलखेलमै ध्यान जान्छ । नहोस पनि कसरी, अध्ययन राम्रो छैन, बाउ, हजुरबाउ र नेपालमा छरप्रष्ट पाइने खोक्रे नेताहरूको चालामाला हेरेर वा देखेरै दिनहरू विताएका नेपाली अर्को देशमा गएर पनि तिनैको नक्कल उतार्न भन्दा अरू के नै जानेका छन् र ? नेपालमा धेरै त्यस्ता नेताहरू आफूहरू भन्दा अगाडि भएकाले चान्स पाइएन अनि त बल्ल त पालो आएको होला । वास्तवमै एनआरएन भनेको विशुद्द नेपाली जस्को हातमा नेपाली नागरिकता छैन तर नेपाली हो वा नेपाल बाहिर स्थायी बसोवास गरेको छ भन्ने बुझिने गरि विधान बनाउनु पर्छ र तिनीहरूलाई नेपाली नागरिकता होइन अरू कुनै परिचय खुलाउने पत्र जस्तो विदेशतिर दिइने ह्वाइट कार्ड जस्तो दिने र नेपालमा लगानी गर्न पाउने बनाइनु नै सान्दर्भिक हुन्छ । नत्र एकपटक नेपालको नागरिकता चाहिदैन भनेर विदेशीको घुँडा टेकेका नेपालीहरूलाई पुनः नेपाली नागरिकता दिइनु विश्वबजारमा एउटै व्यक्तिको दुई वटा नागरिकता पाउने नयाँ किर्तिमान रहनेछ ।
अब केहि एनआरएन जो २ बर्ष देश बाहिर बसेकाहरूको कुरा गर्न चहान्छु । उदाहरण मेरै दिन चहान्छु । म पनि एनआरएन हुँ इजरायलमा किनकी म ३ बर्षदेखि यहाँ काम गर्दैछु वर्क परमिटमा । तर मसँग नेपाली नागरिकता छ र नेपाली पासपोर्ट पनि । अब फेरि मलाई नेपाली नागरिकता किन ? यहाँनेर आएर एनआरएनको विधानले सहमति जुटाएको पाउँदिन र वास्तविकता स्वीकार्नुपर्छ सबैले, यो राजनैतिक चलखेल मात्र हो । एनआरएनको नाममा राजनिति गर्ने जो नेपाली नागरिकता त्याग गरेर विदेशीको नागरिकता लिनेहरूले हामीहरूलाई नौटंकीको रूपमा आफ्ना स्वार्थ पुरा गर्न बढि भन्दा बढी सँख्यात्मक सहभागिता जनाउनका लागि हामी जस्ता नेपाली नागरिकता बोकेर हिड्नेहरूलाइ पनि एनआरएनमा समाबेश गराएका छन् । होइन भने प्रष्ट निति किन बनाउन सक्दैनन्, वास्तविक एनआरएनहरू ? वर्क परमिटमा काम गरेका जो नेपाली नागरिकता नै भएकाहरूलाई यो दोहोरो नागरिकताको लडाई किन चाहियो ? तिनै केहि एनआरएनका चल्तापुर्जा नेता भनाउँदाहरू जस्ले आफ्ना २ वटै हातमा महका लड्डु राख्नकालागि हामी नेपाली नागरिकता बोक्नेहरूमाथि बुई चढ्दैछन् । त्यसैले सावधान हुनुपर्छ हामी नेपालीहरू । दुरगामी सोच बनाएर हाम्रो आफ्नै सँस्था वा कार्यक्रम तय गर्दा राम्रो होला । यिनीहरूले हामीलाई एनआरएन बनाएका छन् तर हामी तिनीहरूले सोचे जस्तो एनआरएन भने पक्कै होइनौ । हामी कामका लागि भौतारिएर विदेशमा रहेका एनआरएन हौ न कि विदेश पलायन हुनका लागि नेपाली नागरिकता नै त्यागेर विदेशीको गुलामी गरेर तिनीहरूको पिआर लिने नेपाली होइनौ । हामीले अर्काको भुमिबाट कमाएका रकमहरूले नेपालमा जति पनि लगानी गर्न पाउँछौ भने ति नागरिकता त्याग गर्नेहरूको भीडमा हामीलाई किन समाहित गर्ने ? त्यसैले अब फेरि यी एकपटक नागरिकता त्याग गर्ने केहि नेपालीहरूलाई बुई चढाएर आफू गधा बन्ने खेलमा सजग हुनै पर्छ । होइन भने एनआरएन भनाउँदाहरूले यो दोहोरो नागरिकताको मुद्धा छोडेर माथि उठ्नुपर्छ । अनि मात्रै हामी नेपालीहरूले साथ दिन सक्छौ ।
अन्तमा सबै बिज्ञ व्यक्तिहरूले यो सोच्नुपर्छ कि कुनै पनि व्यक्तिले २ वटा नागरिकता लिन पाउँदैन र लिनु पनि हुदैन । नत्र विश्वका सबै नागरिकले २ वटा नागरिकता लिने हो भने पृथ्वीमा मानिसहरूको सँख्या १४ मिलियन पुग्नेछ । विश्वका कुनै पनि राष्ट्रमा यस्तो नियम नै छैन र नेपालमा पनि बनाइनु हुदैन । कुनै पनि नेपाली जस्ले अर्को देशको नागरिकता बहन गर्छ भने उसले नेपालको नागरिकता त्याग गर्नै पर्छ वा नगरे स्वतः खारेज हुन्छ । अब जो नेपाली जस्ले नेपालको नागरिकता त्यागेर विदेशीको पिआर लिनुभएको छ वहाँलाई नेपालको माया छ र नेपालमै रहन चहानुहुन्छ भने विदेशीको नागरिकता त्यागेर नेपाली नागरिकता लिनुस् , त्यसमा सायद आपत्ति नहोला । तर यो दोहोरो नागरिकताको नाममा दुई हातमै घिउका लड्डु राख्ने सपना चाहि राम्रो होइन कि?
।
0 comments:
Post a Comment